सांघाई। आगामी साता चीनको बेइजिङमा तेस्रो अन्तर्राष्ट्रिय बेल्ट एन्ड रोड फोरमको आयोजना हुने भएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बुधबार फोरमको मिति घोषणा गरेकी हुन्।
‘बेल्ट एन्ड रोडको उच्चस्तरीय संयुक्त निर्माण, साझा विकास र समृद्धि हासिल गर्न सँगै काम गर्ने’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो फोरम अक्टोबर १७ र १८ मा बेइजिङमा आयोजना हुने छ।
फोरमको उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चीनफिङले मुख्य सम्बोधन गर्नेछन्। साथै शिखर सम्मेलनमा सहभागी अतिथिहरूका लागि राष्ट्रपति सीले स्वागत भोजको आयोजना गर्नेछन्। उनले साइडलाइनमै द्विपक्षीय भेटवार्ता गर्नेसमेत चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
सम्मेलनमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको पनि सहभागिता हुने बताइएको छ। गत वर्ष युक्रेन युद्धपछि गत मार्चमा हेगस्थित इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले वारेन्ट जारी गरेपछि पुटिन पहिलोपटक रसियाबाट बाहिर निस्किन लागेका हुन्। क्रेमलिनले सेप्टेम्बरमै बेइजिङमा हुने फोरम साइडलाइनमा सिसँग भेट गर्नेगरी निम्तो स्वीकार गरेको जनाएको थियो।
त्यसअघि बिहीबार पुटिन कीर्गिस्तान जाने बताइएको छ। कीर्गिस्तान र चीन दुवै आईसीसीका पक्ष राष्ट्र होइनन्।
चिनियाँ राष्ट्रपति सी चीनफिङले सन् २०१३ मा अगाडि सारेको ‘वान वेल्ट वान रोड’ पछिल्लो समय बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरई)मा १५० देशका साथै ३० बढी अन्तर्राष्ट्रिय संगठनले हस्ताक्षर गरेका छन्। यसमध्ये इटली जी-७ समूहको एक मात्र सदस्य देश हो।
फोरममा १३० देश र ३० अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि सहभागी हुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। बीआरआईको १० औँ वर्षगाँठ मनाउने क्रममा हुन लागेको फोरमको उद्घाटनसँगै कनेक्टिभिटी, हरित विकास, डिजिटल इकोनमीसहितका तीन वटा हाइ-लेभल सब-फोरम, र ६ वटा सेमिनार हुने छन्।
फोरम अगाडि श्वेतपत्र सार्वजनिक
यसैबीच चीनले फोरमको साता अगाडि नै बीआरआई सम्बन्धी श्वेतपत्र जारी गरेको छ। बीआरआईलाई ‘शताब्दी परियोजना’को रुपमा अगाडि सार्दै यो १०औं वर्षगाँठको अवसरमा चीनको राज्य परिषद्को सूचना कार्यालयले श्वेतपत्र जारी गरेको हो। ‘बेल्ड रोड निर्माण: मानव जातिको साझा भविष्यसहितको विश्वव्यापी समुदायको प्रमुख स्तम्भ’ शीर्षकमा जारी भएको श्वेतपत्रमा विश्वव्यापी विकासका मुद्दाहरुको चिनियाँ समाधान प्रस्तुत गरिएको छ।
बीआरआई सहयोगले भूराजनीतिक खेलको पुरानो मानसिकताबाट माथि उठेर अन्तर्राष्ट्रिय सहयोगको नयाँ प्रतिमान सिर्जना गरेको श्वेतपत्र सार्वजनिक गर्दै चिनियाँ विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक मामिला विभागका महानिर्देशक ली केक्सिनले भनेका थिए।
उनले यसमा सहभागी देश तथा मित्रहरुको दायरा फराकिलो भएको भन्दै बीआरआईले कुनै पनि संकीर्ण समूह गठन नगर्ने बताए।
बीआरआई सुरु भएको १० वर्षमा चीन र अन्य बीआरआईमा सहभागी देशहरुबीच आयात र निर्यातको सञ्चयी मूल्य १९.१ ट्रिलियन अमेरिकी डलर पुगेको र औसत वार्षिक वृद्धिदर ६.४ प्रतिशत रहेको श्वेतपत्रमा उल्लेख छ। चीन र अन्य बीआरआई देशहरूबीच दुईतर्फी लगानी ३८० अर्ब अमेरिकी डलर पुगेको छ, जसमा चीनबाट आएको २४० अर्ब अमेरिकी डलर पनि समावेश छ। बीआरआईले पूर्वी एसियाको गतिशील आर्थिक वृत्तलाई विकसित युरोपेली आर्थिक वृत्तसँग जोडेको उल्लेख छ।
१० वर्षअघि सिको विचारबाट सुरु भएको बीआरआई हाल आइपुग्दा दृष्टिकोणबाट वास्तविकतामा र सामान्य ढाँचाबाट ठोस परियोजनामा विकसित भएको श्वेतपत्रमा भनिएको छ। श्वेतपत्रमा रेसम मार्ग (सिल्क रोड) देशहरुको अर्थतन्त्रलाई मात्र जोड्ने नभइ सभ्यता र संस्कृतिसँग जोड्ने धमनी रहेको उल्लेख छ।
‘हजारौं वर्षदेखि, प्राचीन सिल्क रोड एक अन्तहीन “धमनी” जस्तै भएको छ, नाइल नदी घाटी, टाइग्रिस नदी र युफ्रेटिस नदी बेसिन, सिन्धु र गंगा नदी बेसिन, ह्वाङह नदी र याङ्जी नदी बेसिन, मिश्री सभ्यता, बेबिलोनी सभ्यता, भारतीय सभ्यता र चिनियाँ सभ्यताको जन्मस्थान, बौद्ध, इसाई र इस्लामी विश्वासीहरूको जमघट स्थलमा, विभिन्न देश र रंगका मानिसहरूको जमघट स्थलमा, युरेसियामा देशहरूको अन्तरसम्बन्धलाई बढावा दिन, पूर्वी र पश्चिमी सभ्यताहरू बीच आदानप्रदान र पारस्परिक विकासलाई बढावा दिन भूमिका खेलेको छ,’ श्वेतपत्रमा भनिएको छ, ‘बीआरआईले शान्ति र सहयोग, खुलापन र समावेशिता, पारस्परिक शिक्षा र पारस्परिक लाभलाई मूल रूपमा राखेर रेसम मार्गको भावनालाई सञ्चित गरेको छ।’
त्यस्तै श्वेतपत्रमा रेशममार्गले एकता र पारस्परिक विश्वास, समानता पारस्परिक लाभ, समावेशिता र पारस्परिक ज्ञान तथा जित-जितको पालना गर्दै राष्ट्रियता विश्व र सांस्कृतिक पृष्ठभूमिका देशहरुको पूर्ण रुपमा शान्ति र विकासको साझा साझेदारीको मार्ग खोल्ने बताएको छ। ‘रेशममार्गको भावना सबै राष्ट्रहरूको सार्वभौमिक सद्भाव र सुन्दर अवधारणासँग मेल खान्छ जुन चिनियाँ राष्ट्रले सँधै समर्थन गरेको छ,’ श्वेतपत्रमा भनिएको छ।
श्वेतपत्रमा चीन शान्तिपूर्ण विकासको पालना गर्ने देश र चिनियाँ कम्युनिस्ट पार्टी सम्पूर्ण विश्वलाई ध्यानमा राख्ने ठूलो पार्टी भएको उल्लेख छ। साथै बीआरआईले रेशममार्गको भावनालाई अगाडि बढाउने बताइएको छ।
‘बेल्ट एन्ड रोडको संयुक्त निर्माण केवल इतिहासलाई श्रद्धाञ्जली दिनको लागि मात्र होइन, प्राचीन सिल्क रोडको भूमिमा अन्तहीन व्यापारिक यात्राको भव्य स्थितिलाई पुनरुत्पादन गर्न पनि हो,’ श्वेतपत्रमा भनिएको छ।
असमान विकासको अन्त्यका लागि बीआरआई
श्वेतपत्रमा विश्व भूमण्डलीकरणसँगै विकासमा असमानता आएको भन्दै त्यस्तै असमानताको अन्त्यका लागि बीआरआईले पहल गरेको उल्लेख छ।
‘थोरै संख्याका देशहरूले नेतृत्व गरेको आर्थिक भूमण्डलीकरणले विश्वव्यापी र समावेशी विकास हासिल गर्न सकेको छैन, तर यसले धनी झन् धनी र गरिब झन् गरिब बनाउँदै लगेको छ। विकसित र विकासशील देश र विकसित देशहरूबीच र विकसित देशहरूबीच धनी र गरिबबीचको खाडल फराकिलो हुँदै गएको छ। धेरै विकासशील देशहरूले आर्थिक भूमण्डलीकरणको क्रममा थोरै नाफा कमाएका छन् वा स्वतन्त्र रूपमा विकास गर्ने आफ्नो क्षमता पनि गुमाएका छन्, जसले गर्दा आधुनिकीकरणको मार्गमा प्रवेश गर्न गाह्रो भएको छ,’ श्वेतपत्रमा भनिएको छ, ‘कतिपय देशहरू एकपक्षीयवाद, संरक्षणवाद र आधिपत्यवादमा लागेका छन्, आर्थिक भूमण्डलीकरणको प्रक्रियाले प्रतिकूल धाराहरूको सामना गरेको छ र विश्व अर्थतन्त्रले मन्दीको जोखिम सामना गरिरहेको छ। ‘बेल्ट एन्ड रोड’ को संयुक्त निर्माण चीन र विश्वको विकासका लागि हो। चीन आर्थिक भूमण्डलीकरणको लाभार्थी र योगदानकर्ता हो।’
चीनले बीआरआईलाई परामर्श, सहनिर्माण र साझेदारीलाई बीआरआईको सिद्धान्तको रुपमा राखेको छ। ‘बेल्ट र रोडको संयुक्त निर्माण परामर्श, सह-निर्माण र साझेदारीको सिद्धान्तमा आधारित छ, सक्रिय रूपमा जीत-जीत सहयोगको अवधारणा र धार्मिकता र लाभको सही अवधारणाको वकालत गर्दछ, सबै देश समान सहभागी, योगदानकर्ता र लाभार्थी हुन् भन्ने कुरामा जोड दिन्छ, र ठूलो आर्थिक एकीकरण, विकासको ठूलो सम्बन्ध र उपलब्धिहरूको ठूलो साझेदारीको प्राप्तिलाई बढवा दिन्छ,’ श्वेतपत्रमा भनिएको छ।
कनेन्टिभिटीलाई बीआरआईको महत्त्वपूर्ण दिशाको रुपमा राखेको चीनले देशहरुका जनताको हृदयलाई हृदयसम्म जोड्ने अवधारणाको रुपमासमेत अगाडि सारेको छ।
६ वर्षमा पनि बीआरआईमा नसमेटिएको नेपाल
नेपाल र चीनले सन् २०१७ मा पहिलो संस्करणको अन्तर्राष्ट्रिय फोरम अगाडि दुई देशबीच बीआरआई फ्रेमवर्कमा साझेदारी गर्ने गरी सहमति पत्रमा हस्ताक्षर गरेको थियो। नेपालले सम्झौतामा हस्ताक्षर गरेको ६ वर्ष पुगेको छ। तर, नेपाल बीआरआई परियोजनामा समावेश भने हुन सकिरहेको छैन।
हरेक पटक दुई देशबीच हुने उच्चस्तरीय वार्तामा ‘बेल्ड एन्ड रोडको गुणस्तरीय निर्माण’को विषयमा चर्चा र छलफल हुन्छ। तर सहभागिता भने हुन सकिरहेको छैन। नेपालमा बीआरआई अन्तर्गतका कुनै पनि परियोजना अगाडि बढ्न सकिरहेका छैनन्।
दोस्रो बीआरआई फोरममा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन्। फोरमपछि जारी घोषणापत्रमा नेपाल चीन जोड्ने रेलमार्गसहितको ट्रान्स-हिमालय कनेक्टिभिटीलाई समावेश गरिएको थियो। चिनियाँ राष्ट्रपति सी चीनफिङको २०१९ को नेपाल भ्रमणका क्रममा पनि सो विषय चर्चामा आयो। सिले नेपाललाई ‘ल्याण्ड लक्ड’ बाट ‘ल्याण्ड लिंक्ड’ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
यसै महिना मात्र चीनको भ्रमण गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फर्किए। यसपटक पनि यही विषयमा चर्चा भयो। तर ठोस प्रगति हासिल हुन सकेको छैन। यसको संकेत चीनले मंगलवार सार्वजनिक गरेको श्वेतपत्रले पनि संकेत गर्छ।
श्वेतपत्रमा नेपाललाई एयर सिल्क रोड निर्माणको पक्षमा राखिएको छ। ‘चीनले १०४ देशहरूसँग द्विपक्षीय हवाई यातायात सम्झौतामा हस्ताक्षर गरेको छ र ५७ देशहरूसँग सिधा हवाइ उडान हासिल गरेको छ। र सीमापार यातायात सुविधाको स्तर निरन्तर सुधार गरिएको छ,’ श्वेतपत्रमा भनिएको छ, ‘चिनियाँ उद्यमीहरूले पाकिस्तान, नेपाल, टोगो र अन्य देशहरूमा नागरिक उड्डयन पूर्वाधारको क्षेत्रमा सक्रिय रूपमा सहभागिता जनाएका छन्।’
चीनले आपतकालीन व्यवस्थापनमा सक्रिय रूपमा अन्तर्राष्ट्रिय सहयोग गर्दै आएको भन्दै नेपाल, मोजाम्बिक, टर्की र अन्य देशहरूमा भूकम्प र बाढी जस्ता मानवीय राहत कार्यहरू गर्न उद्धार टोलीहरू पठाएको श्वेतपत्रमा उल्लेख छ।
श्वेतपत्रमा बीआरआई अन्तर्गतका परियोजनाकहरुको संख्या उल्लेख छ। जसमध्ये आर्थिक करिडोर र अन्तर्राष्ट्रिय करिडोर निर्माणलाई फलदायी भनिएको छ। एसियाका विभिन्न अपक्षेा युरोप र अफ्रिका जोड्ने पूर्वाधारहरुको निर्माण, चीन पाकिस्तान बर्थिक करिडोर अन्तर्गत पेशावर-कराची एक्सप्रेस वे, काराकोरम राजमार्ग, लाहोर रेल ट्रान्जिटलाइन सञ्चालनमा आएको उललेख छ।
त्यस्तै चीन मंगोलिया रसिया आर्थिक करिडोर, चीन थाइल्याण्ड रेलवे, चीन लाओस रेलेव, चीन रसिया हेइवे राजमार्ग पुल, रसिया चीन ग्यास पाइपलाइन, चीन कीर्गिस्तान युक्रेसन सडक सञ्चालनमा प्रगति हासिल गरेको श्वेतपत्रमा भनिएको छ। साथै, बंगलादेश-चीन-भारत-म्यानमार आर्थिक करिडोरको दिशा पनि अगाडि बढेको श्वेतपत्रमा उल्लेख छ। चीन म्यानमार रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको तथा चीन-बंगलादेश मैत्री पुल र जली-कक्सबजार रेलर्मागको निर्माणले सकरात्मक प्रगति हासिल गरेको उल्लेख छ।
तर, नेपाल भने बीआरआईमा प्रगति शून्य देखिन्छ। बंगलादेश-चीन-भारत-म्यानमार करिडोर भारतको ‘रिजर्भेसन’का कारण ठोस प्रगति हासिल नहुँदा लान्चाओ-तिब्बत-काठमाडौं-कोलकाता करिडोरको चर्चा पनि सुरु भएको थियो। तर, यसतर्फ नेपालको तयारी नहुँदा प्रगतिमा नेपाल पछि परेको हो।
२०१७ को पहिलो फोरममा तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरा, २०१९ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत नेपालले प्रतिनिधित्व गरेको थियो। त्यस्तै यसपटक पनि मन्त्रिस्तरीय सहभागित हुने छ। फोरममा सहभागिताका लागि ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निम्तो पाएका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा तीन मन्त्रीको टोली यसपटक फोरममा सहभागी हुने तयारी भइरहेको छ।
हरेक पटक सम्मेलनमा सहभागी हुने ठोस् पहलकदमी लिन नसक्दा उपलब्धि शून्य हुने नियति नेपालले भोग्दै आएको छ। सम्झौता हुने र कार्यान्वयन फितलो हुँदा चीन पनि नेपालप्रति सकरात्मक हुन सकिरहेको छैन। यसलाई नेपालले चिर्न जरुरी छ।