काठमाडौं। संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किएका छन्। गत भदौ ३० मा अमेरिका उडेका दाहाल असोज ५ गते त्यतैबाट चीन पुगेका थिए।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरे।
चीनको साताव्यापी भ्रमण गरेको प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको टोली छन्दु पुगेको थियो। त्यहाँबाट काठमाडौं फर्किएको हो। दाहालको भ्रमणले नेपाल-चीन व्यापारिक साझेदारी बढ्ने अपेक्षा उद्योग वाणिज्य महासंघले गरेको छ।