काठमाडौं। नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिद गर्दा लिएको ऋणको त्रैमासिक किस्ता तिरेको छ।
यो आर्थिक वर्षको पहिलो त्रैमासिक किस्ताबापत ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ मंगलबार तिरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। निगमले दुई वटा न्यारोबडी जहाजको त्रैमासिक किस्ता पूरै र दुई वाइडबडी जहाजको आंशिक किस्ता तिरेको हो।
‘निगमको व्यापार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको छ। नगद प्रवाहमा सुधार भएपछि प्रमुख इन्जिन मर्मत खर्च, नियमित तथा आकस्मिक (बर्ड हिट लगायत प्राविधिक समस्या) रुपमा हुने जहाज मर्मत सम्भार खर्च समेत व्य बेहोरिएको छ,’ प्रवक्ता पौडेलले भने,’ विभिन्न निकायमा रहेको पुराना बक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी हुँदै आएको छ।’

निगमले जहाज किन्दा लिएको ऋणको किस्ताबापत गत आर्थिक वर्ष ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार रुपैयाँ भुक्तानी गरेको थियो।
तीन वटा जहाज किन्दै
७ वर्षअघि लिएको ऋणको किस्ता चुक्ता गर्न नसकेको निगम आन्तरिक उडानका लागि थप ३ वटा जहाज खरिद गर्नतिर लागेको छ। निगमले ३ वटा साना जहाज आफ्नै स्रोतबाट किन्न लागेको बताएको छ। ‘तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै स्रोतबाट खरिद गर्ने कार्ययोजना अन्तिम चरणमा छ,’ निगमका प्रवक्ता पौडेलले भने।