BIZMANDU
www.bizmandu.com

वाइडबडी र न्यारोबडी ग्राउन्डेड हुँदा ५ उडान प्रभावित, एकै दिन करोडौं रुपैयाँ गुमाउँदै एनएसी

२०८० असोज १३

वाइडबडी र न्यारोबडी ग्राउन्डेड हुँदा ५ उडान प्रभावित, एकै दिन करोडौं रुपैयाँ गुमाउँदै एनएसी
Tribhuvan International Airport, plane, airlines photos by Prabin Ranabhat

काठमाडौं। नेपाल वायुसेवा निगमका २ वटा जहाजमा प्राविधिक समस्या आउदा शुक्रबार रातिदेखिको उडान प्रभावित भएको छ।

Tata
GBIME
NLIC

निगमको एउटा वाइडबडी ‘९एन-एएलजेड’ र एउटा न्यारोबडी ‘९एन-एकेडब्लु’ कल साइनको जहाजमा समस्या आएपछि आधा दर्जन उडान प्रभावित भएको एक कर्मचारीले बताए।

‘वाइडबडी जहाजमा लगेज बोक्ने ‘कार्ट’ ठोकिएर ढोकाको भाग कुच्चिँदा मर्मत गर्नुपर्ने भएको छ। यता न्यारोबडी जहाजको रिभर्सल गियरमा समस्या आएपछि ग्राउन्डेड गराइएको हो,’ उनले भने, ‘व्यवस्थापन पदाधिकारी धुलिखेल गएका छन्। वाइडबडी आज साँझ रिलिज हुने जानकारी आएको छ, न्यारोबडीको मर्मत टुंगो छैन।’

वाइडबडीमार्फत हुन नसकेको शुक्रबार रातिको उडान शनिबार बिहान अर्को वाइडबडीमार्फत गर्न लागेको उनले जानकारी दिए। उनका अनुसार शनिबार बिहानको दिल्ली, हङकङ, बेङ्‍ग्लोर, दमामतर्फ न्यारोबडीमार्फत हुने उडान भने प्रभावित हुने भएका छन्।

निगमले शुक्रबार मात्र ३ महिनापछि एउटा जहाज रिलिज गरेको थियो। उही दिन पुनः २ वटा जहाजमा प्राविधिक समस्या आएको हो। कुल ४ वटा जहाजमध्ये २ वटा जहाजमा समस्या आउँदा निगमले एकै दिन करोडौं रुपैयाँ गुमाउने भएको छ।