काठमाडौं । दोलखा सुन प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
गत बुधबारदेखि आइतबारसम्म दोलखाको सिंगटी र लामाबजारबाट ११ किलो सुन बरामद भएको थियो। सोही अनुसन्धानको क्रममा काठमाडौंबाट केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को टोलीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चिनियाँ नागरिक पनि रहेका छन्।
दोलखा प्रहरीले यसअघि सोही घटनामा ७ जनालाई पक्राउ गरिसकेको छ। उनीहरुले चीनबाट सुन ल्याएको र काठमाडौंसम्म ल्याउने तयारी गरेका थिए। सुनमा चिनियाँ नागरिकको लगानी रहेको खुलेको थियो।
प्रहरीले बिगु गाउँपालिका-१ का २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीय सुनमाला तामाङलाई प्रहरीले सार्वजनिक गरेको थियो।
केशर, पेम्बा र माधव सुन बरामद गरिएको स्थान वरपरबाट बुधबार पक्राउ परेका हुन् भने नुर्वु र सुनमालालाई बिहीबार भीमेश्वर नगरपालिका-६ स्थित शुभकामना होटेलबाट गिरफ्तार गरिएको हो।