काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कोशी र वाग्मती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र वाग्मती प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।