काठमाडौं। झापा दमक नगरपालिका घर भएका एक सामान्य युवकको खातामा अस्वाभाविक परिमाणमा पैसा रहेको पाइएको छ। ३० वर्षीय युवक पिन्टुकुमार साहको बैंक खातामा २० करोड रुपैयाँ भन्दा बढी रकम रहेको भेटिएको हो।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले खातामा शंकास्पद रकम देखिएपछि गत असोजको दोस्रो साता उनलाई नियन्त्रणमा लिएको थियो। तीन साता लामो अनुसन्धानमा उनले अनलाइन जुवा (सट्टेबाजी) खेलेर रकमको कारोबार गरेको खुलेको छ।
साहको झापाको दमकमा किराना पसल छ। ६ महिना अघि मात्र उनी सट्टेबाजीमा लागेको खुल्छ। वानएक्स वेट लगायतका एपबाट सट्टेबाजी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। आफूले मोबाइलमा आउने विज्ञापनमार्फत सट्टेबाजी गर्ने गरेको र अरुलाई पनि खेल गराउने गरेको प्रहरीसँगको बयानमा साहले स्वीकारेका छन्।
उनले सट्टेबाजी खेल्न आउने मानिसलाई सानिमा बैंक, सिद्धार्थ बैंक, एक्सल डेभलपमेन्ट बैंक, सिटिजन्स, मुक्तिनाथ बैंक, कामना विकास बैंक, नेपाल एसबीआई लगायतका बैंकहरुका खाता पैसा हाल्न लगाएर कारोबार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। खेल जितेपछि उनले लगानीको दोब्बर गरेर दिने गरेका थिए।
यी बैंकहरुमा उनले २० करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको देखिएको छ। तर आफूले ६ महिनाको अवधिमा ३ लाख रुपैयाँ मात्र कमाएको र व्यक्तिगत खर्च गरेर सकेको बताएका छन्। अनलाइन जुवा गैरकानुनी भएको भन्ने थाहा नभएको समेत बताएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरेर उनीविरुद्ध सट्टेबाजीमा सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ।