BIZMANDU
www.bizmandu.com

राष्ट्रपति बाबुको आडमा गुलनार साम्राज्य, स्वीस बैंकमा अडिएन कालोधन, खोसियो अर्बौंको सम्पत्ति

२०८० असोज १५

राष्ट्रपति बाबुको आडमा गुलनार साम्राज्य, स्वीस बैंकमा अडिएन कालोधन, खोसियो अर्बौंको सम्पत्ति
राष्ट्रपति बाबुको आडमा गुलनार साम्राज्य, स्वीस बैंकमा अडिएन कालोधन, खोसियो अर्बौंको सम्पत्ति


सन् १९९१ मा सोभियत संघ टुक्रिएपछि मध्य एसियाली देश उज्वेकिस्तान बन्यो। त्यो स्वतन्त्र राष्ट्रको राष्ट्रपति बने इस्लाम करिमोभ। सन् २०१६ मा निधन हुँदासम्म उनी उज्वेकिस्तानको राष्ट्रपति रहे। त्यहाँ लगातार २५ वर्ष शासनमा रहे।

Tata
GBIME
Nepal Life

करिमोभका दुई श्रीमतीबाट तीन सन्तान थिए। पहिलो श्रीमतीबाट जन्मेका छोरा पेट्र करिमोभ उज्वेकिस्तानको एउटा विमान कम्पनीमा काम गर्थे। करिमोभको दोस्री श्रीमतीबाट दुई छोरी जन्मिए जेठी गुलनार करिमोभ र कान्छी लोला करिमोभ।

जतिन्जेलसम्म उज्वेकिस्तानमा पिता इस्लामको सत्ता चल्यो त्यतिन्जेल तीन सन्तानमध्ये उनकी जेठी छोरी गुलनार करिमोभको पनि त्यहाँ रजगज चल्यो।

गुलनारको सत्तामा रजगज यस्तो थियो कि उनलाई त्यहाँको कर्पोरेट जगतमा ‘द अफिस’का रुपमा चिनिइन्थ्यो। उज्वेकिस्तानको हरेक ठूला कर्पोरेट डिल गुलनारमार्फत जानुपर्थ्यो। टेलिकम कम्पनी होस् या बहुराष्ट्रिय कम्पनी कोकाकोला, गुलनारलाई या त स्वामित्व चाहिन्थ्यो वा पैसा।

गुलनारको ‘फेबर’ नपाए या उनलाई ‘प्रोटेक्सन मनी’ नदिए त्यहाँ कर्पोरेटलाई व्यापार गर्न कठिन हुन्थ्यो। कतिपय अवस्थामा कम्पनीको स्वामित्व समेत बेचेर हिँड्नुपर्थ्यो।

ठूला कर्पोरेट डिल र प्रोटेक्सन मनीवापत गुलनारले अर्बौं डलर कमाएकी थिइन्। उनले त्यो पैसा बेलायत, स्विजरल्याण्ड, हङकङ लगायतका देशमा लगेकी थिइन्।

तर समय सधैं एकैनास हुँदैन।

सन् २०१४ मा भ्रष्टाचार आरोप लाग्यो। उनलाई उज्वेकिस्तानको स्थानीय अदालतले भ्रष्टाचारको आरोपमा नजरबन्दमा राख्ने फैसला दियो। राजनीतिक प्रतिशोधका कारण आफूमाथि विभिन्न आरोप लगाइएको भन्दै गुलनारले भ्रष्टाचारको आरोपलाई अस्वीकार गरिरहिन्। सन् २०१६ मा उनका पिता तथा तत्कालीन राष्ट्रपति इस्लामको निधन भयो।

नजरबन्दमा रहँदा पालना गर्न तोकिएका सर्तहरु उल्लंघन गरेपछि उनी अहिले उज्वेकिस्तानमा जेल जीवन बिताउँदैछिन्। र यही बेला स्विट्जरल्याण्ड सरकारले गुलनारको ६९ करोड ८० लाख डलर बराबरको सम्पत्ति जफत गर्नका लागि मुद्दा चलाउने निर्णय गरेको छ।

स्वीस सरकारले उनीमाथि भ्रष्टाचार, कालोधन, रकम हिनामिना, नक्कली कागजात तथा जालसाजी र संगठित अपराधमा संलग्नता रहेको अभियोग लगाएको छ। स्वीस सरकारले गरेको लामो अनुसन्धानपछि गुलनारले अन्तर्राष्ट्रिय आपराधिक र्‍याकेट नै संचालन गरेको पुष्टि भएको जनाइएको छ।

स्विट्जरल्याण्डको महान्यायाधिवक्ताको कार्यालयले लामो समय लगाएर गरेको अनुसन्धानपछि गुलनार करिमोभाका साथै उनको आपराधिक कार्यमा मुख्य मतियारका रुपमा उज्वेक टेलिकमका एक उच्च अधिकारीविरुद्ध उक्त अभियोगमा मुद्दा समेत दायर गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

‘दुवै अभियुक्तहरु स्विट्जरल्याण्ड लगायत अन्य विभिन्न देशहरुमा समेत भ्रष्टाचार तथा संगठित अपराधमा संलग्न रहेको पाइएको छ,’ स्विट्जरल्याण्डस्थित महान्यायधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

सन् २००५ देखि २०१३ को अवधिमा विभिन्न संगठित अपराध, मनि लन्ड्रिङ, घूसखोरी तथा झुठा कागजातहरु खडा गरी आपराधिक कामको ढाकछोप गर्ने गरेको अभियोग उनीहरुमाथि लगाइएको छ। स्विट्जरल्याण्डको फेडरल क्रिमिनल कोर्टमा गुलनार र उनका मतियार मानिएका एक उज्वेक अधिकारीविरुद्ध मुद्दा दायर गरिएको हो।

गुलनारले बाबुको शक्तिको प्रभावमा लामो समयदेखि  ‘द अफिस’ नाम दिइएको संगठित अपराधको संस्था नै खडा गरी विभिन्न किसिमका आपराधिक कामहरु गर्दे आएको पाइएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। उनले खडा गरेको कम्पनीअन्तर्गत अन्य धेरै कम्पनीहरु दर्ता गरिएको थियो, जहाँ दर्जनौं मानिसहरु कार्यरत थिए।  

स्विट्जरल्याण्डमा सन् २००५ देखि गुलनारको अफिसले विभिन्न आपराधिक डिलहरुबाट कमाएको पुँजीलाई स्विस बैंकहरुमा राख्ने तथा उक्त रकम सुरक्षित बनाउनका लागि विभिन्न देशहरुका रियल स्टेटमा लगानी गर्ने गरेको पनि अनुसन्धानमा खुलेको छ।

उज्वेकिस्तानमा ठूलो संख्यामा विदेशी कम्पनीहरुलाई उज्वेक टेलिकम्युनिकेसन्स सेक्टरमा प्रवेश दिलाउने नाममा ठूलो मात्रामा घूस लिएको तथा रकम दुरुपयोग गरेको आरोपमा उनले उज्वेकिस्तानमै यसअघि नै १३ वर्षको जेल सजाय खेपिरहेकी छिन्।

५० वर्षकी गुलनार हाल जेलमा छिन्। कूटनीतिज्ञ, हाइप्रोफाइल बिजेनस पर्सन, फेसन डिजाइनर र पप गायिकाको छवि बनाएकी गुलनारमाथि जब भ्रष्टाचार र घूसखोरीको आरोप लाग्यो, सन् २०१४ देखि नै उनले सार्वजनिक जीवनबाट धेरै टाढा हुनुपर्‍यो। घरमै नजरबन्द गरिएकी उनले नजरबन्दको नियम तोडेपछि जेलमै राखिएको हो।

गुलनारले ‘द अफिस’ अन्तर्गतका विभिन्न कम्पनीहरुमार्फत घूसबापतको मोटो रकम असुल्ने गर्थिन्।  राष्ट्रपतिको छोरीका रूपमा उज्वेकिस्तानको उदाउँदो टेलिकम सेक्टरमा उनको गहिरो प्रभाव रहेकाले त्यसको ‘फेवर’ लिनका लागि विदेशी कम्पनीहरुले टेलिकम सेक्टरमा प्रवेशका लागि गुलनारका कम्पनीहरुलाई घूस बापतको रकम दिएका थिए।

घूस तथा भ्रष्टाचारबाट पाएको उक्त ठूलो धनराशिबारे कसैले पत्ता नपाओस् भन्नाका लागि जटिल किसिमको संरचना तयार पारी फरक फरक देशहरुमा विभिन्न कम्पनीहरुमार्फत बैंक खाताहरु खोलेर रकम ट्रान्सफर गरिएको थियो।

‘द अफिस’ अन्तर्गत खडा गरिएका विभिन्न कम्पनीहरुको नाममा स्वीस बैंकहरुमा पनि खाता खोलिएको थियो। उक्त खाता फरक-फरक कम्पनीहरुको नाममा खडा गरिएको थियो र वास्तविक धनी गुलनारको नाम कतै नआउने गरी लुकाइएको थियो।

स्वीस सरकारले लामो समय लगाएर गरेको उक्त अनुसन्धानपछि उनको स्वामित्वमा रहेको ७८ करोड स्विस फ्रांक अर्थात ६९ करोड ८० लाख डलर बराबरको सम्पत्ति जफत गर्न माग गरिएको छ। यसमा बैंकमा रहेको रकम, रियल स्टेट प्रोपर्टी तथा नगद र बैंकको सेफमा राखिएको मूल्यवान सम्पत्ति समेत छन्।

अभियोगपत्र दायर गर्दै महान्यायाधिवक्ताको कार्यालयले थप ४४ करोड फ्रांक बराबरको रकम पनि जफत गर्न माग गरेको छ।

अनुसन्धानबाट ‘द अफिस’को सबै स्वामित्व गुलनारकै रहेको पनि पत्ता लागेको बताएको छ। रसियाली टेलिकम्युनिकेसन्स कम्पनीको उज्वेक शाखा प्रमुखलाई पनि संगठित अपराधमा गुलनारसँगै मुख्य अभियुक्तकै रुपमा पेस गरिएको छ। उनको नाम भने खुलाइएको छैन।

सन् २०१२ मा पहिलोपटक स्विट्जरल्याण्डको महान्यायधिवक्ताको कार्यालयले गुलनारको पर्सनल असिस्टेन्टमाथि मनी लन्ड्रिङको आशंकामा अनुसन्धान सुरु गरेको थियो।

गुलनारलाई त्यस समयमा कूटनीतिक मर्यादाका खातिर संरक्षण तथा अनुसन्धानबाट उन्मुक्ति दिइएको थियो। उनी त्यसबेला जेनेभामा संयुक्त राष्ट्रसंघका लागि उज्वेकी दूतका रुपमा कार्यरत थिइन्। तर सन् २०१३ मा उनको कूटनीतिक हैसियत समाप्त भएपछि गुलनारलक्षित बृहत् अनुसन्धान थालिएको थियो।

गत अगस्टमा बेलायतले पनि गुलनारको स्वामित्वमा रहेका तीनवटा लग्जरी प्रोपर्टीलाई सरकारी नियन्त्रणमा लिएको छ। त्यहाँको गम्भीर प्रकृतिका जालसाझीको घटनाहरु हेर्ने कार्यालयले २० मिलियन पाउण्डभन्दा बढीको सम्पत्ति भ्रष्टाचार तथा अपराधसँग जोडिएको सम्पत्ति भएको आशंकामा नियन्त्रणमा लिएको हो।

गुलनार र उनको कम्पनीमाथि  स्विट्जरल्याण्डमा मात्र नभई स्विडेन, फ्रान्स, नर्वे, नेदरल्याण्ड्स, अमेरिका र बेलायतमा समेत अनुसन्धान भइरहेको छ।

भ्रष्टाचारको ब्राण्ड बनिन् गुलनार

गुलनार उज्वेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभकी जेठी छोरी हुन्। बुवा शासनसत्तामा हुँदाकै बखतदेखि उनी विभिन्न किसिमका भ्रष्टाचार तथा घूसखोरीको अभियोग लागेको थियो।

उनीमाथि उज्वेकिस्तानको टेलिकम सेक्टरमा प्रवेश गर्न चाहने स्क्यानडेभियन तथा रसियाली टेलिकम कम्पनीहरु टेलिया सोनेरा तथा भिम्पेलकमसँग ठूलो मात्रामा घूस लिएर स्वीकृति दिएको आरोप लागेको थियो।

त्यस्तै उनीमाथि संगठित अपराध र भ्रष्टाचारका विभिन्न घटनाहरुमा जोडिएको र निकै ठूलो आपराधिक गिरोह नै संचालन गरी यस्ता घटनामा आबद्ध रहेको विषयमा पनि अनुसन्धान थालिएको थियो।

संगठित अपराध तथा भ्रष्टाचारविरुद्धको परियोजना ओसीसीआरपीले गरेको एक अनुसन्धानमा गुलनारसँग अन्तर्राष्ट्रिय टेलिकमसम्बद्ध कम्पनीहरुबाट १ अर्ब डलरभन्दा बढी रकम लिएको तथा सेयर स्वामित्व समेत रहेको देखिएको थियो।

ओसीसीआरपीले आफ्नो अध्ययनमा प्राप्त गरेका डकुमेन्टहरुका आधारमा उनले कम्तीमा पनि ६ वटा टेलिकम सम्बद्ध कम्पनीहरुसँग समान प्रकृतिको डिल गरेको समेत पत्ता लगाएको थियो। 

उनले ती कम्पनीहरुलाई उज्वेकिस्तानमा संचालनको अनुमतिपत्र दिनका लागि सघाउने तर त्यसका लागि उनले माग गरेको रकम पाउनुपर्ने सर्त राखेकी थिइन्। जसले उनले माग गरे अनुसारको रकम दियो ती कम्पनीलाई उनले अनुमतिपत्र दिलाइन् तर जसले दिएनन् उनीहरुलाई अनुमतिपत्र दिइएन। अनुमतिपत्र नपाउनेमा तीन अमेरिकी कम्पनीहरु पनि थिए।

गुलनार लामो समयदेखि नियमित रुपमा समाचार बनिरहेकी छिन्। एक समय त उनलाई आफ्नो बुवाको उत्तराधिकारीका रुपमा पनि हेरिएको थियो। तर जब उनी भ्रष्टाचारका मुद्दामा एकपछि अर्को तानिदै गइन्। उनीप्रति मानिसको दृष्टिकोण नै बदलियो।

अपराधमा संलग्नता पुष्टि भएपछि उज्वेकिस्तानमै उनलाई घरमा नजरबन्द बनाइयो। संगठित अपराधबाट उनले राज्यकोषको ५३ मिलियन डलर राशि लुटेको अभियोग लाग्यो। त्यो सँगै जालसाजी, धोखाधडी, ब्ल्याकमेल, विभिन्न प्रलोभनबाट उज्वेकिस्तान एयरवेज, कोकाकोला कम्पनी, रिफाइनरी तथा अन्य विभिन्न सरकारी कम्पनीहरुको समेत रकम हिनामिना गरेको आरोप लागेपछि उनी भ्रष्ट महिलाको रुपमा चर्चा कमाइन्।

सरकारले उनको व्यापार व्यवसाय बन्द गरिदियो। उनका केही प्रोक्सी कम्पनी बन्द भए तथा मतियारहरु पनि पक्राउ परे।

अमेरिकामा पढेकी गुलनार एकसमय अन्तर्राष्ट्रिय सेलिब्रेटी नै थिइन्। उनलाई सफल उद्यमी मानिन्थ्यो। पप गायिका, फेसन डिजाइनर, विभिन्न परिचय थियो उनको। तर यी सबैभन्दा फरक उनको गुण थियो राजनीतिक भ्रष्टाचार।

उनले आफ्नो व्यक्तित्व र बाबुको शक्तिलाई प्रयोग गर्दै भ्रष्टाचार गर्नका लागि अरुलाई प्रभावित गर्दै गइन्। राष्ट्रपतिकी छोरीका रुपमा उनले जे चाह्यो त्यो लिन सक्ने खुबी बनाइन् र प्रभाव पार्दै ठूला ठूला रकम हासिल गर्ने तथा कम्पनीको सेयर हत्याउने सम्मका काममा संलग्न भइन्।

उनले रकम लिएको प्रकृति हेर्दा ‘ब्ल्याकमेलर’ को जस्तो रहेको समेत अनुसन्धानले देखाएको छ। उनले एक पटक मात्र नभइ बारम्बार कम्पनीहरुसँग पैसा असुल्ने, कम्पनीहरुलाई नयाँ अनुमतिपत्र चाहिनासाथ रकम डिमान्ड गर्ने र पटक पटक रकम असुल्ने गरेको पाइएको थियो। उनले ती कम्पनीको सेयर हिस्सा समेत माग्ने गरेको भेटिएको थियो।

विकिलिक्सले सार्वजनिक गरेको एक डकुमेन्टमा गुलनारको छवि ‘उज्वेकिस्तानकी सबैभन्दा धेरै घृणा गरिएकी व्यक्ति’को रूपमा उल्लेख छ।