काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति, प्रधानमन्त्री र सत्ता गठबन्धनमाथि आरोपको वर्षा गरेका छन्। ओलीले मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै आरोपको वर्षा गरेका हुन्।
उनले आरोप लगाउने क्रममा तथ्य र प्रमाणलाई आधार बनाउनेभन्दा सत्ताबाट बाहिर रहनुपर्दाको आक्रोश पोखेका छन्। नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयलाई लिएर उनले राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना गरे। नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले भने अस्वीकार गरेको थियो।
अघिल्लो सरकारका पालामा संसदले दुई दुई पटक पारित गरेको नागरिकता विधेयक ओलीले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमाणीकरण गर्नबाट रोकेका थिए। ओलीले ज्यान मुद्दामा सजाय पाएकाहरुलाई कैद मिनाहा गरेकामा पनि राष्ट्रपति पौडेलको आलोचना गरेका छन्। उनले राष्ट्रपतिमाथि संविधानको संरक्षकभन्दा सत्ता गठबन्धनको आदेश पालकको भूमिका निर्वाह गरेको आरोप लगाए।
विभिन्न अपराधमा जेल बसेकाहरुलाई ओली नेतृत्वको सरकारले पनि कैद मिनाहाको सिफारिस गरेको थियो।
उनले सुन तस्करी र ललिता निवास प्रकरणको छानबिनदेखि न्यायाधीश नियुक्तिलाई लिएर प्रश्न उठाएका छन्। ‘ललिता निवास प्रकरणमा गठबन्धनका नेतालाई जोगाउने काम भयो’, उनले भने, ‘सुन तस्करीमा गृहमन्त्री निष्पक्ष छानबिन गर्न किन आत्तिनुभयो?’
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि गैरजिम्मेवार भएको, संविधान मिच्न उद्यत भएको, शान्ति प्रक्रियालाई ट्याक्टिसका रुपमा उपयोग गरेको, विदेश भ्रमणमा रमाएको, अर्थतन्त्रमा देखिएका समस्याप्रति उदासीन भएको लगायत आरोप लगाए।
उनले सभामुख देवराज घिमिरेले विदेश भ्रमणमा स्वकीय सचिवबाहेक अन्य व्यक्ति लैजान अनुमति नपाएकोमा पनि आपत्ति जनाए। ‘प्रधानमन्त्री आफू देशभित्र सबै ठिकठाक रहेको जसरी १४/१४ दिनसम्म विदेशमा रमाउने अनि सभामुखलाई चाहिं विदेश जाँदा एक जना पनि सदस्य लान नदिने। यो त सदनकै गरिमामा प्रहार भयो’, उनले भने।
माओवादीले सशस्त्र विद्रोह सुरु गरेको दिन वर्सेनि बिदा दिने निर्णय फिर्ता नलिए सह्य नहुने चेतावनी दिएका छन्। सरकारले यो निर्णय गर्दा एमाले नै सरकारमा थियो। त्यतिखेर एमालेले मौनता साँधेको थियो। तर ओलीले मंगलबार हिंसा सुरु भएको दिनलाई भोज खाने दिनका रुपमा मनाउन नसकिने बताए।
सत्ता गठबन्धनमाथि संविधान मिचेको आरोप पनि ओलीले लगाएका छन्। ‘कोशी प्रदेशमा सत्ता गठबन्धनबाट संविधान प्यारालाइज्ड गर्ने काम भयो’, उनले भने। ओलीले डेढ घण्टाभन्दा लामो समय सरकारको आलोचना गर्दा एमाले सांसदहरुले हौसिएर टेबल बजाए भने अरु पार्टीका धेरैजसो सांसद पट्यार लागेर बैठक कक्षबाट निस्किएका थिए।