BIZMANDU
www.bizmandu.com

परिवर्तन हुँदै किनमेलको ट्रेन्ड, भिडियो हेर्दै सामान किन्न पुग्छन् ग्राहक

२०८० असोज १९

परिवर्तन हुँदै किनमेलको ट्रेन्ड, भिडियो हेर्दै सामान किन्न पुग्छन् ग्राहक
परिवर्तन हुँदै किनमेलको ट्रेन्ड, भिडियो हेर्दै सामान किन्न पुग्छन् ग्राहक

काठमाडौं। प्रविधिले फड्को मारेसँगै अहिले ‘सपिङ कल्चर’ परिवर्तन हुँदै गएको छ। आफूलाई मन लागेको कपडा किन्न पसल पसल चहार्नुपर्ने बाध्यताबाट अहिले उपभोक्ता मुक्त भएका छन्। सामाजिक सञ्जालले किनमेलमा सघाएको छ। माेबाइलमा हेर्‍यो‚ अर्डर गर्‍यो‚ सामान दैलामा आइपुग्छ।

Tata
GBIME

हेरेर-छामेर किन्न चाहनेका लागि पनि विकल्प छन् । केके नयाँ आएका छन्‚ पसले टिकटक र इन्स्टाग्राम रिल्समा भिडियो हाल्छन्। त्यही हेरेर अहिले ग्राहकहरु पसल पुग्ने गरेका छन्। यसबाट उनीहरुको पसल-पसल दौडिनुपर्ने झनझन् र सपिङकै लागि छुट्याउनुपर्ने समय बचेको छ।

ललितपुरको इमाडोल बस्ने सुष्मा पुडासैनीलाई अहिले कपडा किन्न कामबाट धेरै समय छुट्याउनु पर्दैन। टिकटकबाट उनले आफूलाई चाहेको कपडाको पसल सजिलै खोज्न सक्छिन्। टिकटकमै भिडियो देखेर नै पहिलोपटक टंगालस्थित पाल्की क्लोथिङ स्टोर पुगेकी थिइन् सुष्मा।

‘पाल्कीको टिकटकमा राम्रा राम्रा साडी र कुर्ताहरु देखेपछि मलाई पनि आउन मन लाग्यो,‘ उनले भनिन्, ‘अहिले सपिङ गर्न निकै सजिलो छ। पहिलेजस्तो बजार डुल्नु पर्दैन। आफूलाई मन परेको सामान छ भने सिधै लोकेसन हेरेर आउन सकिन्छ। जसले समय पनि निकै बच्छ।’

थानकोटकी आरती नेपाली पनि अहिले सपिङ जानु पूर्व टिकटक र इन्स्टाग्राम चहार्छिन्। सोसल मिडियामा कपडाका नयाँ डिजाइनबारे जानकारी हुँदा पसलमा गएर किन्न जाँदा सजिलो हुने उनी बताउँछिन्।

‘टिकटक र इन्स्टाग्राम हेरेपछि बजारमा के नयाँ लुगा आएको र के चलेको छ सब थाहा हुन्छ। केही लुगा मन परेको छ भने स्क्रिनसट गरेर राखिहाल्छु। जसले पसल जाँदा लुगा छान्नुपर्ने हुँदैन,’ आरतीले भनिन्।

२०७३ बाट संचालनमा आएको पाल्की क्लोथिङ स्टोरको सुरुवाती दिनहरुमा ग्राहकहरु सीमित थिए। दिदीबहिनी मिना राणा र एलिजा राणाले मिलेर खोलेको पसलमा प्रायजसो वरिपरिका ग्राहकहरु मात्रै सामान्न किन्न आउँथे। तर, केही वर्षयता पाल्कीको स्टोरमा टाढा टाढाका ग्राहकहरु समेत पुग्न थालेका छन्। कारण – टिकटक र इन्स्टाग्राम नै।

पाल्की क्लोथिङ स्टोरकी सञ्चालक मिना राणाले भनिन्, ‘टिकटकले गर्दा अहिले पसलबारे धेरै मान्छेलाई थाहा भएको छ। जसले टाढा टाढाको ग्राहकहरुको पनि फ्लो बढेको छ।’

कोरोना महामारीपछि व्यवसायीहरुले टिकटकबाट मार्केटिङ सुरु गरे। पाल्कीले पनि कोरोना महामारीपछि टिकटकबाट डिजिटल मार्केटिङ सुरु गर्‍यो। मिना अहिले टिकटक हेरेर पसल पुग्ने ट्रेन्ड नै बनेको बताउँछिन्।

‘अहिलेको ग्राहकहरु निकै स्मार्ट हुनुहुन्छ। उहाँहरु टिकटक र इन्स्टाग्राममा हेरेर स्क्रिन सट लिएर के सामान किन्ने भनेर पहिले नै तय गर्नुहुन्छ। जसले उहाँहरुलाई पनि सजिलो र स्टाफहरुलाई पनि धेरै सामान देखाइराख्नु पर्दैन।’

पाल्की क्लोथिङ स्टोर चलाइरहेकी दिदीबहिनी मिना राणा र एलिजा राणा

न्युरोडस्थित तारा क्लोथिङ स्टोर्सका म्यानेजर सुनम मानन्धर पनि अनलाइनदेखि टिकटकमा सामान देखेर स्टोरसम्म पुग्ने ग्राहकहरु बढेको बताउँछन्।

‘पहिले जस्तो पसल गएर सामान खोज्नुपर्ने ट्रेन्ड परिवर्तन भएको छ। पहिले बजारमा जे भेट्यो, त्यही किनेर ल्याउनपर्ने बाध्यता थियो। तर, अहिले डिजिटल माध्यमले धेरै अप्सन र भेराइटी दिएको छ। जसले उहाँहरु घरबाट नै यो सामान किन्छु भनेर फिक्स गर्नुहुन्छ‚’ मानन्धरले भने।

टिकटक र इन्स्टाग्राम रिलमा भिडियो हालेर पसलको प्रचारप्रसार गर्ने ट्रेन्ड व्यापक छ। असन, न्यूरोड, बानेश्वर, कुमारीपाटी लगायतका व्यापारिक स्थलका पसलहरुले टिकटक भिडियोकै भरमा ग्राहक तानिरहेका छन्। काठमाडौंका ससाना पसलले पनि यही मौको फाइदा उठाइरहेको छ व्यापार विस्तारका लागि। अहिले चलेको ट्रेन्ड काठमाडौं उपत्यकामा मात्रै सीमित छैन। मोफसलमा पनि यो कल्चर विस्तार भइरहेको छ।

कैलालीको धनगढीमा रहेको आर स्क्वायर बुटिक पनि टिकटक र इन्स्टाग्राममा निकै सक्रिय छ। टिकटक अकाउटमा ‘ह्यापी कस्टमर’ भन्दै हरेक ग्राहकहरुका भिडियो राखेर प्रचारप्रसार गरिरहेको छ यो बुटिकले। टिकटक र इन्स्टाग्रामबाट भिडियो हेरेर पसलसम्म ग्राहक आउने गरेको बुटिककी संचालक सपना श्रेष्ठ बताउँछिन्।

‘अहिले पसलमा आएको धेरैजना ग्राहकहरु टिकटक र इन्स्टामा देखेर आएको भन्नुहुन्छ। सोसल मिडियामा एक्टिभ भएकाले यस्तो प्रतिस्पर्धाको जमनामा हुँदा पनि राम्रै व्यापार भइरहेको छ,’ उनले भनिन्।

होलसेलमा भीड छैन, टिकटकले तान्यो ग्राहक

दसैं संघारमा आइपुग्दा न्यूरोड र महाबौद्धका होलसेल पसलहरुमा ग्राहकको भीड छैन। अहिले धेरैजसो होलसेल र खुद्रा पसलहरु मन्दीको चपेटामा पर्दा डिजिटल मार्केटिङ गरिरहेका पसलहरुमा भने ग्राहकहरुको चहलपहल बढेको छ।

मिना राणा अहिलेको जमनामा व्यापार गर्न डिजिटल मार्केटिङको विकल्प नरहेको बताउँछिन्। तारा कलेक्सनका मानन्धरले प्रविधिसँगै परिवर्तन हुन नसक्दा धेरै पसलहरुले समस्या भोग्नुपरेको बताए।

‘अहिलेको जेनेरेसनदेखि ट्रेन्ड सबै डिजिटलमा गइसक्यो। आधुनिक ट्रेन्डसँगै जाँदा अरु पसलभन्दा राम्रो ग्राहकहरु आउनुहुन्छ। जसले यस्तो मन्दीको बेला पनि सर्भाइभ हुन सकिएको छ,’ उनले भने।

धेरै व्यापारीहरु मन्दीसहित अनलाइन/टिकटकबाट बजार बिस्तार हुँदा व्यापार घटेको मान्छन्। रोयल कलेक्सनका संचालक जुवेद शेखले अनलाइन र टिकटक व्यापारले पनि आफूलाई असर पारेको बताए।

उनले भने, ‘टिकटकले पनि अहिले धेरै बिगारेको छ। टिकटक र अनलाइन पसलहरु धेरै हुँदा ग्राहकहरु पनि बाँडिनुभयो। जसले पनि बिक्री कम छ।’

अर्की होलसेल व्यापारी विपना श्रेष्ठ पनि सेखकै कुरामा सहमत छिन्। भन्छिन्, ‘अहिले जुन कपडा भाइरल भयो। त्यसको मात्रै माग गरिन्छ। जसले गर्दा एउटा आइटम मात्र बिक्री हुन्छ। अरु सामान स्टक भइरहेको छ।’

सामाजिक सञ्जालले व्यवसायीलाई धेरै वर्षदेखि बिक्री नभएका लताकपडाको स्टक क्लियरेन्स पनि सजिलो भएको छ। कतिपयले पुराना स्टकलाई आकर्षक देखिने भिडियो पाेस्ट गरेर ग्राहक आकर्षित गरिरहेका छन्।