BIZMANDU
www.bizmandu.com

भष्मे डनको आक्रामक ओपनिङ, निर्माता लामिछाने भन्छन् : पहिलो दिनमै २ करोड बढीको व्यापार

२०८० कात्तिक ५

भष्मे डनको आक्रामक ओपनिङ, निर्माता लामिछाने भन्छन् : पहिलो दिनमै २ करोड बढीको व्यापार
भष्मे डनको आक्रामक ओपनिङ, निर्माता लामिछाने भन्छन् : पहिलो दिनमै २ करोड बढीको व्यापार


काठमाडौं । विपिन कार्की स्टारर फिल्म ‘पशुपति प्रसाद-२ : भष्मे डन’ ले पहिलो दिन बक्सअफिसमा आक्रामक व्यापार गरेको छ। प्रदर्शनको पहिलो दिन फिल्मले २ करोड ४० लाख बढी कलेक्सन गरेको यस फिल्मका निर्माता खगेन्द्र लामिछानेले जानकारी दिए।

Tata
GBIME
NLIC

‘पहिलो दिनमै भष्मे डनले २ करोड ४० लाख बढी कमाएको छ। जुन सम्भवत नेपाली फिल्मको ओपनिङ डेको उच्च कमाई हो। आज पनि हलहरुमा राम्रो अकुपेन्सी छ’ उनले भने।

दसैंमा फुलपातीको अवसरमा रिलिज भएको यो फिल्म पशुपति प्रसादको सिक्वेल हो। ‘पशुपति प्रसाद’ को चर्चित पात्र ‘भष्मे डन’ माथि यो फिल्म निर्माण भएको हो। साढे ७ वर्ष अघि रिलिज भएको पशुपति प्रसाद समीक्षात्मक हिसाबले सफल फिल्म हो।

दसैं त्यसमाथि सफल सिक्वेल भएकाले पनि प्रदर्शनअघि नै फिल्मको प्रचारप्रसार राम्रो थियो। अग्रिम बुकिङ आक्रामक भएको फिल्मले मल्टिप्लेक्स हलहरुमा समेत उच्च शो पाइरहेको छ।

भष्मे डनसँगै अहिले हलमा दुई भारतीय फिल्महरु समेत प्रदर्शनरत छन्। तर, टाइगर स्रफ अभिनित ‘गणपत’ र विजय थलापतिको ‘लियो’ भन्दा भष्मे डनकै शो बढी छ।

खगेन्द्र लामिछानेको लेखन रहेको यस फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। यस फिल्ममा विपिनका साथै स्वस्तिमा खड्का, सौगात मल्ल,रवीन्द्र सिंह बानियाँ, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, माओत्से गुरुङको अभिनय छ।