काठमाडौं। बर्सेनि ऋणभार बढेको अनुपातमा आम्दानी बढाउन नसकेको नेपाल वायुसेवा निगमको आर्थिक सुधार कसरी सम्भव छ भन्ने सुझाव सेयर बजारमा चर्चाको विषय बनेकाे छ। सुझाव दिन गठित समितिले सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई बुझाएको प्रतिवेदनको राय नै बजारको ध्यानाकर्षण गर्ने खालको छ।
निगमको व्यवसायिक रणनीतिको ‘वे फर्वार्ड’ सुझाएको उक्त प्रतिवेदन सार्वजनिक भए लगत्तै बजारमा व्यापक चर्चा छ। प्रतिवेदनमा उल्लिखित सबैभन्दा चाखलाग्दो राय निगमको स्वामित्त्वमा रहेको सोल्टी होटलको सेयर बिक्री हो। जुन प्रतिवेदनको केन्द्रविन्दु रह्यो।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार निगमको सोल्टीमा एक करोड ३ लाख ३३ हजार ६९९ कित्ता सेयर छ। गत भदौ १९ गतेसम्म यो कम्पनीको सेयरको मूल्य प्रतिकित्ता ४४३ रुपैयाँ रहेको र निगमको सेयर बेच्दा ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपैयाँ पुग्ने जनाइएको छ।
६ महिना लगाएर आइतबार पर्यटनमन्त्री सुदन किरातीलाई सुझाएको सो प्रस्ताव प्रतिवेदनको सबैभन्दा कमजोर कडी हो। कमसल प्रस्ताव सुझाएको निगमलाई नजिकबाट नियाल्नेहरुले नै भन्न सुरु गरिसकेका छन्।
‘हुन त पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीकै संयोजकत्वमा तयार भएको हो प्रतिवेदन। तर सुनको अण्डा दिने कुखुरालाई नै काटेर खा भन्दिने?,’ एक विज्ञले भने,’सोल्टीको आयले कत्रो भरथेग भएको छ? त्यसमा कुनै पक्षको चासो छैन।’
अर्कोपट्टि प्रतिवेदनको सुझावले सोमबार सोल्टीको सेयर मूल्यमा ठूलो प्रभाव पार्यो। ३ प्रतिशतका दरले कम्पनीको सेयर मूल्य घटेको छ। लाभांश घोषणा र वार्षिक साधारण सभाको मुखैमा आएको सो प्रतिवेदनले लगानीकर्ताको मनोबल ह्वात्तै गिरेको हो।
बजारमा यो अनुपातको सप्लाई कसले थेग्ने? आम लगानीकर्ताको मुख्य चासो बनेको छ। निजी क्षेत्रका ठूला व्यवसायिक घरानाको नजर पनि प्रतिवेदनको सो प्रस्तावले खिचेको छ। किनभने निगमको मात्रै सोल्टीमा १२.२६ प्रतिशत होल्डिङ छ। जुन खरिद गर्ने सम्भवत: जोकोहीले बोर्डमा ठूलो भोटिङ राइट पाउँछ।
तर के यो सम्भव होला? भएपनि कसले यत्रो रकम हाल्न सक्ने? सोल्टी होटलकै संचालकहरु यसमा संशय गर्छन्। ‘यस्तो रकम हाल्ने अवस्थामा अहिले नेपाली व्यवसायिक घराना कमै छन्,’ ती संचालकले भने,’१२ प्रतिशतको लागि साढे ४ अर्ब हाल्नुभन्दा एउटा सानोतिनो फाइभ स्टार एक्लो लगानीमा बनाउँछन्।’
निगमबाहेक मुलुकका प्रमुख व्यवसायीहरुको साझेदारी सोल्टीमा पहिलैदेखि छ। रविभक्त्त श्रेष्ठको सिविक्रिम होल्डिङ्सको ७.१९ प्रतिशत स्वामित्त्व छ। सोल्टी एन्टरप्राइज प्रालिको ४९.६३ प्रतिशत सेयर छ। जुन पूर्व राजाकि छोरिको एक्लो लगानीको कम्पनी हो।
खरिदार भेटिइहाल्यो भने पनि यो नेपाल स्टक एक्सचेन्जमा भएको सबैभन्दा ठूलो सौदाबाजी हुने निश्चित छ। जसले बजारमा एक करोड कित्ताभन्दा बढीको सप्लाइ सृजना हुनेछ। नेप्सेमा हुने औसत कारोबारभन्दा यो गुणात्मक रुपमा बढी हो।
सोल्टी होटलको सामान्य रुपमा १५/२० हजार कित्ताभन्दा बढी कारोबार हुँदैन। पछिल्लो चरणमा होटल प्रतिको आकर्षणले गर्दा कारोबार ह्वात्तै बढेर साढे सात लाखसम्म कारोबार भयो। ३८ करोड ९० लाखको किनबेच भएको थियो। त्यअघि हङकङको होलिडे इन्स इन्भेष्टमेन्ट नेपालको स्वामित्वमा रहेको ८४ लाख २५ हजार ७०६ कित्ता सेयर खरिद गरेको थियो। जुन सम्भवत: सोल्टी होटलको हालसम्मकै ऐतिहासिक कारोबार हो।
तर बजार शिथिल हुन थालेपछि पुन हिजो आज ४०/५० हजार कित्तामा सीमित हुन थालेको छ। यस्तोमा यति भारी अनुपात एकै लटमा किनबेच सम्भव नै हुँदैन। भइहाल्यो भने पनि प्रस्तावित सेयर मूल्यमा हुँदैन। किनभने बजार पछिल्लो समय निरन्तर घट्दो लयमा छ।
प्रतिवेदनले सुझाएको मूल्य प्रति कित्ता ४४३ रुपैयाँका आधारमा निगमले सेयर बिक्री गरे ४ अर्ब ५७ करोड रुपैयाँ प्राप्त गर्नेछ। तर सोमबार सोल्टीको सेयर मूल्य ४२१ रुपैयाँमा ओर्लिसकेको अवस्था छ। हालको मूल्यलाई आधार मान्ने हो भने प्रतिवेदनका अनुसार निगमलाई २२ करोड ७३ लाख एकै दिन घाटा लाग्छ।
त्यसैगरी सोल्टी होटल १० रुपैयाँ फेस भ्यालु भएको सेयर हो। फेस भ्यालुभन्दा झन्डै ४२ गुणा बढी रकम हाल्ने चाहिँ पोख्त व्यवसायीमा कमै हुन्छन्। गत आर्थिक वर्षको वित्तिय विवरण अनुसार सोल्टीको वास्तविक प्रति सेयर नेटवर्थ २६.६८ रुपैयाँ छ। यसलाई लिने हो भने पनि अहिले कै मूल्यमा क्रेताले १५.७७ गुणा प्रिमियम चुकाउनु पर्ने देखिन्छ।