काठमाडौं। चीनको हाङजाउमा जारी एसियन गेम्समा नेपालको उत्साहजन प्रदर्शन जारी राखेको खेल हो क्रिकेट। प्रतियोगिता ११ औं दिनसम्म पुग्दा नेपालले कबड्डीमा मेडल पक्का गरेको छ। त्यसबाहेक कुनै पनि खेलमा नेपाल मेडलको नजिकसम्म पनि पुगेको छैन।
एसियन गेम्समा २४ देशले एउटा स्वर्ण पदक पक्का गर्दा २८ देशले कम्तीमा एउटा रजत र ३३ देशले एउटा कास्य पदक पक्का गरेका छन्।
अहिले नेपाली क्रिकेट टोलीले एसियन गेम्समा कीर्तिमानी प्रदर्शन गरिरहेको छ। पहिलो खेलमा मंगोलियाविरुद्ध कीर्तिमानी जित निकालेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। चिनियाँ भूमिमा दमदार प्रदर्शन गरिरहेको नेपालले क्वाटरफाइनलमा भने बलियो प्रतिस्पर्धी पाएको छ‚ भारत।
मंगलबार बिहान पौने ७ बजे झेजिआङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा नेपालले भारतीय टोलीसँग प्रतिस्पर्धा गर्दैछ।
उसो त भारतीय टोलीविरुद्ध पछिल्लो तीन महिनामा नेपालको यो तेस्रो भेट हुनेछ। यसअघि इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ सँग नेपाली टोलीले प्रतिस्पर्धा गरेको थियो। त्यस्तै एसिया कपमा रोहित शर्माको कप्तानी रहेको भारतविरुद्धको एकदिवसीय खेलमा नेपालले राम्रो प्रदर्शन गरेको थियो।
अब एसियन गेम्समा लयलाई निरन्तरता दिँदै भारतविरुद्ध मैदान उत्रने तयारीमा छ नेपाल। टी-२० अन्तर्राष्ट्रिय मान्यताप्राप्त यो खेलमा नेपालले आईपीएलमा सशक्त प्रदर्शन गरिरहेका युवा खेलाडीले भरिएको भारतीय टोलीलाई चुनौती प्रस्तुत गर्नेछ।
भारतीय टोलीसँग पछिल्लो तीन महिनामा नेपालको तेस्रो भेट हुनेछ। यसअघि इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ सँग नेपाली टोलीले प्रतिस्पर्धा गरेको थियो।
एसियन गेम्समा नेपाली क्रिकेटको प्रदर्शन
नेपाल एसियन गेम्समा समूह ‘ए’ मा मंगोलिया र माल्दिभ्ससँग परेको थियो।
पहिलो खेलमा चारवटा महत्वपूर्ण विश्व कीर्तिमान बनाउँदै नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले हराएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा समेटियो।
मंगोलियालाई हराउने क्रममा नेपालले चार ठूला कीर्तिमान पनि बनायो। पहिलो नेपालले टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक ३०० भन्दा माथि रन बनायो। दोस्रो कुशल मल्ल विश्वको सर्वाधिक छिटो शतक बनाउने खेलाडी बने। तेस्रो दीपेन्द्रसिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको कीर्तिमान पछि पार्दै सर्वाधिक छिटो अर्धशतक बनाए।
त्यस्तै, अर्को कीर्तिमान ठूलो मार्जिनको जितमा पनि बनायो। चेक रिपब्लिकले टर्कीमाथि निकालेको २५७ रनको जितको कीर्तिमानलाई पछि पार्दै नेपालले २७३ रनको जितसहित कीर्तिमान बनायो।
त्यस्तै दोस्रो खेलमा अभिनास बोहोराको सानदार प्रदर्शनमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको थियो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट भयो।
नेपाल र भारतको टोली कस्तो छ ?
सोमबार सम्पन्न ड्र अनुसार समूह ‘ए’ को विजेता नेपालले क्वाटरफाइनलमा भारतविरुद्ध खेल्ने भएको छ। त्यस्तै, पाकिस्तानले हङकङविरुद्ध, श्रीलंकाले अफगानिस्तान विरुद्ध र बंगलादेशले मलेसियाविरुद्ध खेल्नेछन्।
रुतुराज गाइक्वाडको कप्तानीमा रहेको भारतसँग इण्डियन प्रिमियर लिग (आईपीएल) मा वर्चस्व बनाएका खेलाडीहरु छन्। भारतीय टोलीमा आकाश दीप, अर्सदीप सिंह, आवेश खान, शिवम् दुबे, यशस्वी जसवाल, मुकेश कुमार, प्रभसिमरन सिंह, रवि विश्नोइ, सहबाज अहमेद, जितेश शर्मा, रिंकु सिंह, तिलक वर्मा, राहुल त्रिपाठी र वासिंटन सुन्दर रहेका छन्।
आईपीएलमा चेन्नइबाट खेल्ने कप्तान गाइक्वडले टी-२० अन्तर्राष्ट्रियमा ११ खेलमा २ अर्धशतकको सहायतामा २१२ रन बनाएका छन्। त्यस्तै राजस्थान रोयल्सबाट पछिल्लो संस्करणको आईपीएल खेलेका यशस्वी जसवालले १ शतकसहित १४ खेलबाट ६२५ रन बनाएका छन्। सो संस्करणमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी पाँचौँ स्थानमा छन्। टी २० अन्तर्राष्ट्रियतर्फ उनले ५ खेलबाट ३३ को औसतमा १३२ रन बनाएका छन्।
त्यस्तै बलिङतर्फ अर्सदीप सिंहले आईपीएलको पछिल्लो संस्करणमा १४ इनिङ्सबाट १७ विकेट लिएका थिए। टी २० अन्तर्राष्ट्रियमा ३३ खेलबाट ५० विकेट लिएका छन् उनले। त्यस्तै भारतका लागि १३ टी २० अन्तर्राष्ट्रिय खेलेर २० विकेट लिएका लेगब्रेक गुग्ली रवि बिस्नोइ पनि भारतको बलिङमा मुख्य चुनौती हुनेछन्।
नेपालको ब्याटिङ धान्न ठूलो आशा कुशल मल्ल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी माथि हुनेछ। कप्तान पौडेलले पछिल्ला दुई खेलमा ‘ब्याक टू ब्याक’ अर्धशतक बनाएका छन्। जारी एसियन गेम्समा कूल १८४ रन बनाउँदै सर्वाधिक रन बनाएका कुशल मल्ल विस्फोटक ब्याटिङका लागि चर्चित छन्। उनको प्रदर्शन भारतविरुद्धको खेलमा महत्वपूर्ण बन्न सक्छ।
त्यस्तै म्याचको गहिराई बुझेर सोही अनुकूल कुनै पनि अर्डरमा आएर ब्याटिङ गर्ने अलराउण्डर दीपेन्द्रसिंह ऐरीले पछिल्लो समय क्यानडामा ग्लोबल टी २० खेलेर आएका थिए। त्यहाँ पनि सानदार प्रदर्शन गरेका ऐरी लयमा आउनु नेपालका लागि बलियो पक्ष बन्ने देखिन्छ।
बलिङतर्फ सानदार लयमा रहेका अनुभवी बलर ललित राजवंशीले चोट बोक्दै एसियन गेम्स अघि नै टोलिबाट बाहिरिएपछि नेपालको बलिङलाइनमा चुनौती थपिएको थियो। तर, लामो समयपछि टोलीमा फर्किएका अभिनास बोहोराले माल्दिभ्सविरुद्ध सानदार प्रदर्शन गर्दै बलिङको आशालाई कायम राखेका छन्।
त्यस्तै सन्दीप लामिछानेसहित पुनरागमन गरेका सागर ढकाल बलिङ लाइनअपमा हुनेछन्। त्यस्तै बलिङ अलराउण्डर सोमपाल कामी र करण केसीले टी २० मा खेलको मोमेन्टम कुनै पनि समय परिवर्तन गर्न सक्ने क्षमता राख्छन्।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, कुशल भुर्तेल, अभिनास बोहोरा, गुलसन झा, सुन्दिप जोरा, करण केसी, कुशल मल्ल, सन्दीप लामिछाने, प्रतिश जीसी, सागर ढकाल, सोमपाल कामी, विवेक यादव