नेपालगंज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यू यथावत् रहेको छ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गरेको विज्ञप्तिमा कर्फ्यूका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरुमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ।
स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगंजमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न-नगराउन अनुरोध पनि गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सद्भावको सहरका रुपमा रहेको नेपालगंजको गरिमालाई कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, आम नागरिकले आफ्ना क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्याउनसमेत आग्रह गरेको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले सबै पक्षसँग संवादका लागि प्रक्रिया थालिएको तर बैठक बस्ने समय भने निश्चित नभएको जानकारी दिए।
उनले कर्फ्यूमा कडाइ गरिएको उल्लेख गर्दै भारतबाट जमुनाह नाका हुँदै नेपाल आउने नागरिकलाई गन्तव्यसम्म पुर्याउन थालिएको पनि बताए।
प्रहरी चौकी जमुनाहाका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले अहिलेसम्म एक हजार पाँच सय नेपालीलाई गन्तव्यमा पुर्याइएको जानकारी दिए। उनले भारतको सिम्ला, कालापहाड, दिल्ली लगायतका ठाउँबाट दसैं मनाउन घर फर्केका नागरिकलाई राँझाचोकसम्म पुर्याइएको र त्यहाँबाट नागरिकहरु गन्तव्यमा पुगिरहेका पनि बताए।
उनका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन्। यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालिएको हो। जमुनाहादेखि राँझासम्म पहिलो चरणमा करिब पाँच सय नेपाली पठाइएको प्रहरीले जनाएको छ। भारतबाट फर्केका नेपालीमध्ये रातीदेखि नाकामा अलपत्र परेका छन्।
दसैँ नजिकिँदै गर्दा भारतमा कामका लागि गएका नेपाली फर्किने क्रम बढ्न थालेको छ। भारतको सिमला, दिल्ली, पञ्जाबलगायतका क्षेत्रमा नेपाली कामका लागि जाने गर्दछन्। कर्फ्यूपछि नेपालगन्ज बजार बिहानैदेखि शान्त रहेको छ।