काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सोमबार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।