BIZMANDU
www.bizmandu.com

नसोचेको क्षेत्रमा सेल्डनकी पात्रजस्ती रश्मी, ‘करियर छोड्ने होइन डिफेन्स गर्न नछोड्ने’

२०८० असोज २९

नसोचेको क्षेत्रमा सेल्डनकी पात्रजस्ती रश्मी, ‘करियर छोड्ने होइन डिफेन्स गर्न नछोड्ने’
नसोचेको क्षेत्रमा सेल्डनकी पात्रजस्ती रश्मी, ‘करियर छोड्ने होइन डिफेन्स गर्न नछोड्ने’

कलेज पढ्दा सिड्नी सेल्डनका क्राइम थ्रिलर पढ्नुलाई फेवरेट पासटाइम बनाएकी रश्मीले आजकल उपन्यास पढ्न धेरै समय पाउँदिनन्। तर, बैंकिङमा करियर बनाउँदै गर्दाकै दिनदेखि उनलाई महसुस भएको के हो भने कर्पोरेट सेक्टरमा संघर्षरत हरेक महिला कुनै न कुनै रुपमा सेल्डनका उपन्यासका ‘फिमेल क्यारेक्टर’ जस्तै हुन्।

Tata
GBIME
Nepal Life

महिलाहरु शिक्षित छन्, दक्ष छन्, स्मार्ट छन्, सँगसँगै जीत हासिल गर्नु छ भने ‘मेल डोमिनेटिङ इन्डस्ट्री’मा उनीहरुले नायकले जसरी विद्रोह गर्नुको विकल्प पनि छैन। 

आफ्ना उपन्यासहरुबाट फेमिनिस्टका रुपमा चिनिएका सेल्डनको रोमान्टिक एडभेन्चर ‘द स्याण्ड्स अफ टाइम’ पढ्दै गर्दा पनि रश्मीलाई लागेको थियो- आफू तिनै पात्रहरुमध्ये एक हुँ कि!

खासमा सेल्डनका महिला केन्द्रित उपन्यासको विशेषता नै हो – अथक संघर्षपछि उनीहरुको जीत हुन्छ। जस्तोसुकै परिस्थितिमा पनि उनीहरु ‘गिभ अप’ गर्दैनन्। बरु डटेर सामना गर्छन् र अन्तत: गन्तव्यमा पुग्न सफल पनि हुन्छन्। 

प्रभु बैंककी चिफ अपरेटिङ अफिसर (सीओओ) रश्मी पन्तले फिल्म झैं लाग्ने उनको बैंकिङ सेक्टरमा इन्ट्रीको कथा सुनाउँदै गर्दा निस्केको हो सेल्डनका फिक्सनमा महिला पात्रहरुको विद्रोहको प्रसंग। ‘साँच्चै म कुनै योजना बिनै कहिल्यै नसोचेको बैंकिङ क्षेत्रमा छिरें।’उनी भन्छिन्- ‘तर छिरिसकेपछि भने यहाँ तोकिएका हरेक भूमिका र उत्तरदायित्वलाई अब्बल बनेरै साबित गरें। आफ्नो क्षमतालाई जस्टिफाइ गर्दै यहाँसम्म आइपुगेकी हुँ।’

पढाइपछि करियरमा अघि बढ्न मानसिक रुपमा तयार हुँदै गर्दा रश्मीले देखेको सत्य थियो- कामकाजी महिलाका लागि जुनसुकै क्षेत्र चुनौतीपूर्ण छ। एक सय पुरुष भएको ठाउँमा प्रतिस्पर्धा गर्दै जम्मा १५ जना महिला पुगेका छन्। त्यहाँ पनि उनीहरुलाई नसोचेका समस्या आइपर्छ।

विभेद र मतभेद मात्र होइन, सहयोगी भूमिकामा रहँदा पनि प्रश्नहरुको सामना गर्नुपर्छ महिलाले। समकक्षी पुरुषले गरेका काममा प्रश्न नगर्ने समाजले महिलाले पनि त्यही काम गर्ने बित्तिकै भने प्रश्नपूर्ण नजरले हेर्छन्।

तर, रश्मीको ‘बोल्डनेस’ गजबको छ। आफ्नो काम र भूमिकालाई न्याय दिँदै उनी एउटै मन्त्र पछ्याउँछिन् : कहिल्यै हार नस्वीकार्नु। यही ‘बोल्डनेस’ले नै हो कतिपटक ‘गिभ अप’ गर्नैपर्ने परिस्थितिहरुमा पनि रश्मिले जित हासिल गरेकी छिन्। त्यसैले त रहस्य, रोमान्स र थ्रिलर भए पनि महिलालाई ‘हिरो’ बनाइएका सेल्डनका उपन्यासहरु रश्मीका ‘अल टाइम फेवरेट’ हुन्।

नसोचेको बैंकिङ करियरमा सफल यात्रा

महेन्द्रनगरमा जन्मिएकी रश्मीले १० कक्षा पढ्दासम्म १३ वटा स्कुल चहारिन्। न्याय क्षेत्रमा काम गर्ने बुवासँग पश्चिम नेपालका विभिन्न जिल्लाहरु घुम्दै पढ्दै उनको स्कुल सकियो। आइटी पढ्ने उनको रहरका बीच आइदियो बुवाले छोरी डाक्टर बनिदेओस् भन्ने इच्छा।

महेन्द्रनगरमै बायोलोजीमा आइएससी सकेर उनी एमबीबीएसका लागि तयारी कक्षा लिन काठमाडौं आइन्। तर, उनले सोचेजस्तो केही पनि भइरहेको थिएन। आफ्नो रुची आइटीमा, बुवाको रहर डाक्टरमा, तर उनको भागमा आइलाग्यो बीबीए। अल्छी लागि लागि सकेको बीबीएपछि एमबीएमा गोल्ड मेडल पाउँदासम्म उनी यही नै बन्छु भन्नेमा स्पष्ट थिइनन्। खासमा बैंकिङ करियर पनि उनको नसोचेको यात्रा हो।

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा एमबीए गर्दा उनले विभिन्न संस्थाहरुमा छोटो समयका लागि काम गरिन्। नेसनल युथ फेडरेसन, इसिमोड, एफएनसीसीआई लगायतमा अनुभव ३ देखि ६ महिनासम्मको थियो। डेभलपमेन्ट सेक्टरमा जानुपर्ला भन्ने उनलाई थियो त्यसैले कलेजको इन्टर्नशीपमा पनि उनले बैंकलाई रोजिनन्।

मास्टर्सपछि उनले अमेरिकामा पिएचडीका लागि आवेदन दिइन्। डकुमेन्टेसन पूरा भएपछि परिवारका सदस्यले ‘सधैं कति पढिरहने बरु केही समय ग्याप लिँदा ठिक हुन्छु’ भन्ने सल्लाह दिए।

त्यसपछिका दिनहरु साथीहरुसँग घुमघाममा बितिरहेको थियो। ‘तेरो नेचर टेन टु फाइभ जागिरको होइन’ भन्थें रश्मीलाई साथीहरु। त्यही समयमा प्रभु बैंकमा भ्याकेन्सी खुल्यो। साथीहरुसँगको गफगाफले नै उनलाई म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिने बनायो। फर्म भरेको केही दिनमा उनी चितवन जानको लागि थानकोट पुगेकी मात्र थिइन् बैंकबाट कल आयो।

थानकोटबाट उनी चितवन नगइ काठमाडौं नै फर्किइन्। क्याजुअल मिटका लागि होला भनेर गएकी रश्मीलाई अन्तर्वार्ता लिइयो। अन्तर्वार्ताको क्रममा उनले स्पष्ट भनिन्, ‘मैले पढ्नका लागि विदेश अप्लाइ गरिसकेकी छु। धेरै गरे ६ महिना वा १ वर्षमात्र म यहाँ काम गर्छु। तर, कोर बैंकिङको ज्ञान मलाई छैन। स्ट्राटेजिक कामका लागि हो भने म कन्ट्रिब्युट गर्छु।’

पुरै प्यानलले अन्तर्वार्ता लिएपछि रश्मीलाई ट्रेनी होइन त्योभन्दा माथिल्लो पदमा अफर आयो। उनी जुनियर अफिसर बनेर प्रभु बैंक प्रवेश गरिन्।  

उनलाई पहिलो काम दिइएको थियो बैंकको पाँच वर्षको स्ट्राटेजिक प्लान बनाउने।

साढे आठ वर्ष अघिको त्यो समयलाई उनले यसरी सम्झिइन् -‘त्यो बेलासम्म बैंकबारे कोर्सबुकमा पढेको मात्र थिएँ। बैंकिङ नलेज जिरो थियो। तर, मैले १ महिना इनसाइडदेखि ट्रेन्डसम्म सबै रिसर्च वर्क गरें। मैले कलेज पढ्दा एउटा टर्म पेपर किस्ट बैंकको एचआरको एनालिसिस गरेको थिएँ। त्यसले सपोर्ट गर्‍यो। मैले स्टाटेजिक पाटोमा धेरै नै मेहेनत गरें।’

उनले ६ महिनामा बैंकको पाँच वर्षे रणनीतिको फ्रेमवर्क बुझाइन्। सिनियर म्यानेजमेन्टले भन्यो –’यु ह्याब डन अ ग्रेट जब!’

६ महिनालाई भनेर बैंक छिरेकी उनको काम विस्तारै थपिँदै गयो। पहिलो इम्प्रेसन नै लास्ट भनेजस्तो! उनलाई दिइएका हरेक कामले स्याबासी पाउँदै गए। प्रोफेसनल करियरमा वर्क लोडसँगै माथिल्लो पद थपिँदै जाँदा उनलाई पनि बैंकिङ सेक्टरको रस बस्दै गयो। अनि रश्मीले अमेरिका पढ्न जाने योजना ‘ड्रप’ गरिदिइन्।

रश्मी – दी टिम लिडर

सीओओको रुपमा उनले बैंकको ओभरअल अपरेसन हेर्छिन्। हाल रश्मी बैंकको जुन तहमा छिन् त्यहाँ कमै मात्र महिलाहरु पुगेका छन्। मिड लेभल र जुनियर लेभलमा धेरै महिला छन्। तर, बैंकिङ सेक्टरमा माथिल्लो लेभलमा मुस्किलले १ प्रतिशतमात्रै महिला होलान्।

तपाईंको ग्रोथले स्पिड लिएजस्तो लाग्दैन? भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘दिएको कामलाई कहिल्यै सक्दिन भनेर भनिनँ। प्रोफेसनल करियरमा त्यो नै सबैभन्दा ठूलो स्ट्रेन्थ हो। फेरि मेरो जब प्रोफाइलका कारणमात्र मेरो ग्रोथ नोटिसमा आएको हो की! नत्र मेरा कलिग, क्लासमेटहरु पनि मेरो जस्तै जस्तै पदमा छन् तर मेरो जब रेस्पोन्सिबिलिटी टप लेभलको भइदियो। त्यसैले बढी नोटिस भएको होला जस्तो लाग्छ।’  

उनले प्रभु बैंकमा इन्ट्री गरिसकेपछि बैकको पाँच वर्षको रणनीतिक योजना बनाइन्। उनी बैंकमा प्रवेश गर्दा केही वर्षदेखि कोर बैकिङ सिस्टम पेन्डिङमा थियो जसलाई आफूले नै ‘एक्जेक्युट’ गरेको बताउँछिन् उनी। कोर बैकिङ सिस्टमको माइग्रेसन र परिवर्तनको पाटोको कोअर्डिनेट पनि उनैले गरिन्।

बैंकभित्र टिम वर्क र कोअर्डिनेसनको पाटोमा उनलाई ‘लिडर’का रुपमा लिइन्छ। बैंकमा कुनै पनि नयाँ नीतिलाई कार्यान्वयन गर्नका लागि अग्रभागमा हुन्छिन् रश्मी।

उनको टिमले यतिबेला के गरिरहेको छ त?

‘बैंकिङमा डिजिटाइजेसन नै मेजर पार्ट हो। यसमा हामी मेजर चेन्ज ल्याउन खोजिरहेका छौं। केही समयदेखि हामी हाम्रो इन्फ्रास्ट्रक्चरल वर्कआउट गरिरहेका थियौं। अहिले कस्टमर र फ्रन्टसम्म डिजिटाइसेनमा जाने काम गर्छौं यसले बैंकलाई राम्रै माइलेज दिन्छ,’ उनले भनिन्’ रेगुलेटरी र कम्प्लायन्स पार्टमा पनि धेरै कुरा चेन्ज भएको छ यसलाई कोपअप गर्न हामीले अटोमेसन, इन्टर्नल इफिसियन्सीजस्ता पाटोमा असाध्यै अग्रगामी रुपमा काम गरिरहेका छौं।’

उनी अहिले गरेका कामले भावी दिनमा बैंकमा देखिने गरीको परिवर्तन ल्याउनेमा विश्वस्त छिन्।

रश्मीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा पीएचडी समेत गरिरहेकी छन्।

‘परराष्ट्र मामिलातर्फ रुचि बढेपछि फेरि म यता पनि लागें,’ मज्जाले हाँसेपछि रश्मीले नसोचेको बैंकिङ करियरको कथा मात्र होइन पढाइको बाटो पनि नसोचेकै तर्फ मोडिएको कथा सुनाइन्। 

योजना बनाएर रश्मीको जीवनमा केही भइरहेको रहेनछ। अबको योजना पनि उनले बनाएकी छैनन्। तर जहाँ छिन् त्यसको ‘टप लेभल’मा पुग्ने विषयमा भने उनी महत्त्वाकांक्षी छिन्।  

‘मैले कुनै पनि सेक्टरमा प्रवेश गर्दा त्यहाँको टप पोजिसनमै पुग्ने सपना देखेकी हुँ। मेरो कामले पनि त्यसलाई जस्टिफाइ गर्न सक्छु भने म किन नबन्ने। अबको पाँच वर्षमा मैले आफूलाई कुनै बैंकको सीइओकै रूपमा देख्छु।’

जस्ट लिभ इट एण्ड मुभ अन!

रश्मीले महिला हुनुको नाताले बाल्यकालमा अनि कलेज नसक्दासम्म कहिल्यै विभेद भोग्नुपरेन। घरको वातावरण पनि असाध्यै सकारात्मक थियो। तर जब उनी प्रोफेसनल करियरमा प्रवेश गरिन्, महिलालाई गरिने ‘ह्यारेसमेन्ट’को पाटोबारे जानकार हुँदै गइन्।

‘सबै सेक्टरमा यो समस्या छ। खासमा घरबाहिर निस्केर करियर बनाउन चाहनेलाई महिला भएकै नाताले आक्षेप लाग्छ। शारीरिक हिंसामात्र हुनुपर्दैन नि, शब्दले गरिने हिंसा कति हो कति! कामका हिसाबले पुरुष सहकर्मीसँग हुने निकटताबारे पनि गलत टिप्पणी गर्ने, प्रश्न चिह्न खडा गरिदिने प्रवृत्ति छ। यसले कतिपय अवस्थामा महिलाहरुले मानसिक तनावका कारण काम नै छोडेर हिँडेका उदाहरण पनि छन्,’ उनले भनिन्।

अझ आम बुझाइमा बैंकमा जाने समयको टुंगो हुन्छ घर फर्किने समयको टुंगो हुन्न। बैंकमा काम गर्ने सबैले राती अबेरसम्म पनि काम गर्नुपर्ने हुन्छ। तर, अन्य क्षेत्रका महिलालाई भन्दा बैंकमा काम गर्ने महिलाहरुले बढी नकारात्मक टिप्पणी खेपिरहेको रश्मीको बुझाइ छ। कतिपय अवस्थामा घरभित्रैकाले यो समस्या बुझिदिँदैनन्। उनकै बैंकका सहकर्मी महिलाहरु कहिलेकाहीं यो विषयमा दिक्दारिएर उनीसम्म आइपुग्छन्।

अनि रश्मी उनीहरुलाई आफ्नो कामको ‘नेचर’ बारे घर परिवारलाई सम्झाउन भन्छिन्।

‘घरभित्रका सदस्यलाई आफ्नो कामको बारेमा सम्झाउने। नभए यही ल्याएर आफूले कसरी काम गरिन्छ भनेर देखाइदिने। दोस्रो पटक घरभित्रबाट यो प्रश्न उठ्दैन। तर समाजले के भन्छ भनेर डराउने काम चाहिँ बन्द गर। परिवारले कुरा बुझ्यो भने भयो। समाजले त नमरुन्जेलसम्म पाइला पाइलामा महिलालाई प्रश्न र अवरोध गर्छ। त्यसमा ध्यान दिने होइन आफ्नो करियरलाई अब्बल बनाउनतिर लाग्ने हो,’ उनीकहाँ पुग्ने महिला कर्मचारीलाई सम्झाउँदै भन्छिन्।

रश्मीलाई अचम्म लाग्छ समाजले कस्ता कुराहरुलाई ‘हाइप’ दिइरहेको छ !

आजको पुस्ता स्मार्ट छ, दक्ष छ, पढाइमा पनि अब्बल छ। विदेशमा गएर करियर बनाइरहेका महिलाहरु पनि प्रशस्तै छन्। तर देशभित्रै राम्रो पढेका महिलालाई करियरमा सपोर्ट छैन।

रश्मीले करियर ओरियन्टेड महिलाहरुले महसुस गरेको सबैभन्दा ठूलो दिग्दारी यसरी सुनाइन्- ‘जहाँ पनि मेल मेजोरिटी छ भने काम गर्न केटी केटीको मात्र सर्कल कहाँ खोज्ने? अनि पुरुषहरु हावी भएको सेक्टरमा काम गर्न जाँदा पुरुष सहकर्मीहरुसँगको सामान्य निकटतालाई लिएर पनि ह्यारेस गरिदिने? मेल बोसले फिमेललाई पुस गर्‍यो भने इस्यु हुन्छ जबकी त्यही पदमा रहेको मेललाई फिमेल बोसले पुस गर्दा कसैले इस्यु बनाउँदैन। एउटा उमेरमा यस्ता कुराले धेरै पोल्छ, म्याटर गर्छ।’

तर रश्मी स्पष्ट छिन्- काम गर्न सकेन भने कुनै पनि संस्थाले कसैलाई पनि माया गरेर मात्र राख्दैन। आफ्नो कार्यकुशलताले प्रमाणित गर्नुपर्छ। कामलाई जस्टिफाइ नगरी कोही पनि माथि पुग्न सक्दैन।

हाम्रो समाजमा महिलालाई ‘डिमोटिभेट’ गर्न असाध्यै सजिलो छ। महिलाको ‘क्यारेक्टर’लाई लिएर प्रश्न उठाइदिए उसले सबै काम छोडेर ‘जस्टिफिकेसन’ दिँदै हिँड्नुपर्ने अवस्था बनाइदिन्छ यो समाजले।

‘कसैलाई रिस उठेको छ भने तपाईंमाथि एउटा आक्षेप लगाइदिए पुग्छ। आफू सही हुँदाहुँदै पनि यस्ता कुराहरुले तपाईंलाई चिन्ता हुन थाल्छ। आफूसँग जोडिएका कति जनालाई सम्झाउँदै हिँड्ने? अनि थाकेर ती महिला बरु होस् भनेर करियर नै ड्रप गर्न बाध्य हुन्छिन्। अनि फेरि आक्षेप लगाउने तिनै मानिसहरु देख्यौ त उ गलत भएरै त करियर ड्रप गर्‍यो भनिदिन्छन्।’

रश्मी भन्छिन्,’करियर छोड्ने होइन डिफेन्स गर्न नछोड्ने। हामी बोल्ड भयौं भने भन्नेको मुख एक दिन आफैं बन्द हुन्छ। जस्ट लिभ इट एण्ड मुभ अन!’