काठमाडौं। यँया (इन्द्रजात्रा)को तेस्रो दिन जिवित देवी कुमारीसहित जिवित देव गणेश र भैरवको रथ यात्रा सुरु भएको छ। आज तल्लो टोलमा रथयात्रा गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक महत्वको इन्द्रजात्रा अवलोकन गरेका छन्। राष्ट्रपति पौडेलले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गएर जात्रा अवलोकन गरेका हुन्। उनी जात्रा अवलोकन गर्न जुद्ध सालिकदेखि पैदलै गएका थिए।
यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए। उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि जुद्ध सालिकदेखि पैदलै गएका थिए।
जसका कारण जात्रा अवलोकन गर्न वसन्तपुर पुगेकाहरुले सहज अनुभव गरेका छन्। अघिल्ला वर्ष राष्ट्रपतिको सवारीका नाममा सर्वसाधारणलाई हिंड्न समेत रोक लगाउने गरिएको थियो।
भाद्र शुक्ल द्वादशीका दिन मंगलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको बिहीबार मुख्य दिन हो।
पर्वका अवसरमा काठमाडौं उपत्यकामा बिदा दिइएको थियो।
शुक्रबार माथिल्लो टोलमा रथयात्रा गरिने छ भने असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ।
त्यसदिन बेलुका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार गइ कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन्।