BIZMANDU
www.bizmandu.com

यसरी भयो मारवाडी समुदायको नेपाल आगमन र बढ्यो प्रभाव : प्राध्यापक पाण्डेको विचार

२०८० असोज १७

यसरी भयो मारवाडी समुदायको नेपाल आगमन र बढ्यो प्रभाव : प्राध्यापक पाण्डेको विचार
यसरी भयो मारवाडी समुदायको नेपाल आगमन र बढ्यो प्रभाव : प्राध्यापक पाण्डेको विचार


मानव जातिको इतिहासले देखाउँछ- अवसरको खाेजीमा बसाईँ सर्ने क्रम नौलो होइन। मानिसलाई कतै आफ्नै खाेजी र रुचिले पुर्‍याउँछ त कतै खास प्रकारका जाति समुदायलाई ठाउँले बाेलाउँछ। रामलाल गोल्छाका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। विहारको फारबिसगञ्जमा व्यापार गर्नुहुन्थ्यो रामलाल। उहाँ करिब ६ वर्ष त्यही बस्नुभयो भन्ने सुनेको हुँ। फारबिसगञ्ज भन्ने बजार विराटनगरबाट करिब २० किलोमिटर दक्षिणमा अवस्थित छ।

Tata
GBIME
Nepal Life

त्यसबेला विराटनगर र सुनसरीको देवानगञ्जबाट फारबिसगञ्जमा जुटको निर्यात प्रशस्त हुन्थ्यो र त्यसको मुख्य क्रेता रामलाल हुनुहुन्थ्यो। फारबिसगञ्जमा व्यापार गर्दागर्दै उहाँको परिचय देवानगञ्जका व्यवसायी हनुमान भगतसित भयो। यही बेला फारबिसगञ्जको व्यवसायमा उहाँलाई ठूलो नोक्सानी लागेको थियो। यसपछि रामलालजी हनुमानजीसितकै सल्लाहमा २३ वर्षका उमेरमा १९७८ सालमा सपरिवार देवानगञ्ज आएर आफ्नो व्यापार विस्तार गर्न थाल्नुभयो।

देवानगञ्जमा उहाँ जुट संकलन गरेर फारबिसगञ्ज र भारतका अन्य सहरमा निर्यात गर्नुहुन्थ्यो। काम गर्दागर्दै उहाँ जुटको विशेषज्ञ भइसक्नुभएको थियो। जुट हेर्नेबित्तिकै यो कुन जातको हो, यसबाट के उत्पादन गर्दा राम्रो हुन्छ र यसको मूल्य कति दिने भन्ने छुट्याउन सक्नुहुन्थ्यो। व्यवसायीले उहाँलाई ‘जुट किङ’ भन्न थालिसकेका थिए।

यसैबीच १९७३ सालमा मोरङको सदरमुकाम विराटनगरमा सारिएपछि यो सहर प्रतिदिन गुल्जार हुँदै गइरहेको थियो। फारबिसगञ्जबाट जोगबनीमा १९६८ सालमै रेल आइसकेको थियो। विराटनगरबाट जोगबनी रेलवे स्टेसन देवानगञ्ज वा रंगेलीबाट भन्दा नजिक पर्थ्यो। विराटनगरको बजार र सम्भावना बढिरहेको देखेर रामलालजी यो सहरप्रति आकर्षित हुनुभयो।

विराटनगर जुट मिल र रामलाल गोल्छा। तस्विर सौजन्य : गोल्छा ग्रुप

यसपछि उहाँले विराटनगरका मुख्य मुख्य र ठुला कम्पाउन्ड भएका घरको अवलोकन गर्नुभएछ र हाम्रो घरलाई उपयुक्त ठहराउनु भएछ। त्यस बेला हामी बडागुरुज्यू तर्कराज पाण्डेज्यूका घरमा बस्थ्यौँ। यही घर पछि बडागुरुज्यूले हाम्रा बुबा मीनराजलाई बिक्री गर्नु भएको हो। योे घरको कम्पाउन्ड ठूलो थियो र त्यहाँभित्र ठूलो गोदाम पनि। यहाँ बसेर जुटको व्यवसाय गर्दा सबै कुरा मिल्ने देखेर रामलालजी परिवारसहित बेडिङ बोकेर आउनुभयो। र, घरको तल्लो तलामा बस्नु थाल्नुभयो।

उहाँ आउँदा हंसराजजीको जन्म भइसकेको थियो। हुलासजीको जन्म हाम्रै घरमा १९९१ सालमा भएको हो। हुलासजीकै जन्म भएकै दिन रामलालजीले अहिलेको गोल्छा हाउस भएको जमिन खरिद गर्ने कुरा छिन्नुभएको थियो। त्यो जमिन पहिले एक कोइरी थरका व्यक्तिको थियो।

जमिन हेर्दाहेर्दै उहाँको एक कामदार त्यहाँ पुगेर उसले ‘तपाईंलाई छोरो भयो’ भन्ने खबर सुनाइदिएछ। त्यही खबर सुनेपछि यो जमिन पक्कै पनि शुभ हुन्छ भन्ने ठानेर उहाँले खरिद गर्ने निर्णय गर्नुभएछ। यसपछि १९९३ सालमा उहाँ आफ्नो घरमा सर्नुभएको हो। सुरुमा उहाँहरूको टिनले छाएको घर थियो, २००५ सालमा पक्की घर बनाउनुभयो।

अब विराटनगरमा मारवाडी समुदायका व्यवसायीहरू कसरी आए त्यस सम्बन्धमा कुरा गरौँ। रंगेलीबाट विराटनगर सदरमुकाम सार्ने काम विक्रम संवत् १९७१ मा सुरु भएर १९७३ मा सम्पन्न भएपछि बडाहाकिम जितबहादुर कर्नेल र सुब्बा पद्मराजलाई विराटनगरको विकासलाई अझ विस्तृत गर्ने विचार आएछ। उहाँहरू व्यापार–व्यवसायको विस्तार नगरी विकास गर्न नसकिने टुंगोमा पुग्नुभएछ।

यसपछि कर्नेल र सुब्बा दुवैले विहारको कुस्माहाट भन्ने सहरबाट मारवाडी समुदायका ६ परिवारलाई विराटनगर ल्याउनुभयो। तिनमा चाँदमल दुगड, छतमल लुनियाँ, ज्ञानचन्द सेठिया लगायतका परिवार थिए। अन्य तीन परिवार को थिए, मैले सम्झन सकिँन। उपरोक्त तीनमध्ये चाँदमल दुगड किसनलाल दुगडका हजुरबा हुन्। चाँदमल र उनका छोरा लुनकरणसँगै विराटनगर आएका थिए।

ती ६ परिवारलाई नै नेपाल सरकारले विराटनगरको मुख्य बजारमा २–२ बिघा जमिन उपलब्ध गरायो। यी ६ परिवारले व्यापार सुरु गरेर विराटनगरलाई गुल्जार बनाउँदै लगेपछि रंगेलीमा बसोबास गरेर व्यवसाय गरिरहेका दीनदयाल अग्रवाल लगायतका मारवाडी परिवार पनि क्रमशः विराटनगरतिरै आउन थाले। केही समयपछि धाडेवा परिवार आयो। यही अवसर पारेर रामलाल र उनको परिवारले पनि विराटनगरमा प्रवेश गरेको हो।

सबै मारवाडीमध्ये रामलाल तेज दिमागका थिए। उनले जेठा छोरा हंसराजलाई भारतबाट ग्रयाजुएसन गर्न गराए। अर्का हुलासलाई कोलकातामा जुट टेक्नोलोजी पढाए। दुवै छोरा पढेर फर्किएपछि आफ्नो व्यापारलाई दिनदुगुना रात चौगुनाको हिसाबले वृद्धि गरे। दोस्रो विश्वयुद्ध रामलालजीलाई ज्यादै फलिफाप सिद्ध भयो।

बाटोमा हिलोमाथि हिँड्न र गाडी चलाउन जुट ओछ्याउनु पर्ने, युद्धका बन्दोबस्तीका सामानहरू जुटकै बोरामा हालेर ओसारपसार गर्नुपर्ने, जुटकै ओछ्यानमा युद्धका सैनिक सुत्नुपर्ने। यसरी दोस्रो विश्वयुद्धका बेला जुट र जुटका सामग्रीको मागमा ठूलो वृद्धि भयो र मूल्यवृद्धि पनि भयो। यसको भरपूर फाइदा रामलालजीले उठाउनुभयो।

तस्विर : नवलपुरासीमा गोल्छा ग्रुपको बजाज युनिट

यसैबीच ९० सालमा ठूलो भुईंचालो आयो। भुईंचालोमा धेरैका घर भत्किएका थिए। धेरै बेघर भएका थिए। काठमाडौँको टुँडिखेलसहित विराटनगरका खालि चउरमा धेरै ठाउँमा बेघरबार परिवार बसेका थिए। यो बेलामा मारवाडी समुदायका व्यवसायीले सेवाको अद्भुत नमुना देखाए।

उनीहरूले भूकम्पपीडितलाई दुवै छाक खुवाउने, कपडाको व्यवस्था गरिदिने, घाइतेको उपचार गरिदिने लगायतका सेवाको कार्यलाई काठमाडौं र विराटनगरमा धेरै दिनसम्म सञ्चालन गरे। मारवाडी परिवारकै महिलाले खाना बनाउने‚ अनि पुरुषहरू बाँड्न जाने, यो सेवा नेपालको पहिलो संगठित र सामूहिक सेवा थियो। मारवाडी व्यवसायीको यही संगठित सेवापछि मारवाडी सेवा समितिको गठन भएको हो।

उता प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरसमक्ष मारवाडी समुदायका व्यवसायीले गरेको सेवाको सूचना पुगेछ। जुद्ध शमशेर पहिले मारवाडी समुदायप्रति पूर्वाग्रही थिए। उनले मारवाडी समुदायका व्यवसायीले गर्ने आयातनिर्यातका काममा निकै कडिकडाउ गरेका थिए। मारवाडी व्यापारीले आफूले चाहेको र भनेको मालवस्तु आयात गर्न पाउँदैनथे।

तर मारवाडी व्यवसायीले भूकम्पपीडितलाई गरेको सेवाको सूचना पुगेपछि ‘मारवाडी व्यापारीले आयात गरेका सामानमा कडिकडाउ नगर्नू’ भन्ने हुकुम जुद्ध शमशेरले गरेछन्। यसपछि मारवाडी व्यवसायीको कारोबार अझ मौलाउँदै र फैलँदै गयो।
कोशीमा बाढीमा आएका बेलामा पनि रामलाल गोल्छाका नेतृत्वमा त्यहाँका बाढीपीडितले ठूलो सहायता पाएका छन्।

गोल्छाजीले बाढीपीडितलाई महिनौंसम्म भोजन प्रदान गर्ने, वस्त्र वितरण गर्ने, आवासका लागि सहयोग गरिदिनेजस्ता मानवीय सेवाका कामहरू गर्नुभएको थियो। यसरी नेपालमा आएदेखि नै उद्योग–व्यापारसँगसँगै मारवाडी समुदायले सामाजिक र सेवामूलक कामहरू पनि बराबर गर्दै आएका छन्।

मलाई लाग्छ, मारवाडीहरू नेपालको समाजमा भिजिसकेका छन्। उनीहरू नेपालको संसदमा पनि पुगिसके। अब एक-दुई जनाले कराउँदैमा नेपालबाट मारवाडीलाई हटाउन सकिँदैन। हटाउनु पनि हुँदैन। सुरुदेखि नै नेपालभरि मारवाडी, पहाडे, आदिवासी, मधेसी र मुस्लिम लगायतका समुदायबीच आपसमा अत्यन्त राम्रो सम्बन्ध, सद्भाव, सहकार्य र सहिष्णुता रहँदै आएको छ। कसैले सडकमा कराउँदैमा यो सद्भाव र सम्बन्धमा दरार आउँछ भन्ने मलाई लाग्दैन।

दोस्रो कुरा मारवाडीहरू हामी पहाडे समुदायका भन्दा बढी राष्ट्रप्रेमी र देशभक्त देखिएका छन्। हामी पहाडे समुदायका युवाहरू दुई प्रकारले विदेश गएका छन्। एक थरी श्रमिकका रूपमा रोजगारी गर्न गएका छन्। अर्का थरी पढ्न गएका छन्। श्रमिकका रूपमा रोजगारी गर्न गएकाहरू त यही देश फर्केर आउँछन्।

तर पढ्न भनेर बेलायत, अमेरिका, क्यानाडा, जापान, अस्ट्रेलिया लगायतका मुलुकमा गएकाहरू कति फर्किएर आएका छन्? मारवाडी समुदायका युवाहरू हेर्नुस् त, जति पनि बाहिर पढ्न गएका छन् सबैजसो फर्किएर यहीँ आएका छन्। यसरी उनीहरूमा राष्ट्रप्रेम हामीभन्दा बढी देखिन्छ। व्यापारका लागि आएको भन्ने पनि होलान्। तर, व्यापार अहिले विश्वका जुनकुनै देशमा नेपालमा भन्दा सजिलैसँग गर्न सकिन्छ।

(उमेरले ८८ वर्ष लागेका प्राध्यापक एवं अधिवक्ता विश्वराज पाण्डेको स्मरणशक्ति ताजा छ। उनी विराटनगरका पुराना बासिन्दामध्ये एक हुन्। २००७ यता विराटनगरका हरेक सामाजिक, आर्थिक र राजनीतिक घटनालाई उनले सूक्ष्म अध्ययन गरेका छन्। मोरङको सदरमुकाम रंगेलीबाट विराटनगर सार्ने बेला १९७१–७२ सालमा उनका हजुरबा पद्मराज पाण्डे गोश्वारा अड्डाका सुब्बा थिए। गोश्वारा अड्डाका प्रमुखलाई बडाहाकिम भनिन्थ्यो। तिनताक बडाहाकिम जितबहादुर खत्री थिए । देवानगञ्जबाट विराटनगर सरेपछि गोल्छाको परिवार पाण्डेका घरमा डेरा बसेको हो। उनै सुब्बा पद्मराजका नाति एव् प्राध्यापक अधिवक्ता विश्वराज पाण्डेले गोल्छा परिवार र नेपालको मारवाडी समुदायबारे बिजमाण्डूका अनन्तराज न्यौपानेसँग गरेको कुराकानीको सम्पादित अंश।)