काठमाडौं। दसैं आउन एक महिनाअघिबाट न्युरोडको रञ्जना गल्ली र महाबौद्धका होलसेल पसलहरुमा बेग्लै चहलपहल हुन्थ्यो। होलसेलरलाई चाडपर्वलक्षित सामान आयात गर्ने चटारो त्यतिकै।
पसलमा उपत्यका तथा मोफसलका खुद्रा व्यापारीको भिडले होलसेल बिक्रेतालाई एकछिन पनि फुर्सद मिल्दैन थियो। तर यसपटक भने दसैं सुरु हुन १५ दिन बाँकी हुँदा समेत होलसेल बजारमा माहोल जमेको छैन।
रञ्जना गल्लीमा १३ वर्षदेखि कपडा पसल सञ्चालन गरिरहेका होलसेल व्यापारी अभय रौनियार चीनको गोन्जाउ सहरबाट नयाँ सामान मगाउँछन्। यसपटक दसैंका लागि भनेर भदौमै कपडा झिकाएका थिए उनले। तर खुद्रा व्यापारीबाट अरु वर्षजस्तो माग नहुँदा निराश बनेका छन् श्री लक्ष्मी मा स्टोर्सका सञ्चालक अभय।
‘अहिले खुद्रा व्यापारीहरुबाट माग निकै कम छ। उहाँहरु पनि व्यापार हुन्छ कि हुँदैन भनेर सामान किन्न डराउनु हुँदैछ। पहिले यो सिजनमा ४ लाखसम्मको व्यापार हुन्थ्यो। अहिले ५० हजार कमाउन पनि गाह्रो भइरहेको छ,’ उनले भने।
यो सिजनमा रञ्जना गल्लीमा कपडा किन्नेको भिड लाग्ने गरेकोमा यस वर्ष त्यस्तो दृश्य देखिनै गाह्रो भएको व्यापारीहरु बताउँछन्। बजारमा मन्दीको प्रभावले पर्वमा किनमेल गर्नेको संख्या घट्दै गएको यसले देखाउँछ।
सोही क्षेत्रमा सञ्चालित रञ्जना ट्रेड सेन्टरको होलसेल मार्केटमा पनि आजकल सुनसान छ। सामान किन्नेको भिड नहुँदा पसलका कामदारहरु फर्सदिला देखिन्छन्।
कोही मोबाइल चलाएरै दिन काट्छन् त कोही ग्राहक कुर्दै। यसपटकको दसैंमा होलसेल पसलहरुमा व्यापार निकै घटेको सुनाउँछन् जीजी सप्लायर्सका विमल काफ्ले।
उनी भन्छन्, ‘अहिले होलसेल मार्केट निकै डाउन छ। व्यापार नहुँदा मोबाइल चलाएर समय कटाउनु परेको छ। पहिले त यतिखेर आधा व्यापार भइसक्थ्यो। पहिले दैनिक ५/७ लाख बिक्री हुन्थ्यो। अहिले बल्लतल्ल ५० हजारको मात्रै सामान गइरहेको छ। उपत्यकाबाहिरका व्यापारीहरु त आउनु नै भएको छैन।’
अरु होलसेल व्यवसायीहरुको अवस्था पनि खासै फरक छैन। गतवर्षको तुलनामा पसलबाट सामानहरु निकै कम बिक्री भइरहेको बताउँछन् सलवार कुर्ता हाउसका सञ्चालक रविकृष्ण श्रेष्ठ।
‘यो काम गर्न थालेको यतिका वर्ष भयो। दसैंको बेला यस्तो सुनसान त कहिले भएको थिएन। पहिले १० लाख हुने ठाउँमा १ लाखको व्यापार भइरहेको छ,’ ३२ वर्षदेखि यही व्यवसायीमा सक्रिय श्रेष्ठले भने, ‘एक त अहिले सबैतिर आर्थिक मन्दीले गाह्रो बनाएको छ। त्यसमाथी होलसेल पसलहरु बढ्दा पनि व्यापार कम भएको जस्तो लाग्छ।’
सोही पसलमा भेटिएकी खुद्रा व्यापारी बिमला गिरीले पनि सामान किन्ने ग्राहक घटेको बताइन्। जसकारण आफूले गत वर्षजस्तो सामानहरु नलगेको उनको भनाइ छ।
उनी भन्छिन्, ‘अरुवर्ष दसैंको सिजनमा ५/६ पटक सामान लिन आउथेँ। योपटक भने डरै डरले बल्ल सामान लिन आएकी छु।’
केशव भुसाल रञ्जना ट्रेड सेन्टरकै पसलबाट बच्चाका लुगाहरु बेच्छन्। २० वर्षदेखि कपडा पसल सञ्चालन गर्दै आएका उनी यस वर्षको व्यापार देखेर निराश छन्।
‘अहिलेजस्तो कम व्यापार कहिल्यै भएको थिएन। पहिले दसैंको सिजनमा दैनिक दुई/तीन लाखसम्म कमाइ हुन्थ्यो। अहिले त १० हजार कमाउनु पनि ठूलो भइरहेको छ,’ भुसालले भने।
दसैंको सिजनमा पहिले रञ्जना ट्रेड सेन्टरस्थित ‘फेशन भाइब्स्’मा पनि खुद्रा व्यापारीहरुको घुइँचो लाग्थ्यो। तर अहिले अवस्था फेरिएको छ।
सो पसलमा काम गर्दै आएका सुमन श्रेष्ठले भने, ‘पहिले यतिबेला खुट्टा टेक्ने ठाउँ हुँदैन थियो। तर अहिले मार्केट निकै स्लो छ। रिटेलबाट खासै डिमान्ड छैन। एक त लुगा लगाउने जति युवाहरु विदेश गइसके। जसले पनि हाम्रो व्यापार कम भएको हो।’
पछिल्लो समय नेपालमा हरेक क्षेत्रको व्यापार सुस्ताएको छ। आर्थिक मन्दीले गर्दा उपभोक्ताको क्रयशक्तिमा ह्रास आएको छ। जसकारण उनीहरु रहरले सामानहरु खासै किन्न खोज्दैनन्। जुन अवस्था यसअघिको तीज बजारले पनि देखाएको थियो।
पहिलेका वर्ष अभय रौनियार दसैंको बेला आफैं चीनको गोन्जाउ सहर पुग्थे। तर यसवर्ष भने बजारको अवस्था हेरेर उनलाई चीन जान मन लागेन।
चीनमै बढेको सामानको मूल्य र चर्को भन्सार शुल्कले उनी तर्सिए। जसकारण यसपटक कम सामान आयात गरेको उनी सुनाउँछन्।
‘घट्दो व्यापार देखेर अहिले त चीन जान पनि छोडिसकेँ। बजारमा पनि खासै सामानको माग छैन। जसले सामानको आयात पनि ८० प्रतिशतले घटेको छ। त्यो पनि बिक्री हुन सकेको छैन। एकसातामा केही चहलपहल बढ्ला कि भन्ने आश छ,’ उनले भने।
होलसेलमा व्यापार नभएपछि आफूहरु खुद्रामा समेत बेच्न बाध्य भएको समेत उनले सुनाए।
महाबौद्धस्थित रोयल कलेक्सनले झन दसैंका लागि नयाँ सामान ल्याएकै छैन। होलसेलर जुवेद सेखले पछिल्लो बजारको अवस्था हेरेर रिस्क लिन चाहेनन्। किनकी उनको पसलमा गतवर्षकै साडी, कुर्ता र लेहंगाहरु स्टकमा छ।
‘अघिल्लो वर्ष १०/१५ लाखको सामान ल्याएका थियौँ। तर मन्दीले त्यो सामान बिक्री नहुँदा दसैंको लागि सामान थपेकै छैन। घाटा भइरहेको बेला नयाँ सामान थपेर के गर्नु!’
भाडा तिर्न समेत मुस्किल भएपछि रोयल कलेक्सनले अहिले खुद्राका साथै केही सामान सेलमा समेत राखेको छ।
होलसेल व्यापारी केशव भुसालले पनि गतवर्षको तुलनामा ८५ प्रतिशतले कम सामान झारेको बताए। सो सामान पनि स्टक हुँदा अर्कोवर्ष घाटामा बेच्न बाध्य हुनुपर्ने उनी सुनाउँछन्।
दसैंको सिजनमा अरुवर्ष बजारमा सामान किन्ने र बेच्ने मात्रै होइनन्, सामान बोक्ने भरिया पनि उत्तिकै व्यस्त हुन्थे। तर यसवर्ष भने व्यापार नहुँदा भरियाहरु पनि फुर्सदिला भएका छन्।
६ वर्षदेखि महाबौद्ध आसपास सामान बोक्दै आएका तुला बुढाथोकीले कामको मात्रा निकै घटेको बताए।
उनले भने, ‘अरुवर्ष योबेला कामको प्रेसर निकै हुन्थ्यो। साथीहरुसँग मिलेर आठ/नौं गाडी सामान पुर्याइन्थ्यो। अहिले साहुको नै व्यापार छैन। जसले एक/दुई गाडी मात्रै लोड भइरहेको छ।’
कमाएको पैसाले कोठाभाडा समेत तिर्न गाह्रो भइरहेको उनले सुनाए। काम नहुँदा कतिपयले यो काम नै छोडेर गाउँ गएको उनले बताए।
अहिले धेरैजसो व्यापारीहरुले ई-कर्मस साइटदेखि टिकटकमार्फत आफ्नो सामानको प्रचार गर्छन्। ग्राहकहरु पनि आफूलाई मनपर्ने सामानहरु मोबाइलबाटै अर्डर गर्छन्। यसरी अनलाइन पसलहरुको व्यापार बढ्दा पनि आफ्नो कमाइ घटेको विपना श्रेष्ठ सुनाउँछिन्।
‘अनलाइनले खुद्रा पसलको व्यापार निकै घटेको छ। जसकारण उहाँहरु सामान किन्नै आउनुहुन्न। अहिले अनलाइनमा जुन कपडा भाइरल भयो। त्यसको मात्रै माग गरिन्छ। यसरी एउटा मात्रै आइटम बिक्री हुँदा अरु सामान स्टक भइरहेको छ,’ उनले भनिन्।
जुवेद सेखले पनि अनलाइन र टिकटक व्यापारले पनि आफूहरुलाई असर पारिरहेको बताए। उनी भन्छन्, ‘टिकटकले पनि अहिले धेरै बिगारेको छ। टिकटक र अनलाइन पसलहरु धेरै हुँदा ग्राहकहरु पनि बाँडिनुभयो। जसले पनि बिक्री कम छ।’