BIZMANDU
www.bizmandu.com

अर्थतन्त्रको संकटमोचनका लागि महासंघको अग्रसरता, वृहत् राष्ट्रिय विमर्श र लगानी सम्मेलन गर्ने

२०८० असोज १५

अर्थतन्त्रको संकटमोचनका लागि महासंघको अग्रसरता, वृहत् राष्ट्रिय विमर्श र लगानी सम्मेलन गर्ने
अर्थतन्त्रको संकटमोचनका लागि महासंघको अग्रसरता, वृहत् राष्ट्रिय विमर्श र लगानी सम्मेलन गर्ने


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले देशलाई लामो समयदेखिको मन्दीबाट बाहिर निकाल्न रोडम्याप बनाउने निर्णय गरेको छ। बाग्लुङको ढोरपाटनमा बसेको महासंघको कार्यकारिणी समितिको तेस्रो बैठकले असोजको अन्तिम साता वृहत् राष्ट्रिय विमर्श आयोजना गरी अर्थतन्त्रको संकटमोचनका लागि रोडम्याप बनाउने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

महासंघका अनुसार आर्थिक संकटको समाधानका लागि सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको उपस्थितिमा वृहत् राष्ट्रिय विमर्श गरिनेछ। सरकार र नियामक निकायले निजी क्षेत्रले उठाएका विषयलाई गम्भिरतापूर्वक लिने नगरेको महासंघको गुनासो छ।

‘अर्थतन्त्र तथा व्यवसायका विषयलाई निजी क्षेत्रको मात्र समस्याका रुपमा लिने गरिएको छ। अहिलेको संकट समाधानका लागि अर्थतन्त्रका सबै सरोकारवाला एक हुन आवश्यक छ’, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैठकपछि भने, ‘त्यसैले वृहत् राष्ट्रिय विवर्शको आवश्यकता महसुस गरेका हौं।’

महासंघले सात वटै प्रदेशमा लगानी सम्मेलन तथा भारत र चीनको लगानी भित्र्याउन राष्ट्रियस्तरका सम्मेलन गर्ने निर्णय गरेको छ। प्रदेश सरकारसँगको सहकार्यमा लगानी र केन्द्र सरकारसँगको सहकार्यमा राष्ट्रियस्तरका सम्मेलन गर्ने ढकालले जानकारी दिए।

महासंघले नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने निर्णय गरेको छ। यसका लागि उसले भ्रमण वर्षभर केन्द्र, प्रदेश र जिल्ला/नगरमा पर्यटन पवर्धनसम्बन्धी विभिन्न कार्यक्रम गर्नेछ। महासंघ र यसका सदस्य संघ/संस्थाका लेटर प्याडमा भ्रमण वर्षको लोगो राख्‍ने ढकालले बताए।

महासंघले ७७ वटै जिल्लाका व्यवसायीको सहभागितामा वृहत् लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनामा लगानी गर्ने निर्णय पनि गरेको छ।

आफ्ना सदस्यमा संस्थाप्रति अपनत्व बढाइ स्थानीय सम्भावनालाई पहिचान गरेर लगानी अभिवृद्धि गर्न महासंघले यसपालि कार्यकारिणी समितिको बैठक बाग्लुङको ढोरपाटनमा राखेको हो। बाग्लुङ महासंघका अध्यक्ष ढकालको गृहजिल्ला तथा ढोरपाटन ऐतिहासिक र पर्यटकीय क्षेत्र हो।