विराटनगर। उद्योग संगठन मोरङले स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमअन्तर्गत तेस्रो ब्याचका लागि आवेदन मागेको छ।
यसअघि पहिलो ब्याचमा १७ र दोस्रो ब्याचमा १३ जनालाई पासआउट गरेको संगठनले तेस्रो ब्याचका लागि असोज १५ देखि आवेदन मागेको हो। आवेदन दिने म्याद कात्तिक १६ सम्म छ।
कार्यक्रम संयोजक सुरेन्द्र गोल्छाका अनुसार कात्तिक महिनाभित्र आवेदकको सूची बनाइनेछ। छनोटमा परेका आवेदकलाई एक वर्षमा चार पटक चारदिने क्याम्पमा राखेर बुट क्याम्प सञ्चालन गरी उद्यम-व्यवसायका टिप्स दिइनेछ।
त्यस्तै एक वर्षसम्म उनीहरूले परामर्श सेवा पाइरहनेछन्। परामर्श सेवा ५० घण्टाको हुनेछ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा संयोजक गोल्छाले आवेदकलाई ४ वटा नेटवर्किङ इभेन्टमा पनि सहभागी गराउने र हाटबजारको अभ्यास पनि प्रदान गर्ने जानकारी दिए।
‘पासआउट भएर व्यवसायी बनेका आवेदकले २०८१ कात्तिक महिनामा आफ्ना व्यावसायिक सामग्रीको प्रदर्शनी गरेपछि तेस्रो चरणको कार्यक्रम सम्पन्न हुनेछ‚’ उनले भने।
उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले स्टार्टअप एन्ड इनोभेसनको तेस्रो संस्करणलाई नबिल, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट मेगा र प्रभु बैंकले सहयोग गर्ने स्पष्ट पारे।
वरिष्ठ उपाध्यक्ष राठीले पहिलेझैँ यस संस्करणमा पनि विराटनगर महानगरपालिका, पूर्वाञ्चल विश्वविद्यालय, अन्तरप्रेरणा नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ड संस्थाले पनि सहकार्य गर्ने बताए ।