काठमाडौं। बजारमा केही महिनादेखि स्याउभन्दा ठुला दाना अम्बा देख्नुभएको छ? कहाँबाट हाम्रो बजारमा आइपुगेको हाेला भन्ने पनि लाग्दो हाे। हिमाल, पहाड र तराई, हावापानी मिल्दा जहाँसुकै सजिलै फलाउन सकिन्छ अम्बा (बेलौती) । नेपालमा भने व्यवसायिक उत्पादन हुन नसकेको यो फलको आयात विस्तारै उच्च हुँदैछ।
चालु आर्थिक वर्षको दुई महिनामा भारतसँगै विभिन्न देशहरुबाट नेपालमा ठूलो परिमाणमा अम्बक आयात गरिएको छ।
नेपालमा व्यवसायिक उत्पादन नहुँदा भारत, चीन तथा थाइल्याण्डसम्मबाट भित्रिएको हो।
साउन र भदौ महिना नेपालमा अम्बक उत्पादनको सिजन मानिन्छ। तर उपभोक्ताको मागअनुसार स्वदेशमा उत्पादन नहुँदा भारत, चीन तथा थाइल्याण्डबाट निर्वाधरुपमा अम्बक आयात गरिएको हो।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दुई महिना २८ करोड ९९ लाख २० हजार रुपैयाँ बराबरको ५९ लाख ८४ हजार १०९ किलो अम्बक आयात गरिएको छ। भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार ठूलो खालको अम्बा नेपालमा आयात भएको हो।
‘अम्बक तथा आँपको शीर्षक भए पनि अहिले आँपको सिजन नभएकाले सो परिणाम अम्बकको हो। आँप भए पनि निकै न्यून छ। थाइल्यान्ड तथा भारतबाट ठूलो खालको अम्बा आयात भएको हो,’ खड्काले भने।
उक्त परिमाणमध्ये भारतबाट सबैभन्दा धेरै अम्बकको आयात भएको छ। साउन तथा भदौ महिनामा भारतबाट २८ करोड १० लाख ६६ हजार बराबरको ५८ लाख १३ हजार ६९० किलो अम्बा आयात भएको हो। यस्तै चीनबाट ८६ लाख १८ हजार रुपैयाँ बराबरको १ लाख ६९ हजार ८९४ किलो आयात भएको हो। साथै थाइल्याण्डबाट पनि यस अवधिमा २ लाख ३६ हजार रुपैयाँ बराबरको ५२५ किलो अम्बक आयात भएको हो।
गत वर्ष साउन तथा भदौ महिनामा ४८ करोड ८० लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख १७ हजार ११८ किलो अम्बक आयात भएको थियो। उक्त परिमाणमध्ये भारतबाट ४२ करोड ७८ लाख ४० हजार रुपैयाँ बराबरको ८३ लाख १६ हजार ७१८ किलो आयात भएको थियो।
थाइल्याण्डबाट १ लाख २९ हजार रुपैयाँ बराबरको ३०० किलो र युगाण्डाबाट ५६ हजार रुपैयाँ बराबरको १०० किलो आयात भएको थियो।
नेपाली किसानले अम्बकको व्यवसायिक उत्पादनमा चासो नदिँदा सिजनकै समयमा पनि विदेशबाट आयात हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयकी प्रवक्ता सनम शिवाकोटीका अनुसार अम्बकको व्यवसायिक उत्पादनका लागि न सरकारी छुट्टै योजना छ न त किसानहरुले नै चासो दिएका छन्। धेरै किसानलाई यसको व्यवसायिक खेतीबाट फाइदा हुन्छ भन्ने नै थाहा भइसकेको छैन।
‘विभिन्न प्रकारका फलफूलमध्ये हामीकहाँ अम्बा खेतीको व्यवसायिक उत्पादन निकै कम छ। उत्पादन नै खासै छैन भन्दा हुन्छ,’ उनले भनिन्, ‘नेपाली उत्पादन स्थानीय बजारमै खपत हुन्छ। हाम्रा उत्पादन धेरै समय नरहने, छिटै बिग्रिने खालको भएकाले पनि बजारमा बाहिरबाट आयात भएर अम्बा आएको हो।’
बाहिरबाट आयात हुने अम्बा आकारका हिसाबमा ठूलो हुने गरेका छन्। यसले पनि आयातितमा नेपाली उपभोक्ताको डिमान्ड बढ्दो देखिएको उनले बताइन।
नेपालमा अम्बा उत्पादन नहुने होइन। उनका अनुसार नेपालमा ३ हजार ५ सय २४ हेक्टर जमिनमा अम्बा उत्पादन हुने गरेको छ। उक्त जमिनमा बर्सेनि २८ हजार मेट्रिक टन अम्बा उत्पादन हुन्छ।
कृषि मन्त्रालयका अनुसार नेपालमा पहिलादेखि नै लगाइरहेको लोकल अम्बा मात्र उत्पादन हुने गरेको छ। मन्त्रालयले नेपालमा अधिक आयात हुने स्याउ, ड्रागन फ्रुट, आँप लगायतका फलफूलहरुलाई मात्र विशेष प्राथमिकतामा राखेको छ। अम्बाको उत्पादनलाई कुनै कार्यक्रममा समेटेको छैन। यसले पनि किसानमा चासो नबढेको हुनसक्ने उनको भनाइ छ।
‘पछिल्लो समयको तथ्यांक हेर्दा नेपालमा उत्पादन नहुने ठूलो खालको अम्बा थाइल्यान्ड, भारत लगायतका देशहरुबाट आयात भएको देखिन्छ। जुन हाम्रो यहाँ उत्पादन नै हुँदैन। अहिले त्यो खालको अम्बा हामी पनि फलाउन सक्छौं की भनेर किसानले चासो लिन सुरु भएको छ,’ प्रवक्ता शिवाकोटीले भनिन,’पहिला ठूलो खालको अब्बा थाइल्यान्डबाट आउने हुनाले सुपर मार्केटतिर मात्र देखिन्थ्यो। माग बढेपछि अहिले जताततै छ। ठूला जातका अम्बाहरु जुन हिसाबले बजारमा माग भइरहेको छ त्यस्ता अम्बाहरुको उत्पादनका कार्यक्रमहरु तर्जुमा गर्नुपर्ने देखिएको छ।’
किसानबाट पनि कार्यक्रम माग भएर आएमा फलफूल बालीका कार्यक्रममा अम्बालाई समेट्न मन्त्रालयलाई सजिलो हुने उनले बताइन।
मन्त्रालयमा अनुसार मुलुकका सबै प्रदेशहरुमा अम्बा उत्पादन भए पनि धेरै उत्पादन कोशी प्रदेशमा हुने गरेको छ। यस्तै लुम्बनी र सुदूरपश्चिम प्रदेशमा पनि अम्बाको निकै उत्पादन हुने गरेको मन्त्रालयले जनाएको छ।