काठमाडौं। चार दिनभित्र प्रहरीले १० किलो सुन बरामद गरेको छ। अवैधरुपमा नेपाल भित्र्याइएको सुन प्रहरीले विभिन्न जिल्लाबाट बरामद गरेको हो। सुनसँगै प्रहरीले ३० वर्षीय एक फिलिपिन्सको महिला तथा ६ जना नेपालीलाई पक्राउ गरेको छ।
चार दिनको अवधिमा स्थलमार्ग र हवाइमार्ग प्रयोग गरेर नेपाल सुन भित्र्याएको देखिएको छ। शुक्रबार साँझ फ्लाइ दुबईबाट काठमाडौं उत्रिएकी एक महिलाको साथमा २ किलो ७२० ग्राम सुन बरामद भएको हो। उनले लगाएको भित्री वस्त्रबाट सुन बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
उनले सुन ल्याएर काठमाडौंमा कसलाई बुझाउँथिन भन्ने खुलेको छैन। विदेशबाट सुन ल्याएर काठमाडौंमा भएको अर्को समूहलाई सुन बुझाउने ट्रेन्ड देखिन्छ। यसरी विदेशबाट सुन नेपाल ल्याउन तस्कर समूहले भरियाको रूपमा स्वदेशी र विदेशी नागरिकलाई प्रयोग गरेका हुन्छ।
शुक्रबार समातिएकी फिलिपिन्सकी महिला पनि भरिया मात्र हुन सक्ने अनुमान गरिएको छ।
यस्तै शनिबार दिउँसो रसुवाको बेत्रावतीबाट एक किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो। मोटरसाइकलमा सुन ल्याइरहेको अवस्थामा ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
त्यस्तै शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय दोलखाले तीन किलो सुन बरामद गरेको थियो। दोलखाको टोलीले घरभित्र लुकाइ राखेको अवस्थामा सुन बरामद गरेको हो। बुधबार राति मात्र दोलखा प्रहरीले चार किलो सुनसहित पाँच जनालाई पक्राउ गरेको पक्राउ परेका मानिसको कनेक्सन खोज्दै जाँदा सोही समूहबाट थप लुकाइ राखेको तीन किलो सुन बरामद गरेको हो।
किलो सुन प्रहरीले बुधबार बरामद गरेको थियो। बिहीबार बिगु गाउँपालिका १ का २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीय सुनमाला तामाङलाई प्रहरीले सार्वजनिक गरेको थियो।
केशर, पेम्बा र माधव सुन बरामद गरिएको स्थान वरपरबाट बुधबार पक्राउ परेकामा नुर्वु र सुनमालालाई बिहीबार भीमेश्वर नगरपालिका ६ स्थित शुभकामना होटेलबाट गिरफ्तार गरिएको हो।
विशेष सूचनाका आधारमा प्रहरीले केशरको कोठा तलासी गर्ने क्रममा सुन बरामद गरेको थियो। उनीहरूले चीनबाट दोलखा हुँदै काठमाडौंमा सुन ल्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
सुन तस्करीको आरोपमा प्रहरीले शुक्रबार १९ वर्षीय राज तामाङलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा राजलाई काठमाडौंको बालाजु क्षेत्रबाट पक्राउ गरेको हो।
साउन २ गते हङकङबाट आएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेर अहिले मुद्दा जिल्ला अदालतमा विचाराधीन छ। अदालतमा थुनछेक बहस चलिरहेको छ।
ब्युरोको अनुसन्धानले हङकङबाट नेपालमा ११ महिनाभित्रमा मात्र ३६२ किलो सुन भित्रिएको देखाएको छ। बुधबार र बिहीबार दोलखामा बरामद भएको सुन पनि चिनियाँ तस्करले नै ल्याएको हुनसक्ने सम्भावनामा ब्युरोको टोलीले अनुसन्धान थालेको छ।
‘६१ किलोको समूहले नै दोलखाबाट पनि सुन ल्याएको हो कि भन्ने हाम्रो अनुमान हो,’ एक प्रहरीले भने।
विदेशबाट नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करी हुने गरेको छ। चीनको सीमा जोडिएका नाकाको प्रयोग गरेर सुन तस्करी हुने गरेको छ। रसुवा, दोलखा, सिन्धुपाल्चोकका नाकाहरू सुन तस्करीमा प्रयोग हुने गरेको देखिन्छ। विमानस्थलमा कडाइ गर्न थालेपछि तस्करहरूले रुट परिवर्तन गरेर सुन तस्करी गर्ने गरेका छन्।
भदौमा रसुवा नाकाबाट ल्याइएको दुई किलो सुन प्रहरीले बरामद गरेको थियो।