काठमाडौं। काठमाडौंमा गरिएको स्टार्टअप एण्ड आइडिया फेस्टमा अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका छन्। लिभिङ विथ आईसीटीले काठमाडौंमा १९ र २० गते गरेको दुई दिने फेस्ट १२ हजारभन्दा बढीले अवलोकन गरेका छन्।
प्रदर्शनीमा नेपाली युवाले तयार पारेका एआई, ब्लकचेन, मेसिन लर्निङ, ईभी, सफ्टवेयर तथा हार्डवेयर सोलुसन लगायत स्टार्टअप इन्नोभेसन र आइडिया राखिएको थियो।
कार्यक्रममा नयाँ आइडिया, इन्नोभेसन तथा प्रडक्ट प्रदर्शनी, आइडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर तथा गेम मुख्य आकर्षण थिए।
स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टलाई पनि प्रर्दशनीमा राखेको थियो।
फेस्टमा सातै प्रदेशका ३० भन्दा बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनोट भएका उत्कृष्ट १२ स्टार्टअप लगायतले भाग लिएका थिए।
आईसीटी अवार्ड २०२३ को प्रि-इभेन्ट क्याम्पेनका रूपमा स्टार्टअप एण्ड आइडिया फेस्ट गरिएको कम्पनीले जनाएको छ। आईसीटी अवार्डको आठौं संस्करण पुस ६ गते गर्ने तयारी छ।