BIZMANDU
www.bizmandu.com

सेयर बजार थला पार्न बोर्ड नै उद्यत, बियरिस चक्रमा आइपीओ र हकप्रदको बाढी

२०८० असोज १२

सेयर बजार थला पार्न बोर्ड नै उद्यत, बियरिस चक्रमा आइपीओ र हकप्रदको बाढी
सेयर बजार थला पार्न बोर्ड नै उद्यत, बियरिस चक्रमा आइपीओ र हकप्रदको बाढी


काठमाडौं। पूर्वअर्थमन्त्री तथा अर्थविद् डा. युवराज खतिवडाले धितोपत्र बोर्डले अनियन्त्रित ढंगमा आइपीओ स्वीकृत गरेको भन्दै मंगलबार सार्वजनिक मञ्चबाटै असन्तुष्टि पोखे। एमाले निकट उद्योगी व्यापारीले गरेको कार्यक्रममा उनले बोर्डमाथि आइपीओको बाढी ल्याउन प्रोत्साहन गरेको आरोप लगाए।

Tata
GBIME
NLIC

‘किन यति धेरै फल्डेड गर्नुहुन्छ आइपीओको? किन यति धेरै गरिरहनु भएको छ? जब बजार क्र्यासतिर जाँदैछ भने प्रोटेक्ट गर्नु पर्‍यो नि !,’ उनले भने।

बजारमा माग निकै कमजोर भइरेहका बेला एकपछि अर्को गरी आइपीओ निष्कासनको अनुमति दिइनुलाई खतिवडाले अनुचित भनेका छन्। सेयर बजारलाई ‘स्टेबलाइज’ गर्ने कुरामा राष्ट्र बैंकभन्दा बोर्डको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले बोर्डलाई आफ्ना गतिविधि समीक्षा गर्न सुझाव दिए।

खतिवडाको असन्तुष्टि अस्वाभाविक होइन। बोर्डले जस्तासुकै कम्पनीलाई पनि आँखा चिम्लेर आइपीओ निष्कासनको अनुमति दिँदै आएको छ।

बोर्डले गत आर्थिक वर्ष मात्रै ४२ कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दियो। जुन पछिल्लो दुई दशकको ट्रयाक रेकर्ड हेर्दा असाध्यै धेरै हो। बोर्डको अनुमतिपछि बजारमा २२ अर्बको आइपीओ थपियो। गत २ आर्थिक वर्षमा ७० कम्पनीको २९ अर्ब ५७ करोडको आइपीओ थपिएको तथ्यांक छ।

बजारको बियरिस चक्रमा यसअघि यसरी आइपीओ निष्कासनमा लचकता अपनाइएको थिएन। बजार निरन्तर ओरालो लागेपछि आइपीओ निष्कासनमा कडाइ गर्ने गरिएको थियो।

बोर्डले त बियरिस बजारमा आइपीओ मात्र होइन हकप्रद सेयर निष्कासनमा पनि उदारता देखाएको छ। उसको उदारताले हकप्रद सेयर जारी गरेर पैसा उठाउने कम्पनी गद्‍गद्‍ भए पनि बजार भने थप थला परेको छ।

गत आर्थिक वर्ष बोर्डले १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न अनुमति दियो। अनुमति पाउने कतिपय कम्पनी यस्ता हुन् जसले एक पैसा पनि कमाउन सकेका छैनन्। प्रतिसेयर आम्दानी ऋणात्मक भएका कम्पनीलाई पनि जथाभावीरूपमा हकप्रद सेयर निष्कासन गर्न दिएर आपूर्ति उल्लेख्य बढाइ बोर्डले बजारलाई उठ्न नदिने भूमिका निर्वाह गरेको हो।

बियरिस बजारमा सेयरको माग घट्छ। बुलिस ट्रेन्डमा रहँदा दैनिक २२ अर्ब रुपैयाँसम्मको कारोबार भएकामा बियरिस ट्रेन्डमा कारोबार रकम १ अर्बभन्दा तलसम्म झर्नुले पनि मागको अवस्था दर्शाउँछ। सेयर बजार दुई वर्षदेखि बियरिस छ। यस्तो बेला बजारमा लगानीकर्ताको मनोबल बढाउन भूमिका निर्वाह गर्नुपर्ने बोर्ड भने आपूर्ति बढाउनमै रमाउन पुगेको छ।

माग घटेका बेला आपूर्ति बढाएपछि मूल्य बढ्ने कुरै भएन। मागको तुलनामा आपूर्ति धेरै भए मूल्य ओरालो लाग्ने अर्थशास्त्रको सामान्य नियम नै हो। बियरिस समयमा दोस्रो बजारमा चल्ने चर्को मोलतोलमा भर्खरै प्रवेश गरेका कम्पनीप्रतिको आकर्षण पनि क्षणिक हुने गर्छ।

त्यही भएर यसअघि बियरिस बजारमा आइपीओ धेरै निष्कासन गरिएको उदाहरण छैन। तर यसपटक थला परेको बजारमा बोर्डले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न प्रोत्साहित गर्‍यो। प्रिमियम मूल्यका कारण सम्बन्धित कम्पनी मालामाल भएपनि अत्यधिक आपूर्तिले लगानीकर्ता भने गुमाएको गुमायै छन्।

‘ओइपीओ र हकप्रदको बाढी बियरिस बजारमा दनदनी बलिरहेको आगोमा घिउ थपेजस्तो भइरहेको छ’, एक विश्‍लेषकले भने। उनको बुझाइ पनि पूर्वअर्थमन्त्री खतिवडाको भन्दा फरक छैन। ‘बोर्ड लगानीकर्ताको मनोबल बढाउने भन्दा बजारबाट पैसा उठाएर रमाउन चाहने कम्पनीका सञ्चालकहरुको पक्षमा उभियो’, उनले भने, ‘जिम्मेवार निकायले त अन्धाधुन्धरुपमा सेयर निष्कासनको अनुमति नै दिंदैन नि।’

ठूलो संख्यामा सेयर किन्ने संस्थागत लगानीकर्ताले बजारमा आपूर्ति बढेर मूल्य बढ्न नसकेपछि आफ्नो सक्रियता घटाएका छन्। ‘बजारमा डिमान्ड र सप्लाइको इक्वेसन साँच्चै नै मिलेको छैन। आइपीओको ओभर सप्लाइ मात्रै होइन, दोस्रो बजारमा जाने प्रचुर सम्भावना भएको रकम हकप्रदले पनि सोसेको छ,’ एक पुराना ब्रोकरले भने, ‘बोर्डले आइपीओ र हकप्रदको अनुमति नै नदिने भनेको होइन। तर किन्ने ग्राहक छन् कि छैनन् त हेर्नुपर्‍यो नि।’

उनका अनुसार कम्पनीको व्यवसायिक सम्भावना सकिन थालेपछि आइपीओ निष्कासन गर्ने र स्वामित्त्व बेचेर निस्किनेहरु बढेका छन्। तर बोर्डले सेयर निष्कासनको अनुमति दिंदा यतातर्फ ध्यानै दिएको छैन।  

पूर्वमर्चेन्ट बैंकर पारसमणि ढकाल पछिल्लो समय अधिक आपूर्तिले बजारमा व्यवधान खडा गरेको बताउँछन्। ‘अहिले बजारमा आपूर्ति अत्यधिक छ। त्यसमा कुनै शंका छैन’, उनले भने, ‘प्राथमिक बजार बन्द गर्न त हुँदैन। तर कडाइ गर्न भने ढिला भइसकेको छ।’ संस्थागत लगानीकर्ताको कमीले अत्यधिक आपूर्तिलाई बजारले थेग्न नसकेको ढकालको भनाइ छ।