BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी, एमडी बन्न गरेकी थिइन् दुईपटक प्रतिस्पर्धा

२०८० असोज १७

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी, एमडी बन्न गरेकी थिइन् दुईपटक प्रतिस्पर्धा
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी, एमडी बन्न गरेकी थिइन् दुईपटक प्रतिस्पर्धा

काठमाडौं। प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि नेपाल टेलिकममा निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगीता पहाडीले पाएकी छन्।

Tata
GBIME
NLIC

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार पहाडीलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो। मन्त्रीस्तरीय निर्णयबाट पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले जानकारी दिए।

पहाडीले यसअघि टेलिकममा नायव प्रबन्ध निर्देशकको रुपमाकाम गर्दै आएकी थिइन्। उनले प्रबन्ध निर्देशकका लागि यसअघि दुईपटक प्रतिस्पर्धा गरेकी थिइन्। उनी टेलिकममा २९ वर्षदेखि कार्यरत छिन्। मन्त्रालयको निर्णयलगत्तै पहाडीले कार्यभार सम्हालेकी छन्। उनले विभागीय प्रमुखहरुको बैठक राखेर सबैको सहयोगको अपेक्षा गरेकी बताएकी छन्।

टेलिकमको सेवा प्रभावकारी बनाउनु आफ्नो मुख्य प्राथमिकता भएको भन्दै सहयोग गर्न विभागीय प्रमुखहरुसँग आग्रह गरिन्।

मन्त्रालयबाट निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाएकी पहाडीलाई अब टेलिकम संचालक समितिले आवश्यक आर्थिक र प्रशासनिक अधिकार तोक्नेछ।

टेलिकम यसअघि पनि प्रबन्ध निर्देशकविहीन बन्न पुगेको थियो। सरकारले २०७५ साउनमा तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी नायब प्रबन्ध निर्देशक सूर्यभक्त पोखरेलले पाएका थिए। पोखरेलले करिब ५ महिना निमित्तको जिम्मेवारी सम्हालेका थिए। त्यही समयमा टेलिकमले फोरजीको ठूलो ठेक्का अघि बढाएको थियो।

पहाडीसामु पौने ५ अर्बको नयाँ बिलिङ प्रणालीको ठेक्का अघि बढाउनेदेखि फाइभजी परीक्षणलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने चुनौती छ। टेलिकमको गुणस्तर निरन्तर खस्केर नाफा खुम्चिंदै गएको अवस्थामा यसलाई सुधार गर्नुपर्ने जिम्मा समेत उनको काँधमा आइपरेको छ।

नेसनल पेमेन्ट गेटवे खरिदमा सवा २३ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १५ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रबन्ध निर्देशक पौडेल निलम्बनमा परेका थिए। यो मुद्दाको किनारा नलागेसम्म पौडेलले टेलिकममा फर्किन पाउने छैनन्।