काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिका विभिन्न आयामहरुबारे आज राजधानीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभागमा अध्ययनरत एमफिल पीएचडी २०२२ ब्याजका विद्यार्थीको आयोजना अन्तर्क्रिया कार्यक्रम भएको हो।
अन्तर्क्रियामा ‘रिडिङ आइआर’ मा त्रिविका उप प्राध्यापक डा लीला न्याइच्याई , ‘र्याइटिङ आइआर’ मा त्रिविका उप प्राध्यापक गौरव भट्टराई, ‘रिफ्लेक्टिङ आइआर’ मा प्राध्यापक डा शम्भुराम सिम्खडा र ‘रिपोर्टिङ आइआर’ मा पत्रकार अनिल गिरीले आआफ्नो धारणा राखेका थिए। कार्यक्रममा विभागमा स्नातकोत्तर अध्ययरत विद्यार्थीको पनि उपस्थिति थियो।
पहिलो संविधानसभा सदस्यसमेत रहेकी न्याइच्याईले अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनका क्रममा ‘स्माट रिडिङ’ कसरी गर्ने भन्नेबारेमा आफ्नो विचार राखेकी थिइन्। जर्नल आर्टिकलहरु पढ्दा कसरी सफ्टवेयरको प्रयोग गर्न सकिन्छ भन्नेबारे उनले टिप्स दिएकी थिइन्। चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेकी उनले चीनले ‘पब्लिक डिप्लोमेसी’ भन्दा ‘पिपल टु पिपल रिलेसन’लाई प्राथमिकतामा राखेको बताइन्। प्रोपागान्डालाई हाम्रोमा नकारात्मक रुपमा लिने गरेको तर चीनमा प्रोपागान्डालाई आफ्नो कुरा धेरैमा पुर्याउने माध्यमका रुपमा लग्ने गरिएको उनले बताइन्।
यस्तै, गौरव भट्टराईले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिबारे लेख्ने तरिकाबारे राय राखे। अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभागमा अध्यापन गराउँदै आएका उनले ‘नन वेस्टर्न आइआर’ को औचित्य, एआइको प्रयोग गरि लेख्न तरिका इत्यादिका बारेमा धारणा राखेका थिए।
अन्तर्क्रियामा पूर्व कुटनीतिज्ञसमेत रहेका सिम्खडाले सार्क असफल हुनुको कारण भारत पाकिस्तानबीचको सम्बन्ध बिग्रिनुमात्रै कारण नरहेको बताए। उनले सार्कको संस्थागत संरचनामै समस्या रहेको बताए। संयुक्त राष्ट्रसंघको स्थापनापछि पनि क्षेत्रीय सहकार्य र सहयोगको आवश्यकता महसुस गरेर सार्क निर्माण भएको भन्दै उनले युरोपियन युनियन (ईयु)को संरचनाबाट प्रभावित भएर बनेको सार्कको संरचनामै समस्या रहेको उनले बताए।
ईयुको अध्यक्षले राष्ट्र प्रमुखकै हैसियत पाउँदा सार्कको महासचिवलाई कमजोर बनाइँदा त्यस्तो संस्था सफल हुन नसकेको उनको धारणा थियो। सार्कलाई सफल बनाउन महासचिवलाई शक्तिशाली बनाउनुपर्ने, राष्ट्र केन्द्रित व्यवस्थालाई घटाउने, विवाद समाधानका लागि छुट्टै संचरना पनि बनाउनुपर्ने उनले बताए। उनले चीन र भारतसँग नेपालको सम्बन्ध र अन्य शक्ति राष्ट्रको नेपालमा बढ्दो प्रभावबारे प्रकाश पारेका थिए।
अनिल गिरीले नेपालमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिबारे पत्रकारिता गर्ने पत्रकारको संख्या निकै कम रहेको बताए। पत्रकारिता पनि परराष्ट्र मन्त्रालयमा केन्द्रित भएको भन्दै उनले पत्रकारिता परराष्ट्र नीतिमा समेत केन्द्रित हुनुपर्ने उनको धारणा थियो।
कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्रकी डिन कुशम शाक्यले गरेकी थिइन्। उनले त्यस क्रममा नेपालमा भारत र चीनको मात्रै नभइ अन्य देशबारे नेपालको सम्बन्ध कस्तो छ भन्नेबारेमा अध्ययन हुनुपर्ने बताइन्। कार्यक्रमको अध्यक्षता विभागका कोअर्डिनेटर कृष्ण आचार्यले गरेका थिए। उनले नेपालमा अर्थिक कूटनीतिबारे थप अध्ययन हुनुपर्ने बताएका थिए।