BIZMANDU
www.bizmandu.com

दुई पाङ्ग्रे साधनको बजार घट्दो‚ चाडपर्वका अफर योजनाले व्यापार बढ्ने सम्भावना कति?

२०८० असोज ११

दुई पाङ्ग्रे साधनको बजार घट्दो‚ चाडपर्वका अफर योजनाले व्यापार बढ्ने सम्भावना कति?
दुई पाङ्ग्रे साधनको बजार घट्दो‚ चाडपर्वका अफर योजनाले व्यापार बढ्ने सम्भावना कति?


काठमाडौं। स्कुटर र मोटरसाइकल बिक्रेता कम्पनीहरुले चाडपर्व अफर योजना धमाधम सार्वजनिक गरेर ग्राहक आकर्षित गरिरहेका छन्। आर्थिक मन्दी र धेरैजसो बाइक चढ्ने युवा विदेसिँदा दुई पाङ्ग्रेको व्यापारमा ठूलो गिरावट आएको छ।

Tata
GBIME
NLIC

कुनै समय एउटै ब्रान्डले मासिक ३० हजार युनिटसम्म बिक्री गर्दै आएका बाइकहरुको बिक्री अहिले मासिक ३ हजार युनिट हाराहारीमा बिक्री हुने गरेको व्यवसायी बताउँछन्। त्यसमा पनि बिक्री संख्या अझै घट्दो क्रममा छ।

कोभिडपछिको वर्षमा यसरी दुई पाङ्ग्रे सवारी बिक्रेताहरुले ल्याएका अफरहरुका कारण दैनिक डेढ सयभन्दा बढी संख्यामा बाइक तथा स्कुटरहरु बिक्री गरेका थिए। सामान्य अवस्थाको तुलनामा हाल मोटरसाइकलको बिक्री ७० प्रतिशत कम छ।

आर्थिक वर्ष २०७८/७९  मा २ लाख ८१ हजार ७ सय ७ युनिट इन्टरनल कम्बसन इन्जिन र विद्युतीय गरेर दुई पाङ्ग्रे सवारीसाधन आयात भएको थियो। यस्तै गत आर्थिक वर्ष १ लाख १२ हजार यस्ता युनिट स्कुटर तथा बाइक आयात भएका छन्। जुन अघिल्लो वर्षको तुलना ७० हजार युनिट कम हो। यो लगभग ६० प्रतिशत आयात कम हो।

अघिल्लो वर्षदेखि लगातार घट्दै गएको दुई पाङ्ग्रे साधनको आयात चालु आर्थिक वर्षको दुई महिनामा पनि निरन्तर ओरालो लागेको छ। अघिल्लो आवको पहिलो २ महिनामा ४१ हजार ७ सय १४ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएकोमा यो साउन र भदौमा घटेर २६ हजार ७ सय ३७ युनिट मात्रै आयात भएको छ।

टीभीएसले गत वर्ष ३० हजार युनिट मात्र बिक्री गरेको छ। नेपालमा सबैभन्दा धेरै बाइक बिक्री गर्ने होन्डाले गत वर्ष लगभग ५० हजार युनिट बाइक तथा स्कुटर बिक्री गरेको छ। बजाजले वार्षिक ९० हजार बिक्री लक्ष्य राखेकोमा गत वर्ष ४० हजार युनिट मात्र बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ।

सुजुकीले वार्षिक १० हजार युनिट बाइक तथा स्कुटर बिक्री गर्ने गरेकोमा पछिल्लो समय वार्षिक ४ हजार युनिटभन्दा कम बिक्री भएको छ।

त्यसो त चाडपर्वमा बर्सेनि अफर योजना ल्याइन्छन्। ओह्रालो लागेको कारोबारमा यसपटकको चाडबाड अफरसँगै बिक्रेता कम्पनीहरु धेरै आशावादी देिखएका छन्। अफर योजनाले बिक्री बढाउने बजाज बाइक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर अमित चालिसे बताउँछन्।

‘अफर योजनाहरु बाइकको बिक्रीमा सकारात्मक हुन्छ,’ उनले भने, ‘हामीले ल्याएको अफरले वर्षभरी बिक्रीको धेरै प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ। नेपालमा सामान्य समयमा बाइकहरु किन्ने वर्गको संख्या कम हुँदै गएको छ। त्यसैले पनि विभिन्न अफर ल्याउँदा बिक्री बढ्ने अपेक्षा रहन्छ।’

तर चालिसेको भनाइिवपरीत बजारमा जति नै अफरहरु पस्किँदा पनि बिजनेस घट्दो परिमाणमा छ। तर बिक्रेता कम्पनीहरु ग्राहक रिझाउने आकर्षक अफर ल्याउन पछि परेका छैनन्।

यामाहाका बाइक तथा स्कुटर बिक्री गर्ने एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्री अहिलेको अवस्थामा केही गर्दा पनि बिजनेस बढ्ने अवस्था नरहेको बताउँछन्। ‘हामीले बेलाबेला धेरै अफर र स्किमहरु ल्याइरहेका छौं। त्यही पनि बाइकहरुको बिक्री बढ्ने छाँटकाँट देखिदैन,’ उनले भने, ‘बाइक खरिद गर्नेको जमात नै देश बाहिर छन् कसरी नेपालमा बाइकहरु बिक्री हुन्छन्? अपेक्षा गरे जसरी अफर योजनाहरुले काम गर्न सकेको छैन।’

यो अफर योजना रेगुलर बेसिसमा ल्याउने गरिएकाले यसलाई सामान्य रुपमा हेरिएको उनले बताए। उनका अनुसार अहिले नेपालमा टु ह्‍वीलर्सको बिक्रीमा ७० प्रतिशत गिरावट छ। यसलाई उकास्न आर्थिक रुपमा र बाहिर जाने जमातलाई रोक्ने सके मात्र यस्ता अफर योजनाहरुले काम गर्ने उनको भनाइ छ।

अर्को ब्रान्ड सुजुकीले पनि धेरै अफर ल्याएको छ। आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सका मार्केटिङ हेड समित सिंह यसरी अफरले केही भए पनि आफूहरुलाई राहत दिने बताउँछन्। उनका अनुसार यस्तै सिजन र अफरमा धेरै बिक्री हुने गरेको इतिहास छ।

‘हामीलाई नाडा अटो शोले पनि केही राहत दिएको छ। जसमा अब आउने दसैंतिहार जस्तो चाडवार्डले पनि राहत दिने अपेक्षा गरिएको छ,’ उनले भने, ‘त्यही भएर जहिले पनि चाडबाडका बेला धेरै अफर योजनाहरु ल्याइन्छ।’

फेष्टिभल सिजन भदौ, असोज र कात्तिकमा धेरै बाइक तथा स्कुटरहरु बिक्री हुने गरेको उनी बताउँछन्। यो तीन महिनामा मात्र कुल बिक्रीको ५० प्रतिशत बाइक तथा स्कुटरहरु कारोबार हुने गरेको उनको भनाइ छ। यस्तै ३० प्रतिशत बिक्री भने नयाँ वर्ष र अन्य अफरका बेला बिक्री हुने गरेको छ।

समग्रमा हेर्दा ८० प्रतिशतसम्म बाइक तथा स्कुटरको बिक्री घटेको सिंहले बताए। यस्तै नेपालमा सबैभन्दा धेरै बाइक तथा स्कुटर बिक्री गर्ने बजाज र होन्डाको पनि यस्तै बिक्री घटेको छ। यसले हामी जस्तो ब्रान्डलाई पनि असर गरेको सिंहको भनाइ छ।

सुजुकीले वार्षिक १० हजार युनिट बाइक तथा स्कुटर बिक्री गर्ने गरेकोमा पछिल्लो समय वार्षिक ४ हजार युनिटभन्दा कम बिक्री हुने गरेको उनले बताए।

यस्ता छन् अफर योजनाहरु

होन्डाका बाइक तथा स्कुटर खरिद गर्दा १० लाखसम्मको नगद उपहार जित्न सकिने अफर ‘दसैंमा १० लाख’ योजना चलिरहेको छ। आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाका जुनसुकै बाइकको खरिदमा स्क्र्याचमार्फत १० लाखसम्म जित्न सकिने अफर ल्याएको हो।

कम्पनीका अनुसार होन्डा बाइक खरिद गर्ने हरेक ग्राहकलाई एउटा स्क्र्याच कुपन दिइने छ। सो कुपनमार्फत १० लाखसम्म जित्न सक्ने अवसर प्राप्त भएपछि उनीहरुलाई अर्को स्क्र्याच कार्ड अर्थात ५ वर्षको लागि १२ हजार ५०० बराबरको एएमसी प्याकेज छान्ने विकल्प दिइने छ। यसमा ग्राहकले स्क्र्याच कार्ड छनोट गर्दा पुनः १० हजार रुपैयाँसम्म जित्न सक्नेछन्।

साथै होन्डाको कुनै पनि बिग बाइक खरिद गर्न चाहेको खण्डमा १ लाखसम्म नगद छुट दिइने कम्पनीले जनाएको छ। होन्डाले नाडा अटो शोमा यसको नयाँ मोडलको डीओ १२५ सीसी सार्वजनिक गरेको थियो।

बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजको बाइक खरिदमा दसैं अफर योजना ल्याएको छ। कम्पनीले दसैं अफरमा ‘आमामा २५ गुणा अफर’ ल्याएको हो। कम्पनीले यसलाई अहिलेसम्मकै ठूलो अफर योजना भएको जनाएको छ।

कम्पनीले ल्याएको उक्त अफर योजनामा अब बजाज बाइकको खरिदमा पक्का २५ गुणा नगद उपहार पाइने व्यवस्था गरिएको छ। यो अफर योजना भदौ २४ देखि मंसिर १४ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।

यस्तै सुजुकी बाइक तथा स्कुटर खरिदमा पनि यो दसैंमा ग्राहकहरुले नगद छुटदेखि एक्सचेन्जमा अतिरिक्त मूल्यांकन सम्मका सुविधा पाउने भएका छन्। सुजुकी बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले दसैंलक्षित अफर योजनामा ‘बाडौं खुशी, चढौं सुजुकी’ अफर ल्याएको हो।

उक्त अफर योजना अवधिभर सुजुकीका जुनसुकै बाइक तथा स्कुटर खरिद गर्दा ग्राहकहरुले तत्काल १० हजार नगद छुट पाउने छन्। साथै अर्को अफर योजनामा सुजुकीको नयाँ बाइकसँग सुजुकीकै पुरानो बाइक एक्सचेन्ज गर्दा बजार मूल्यमा १५ हजार अतिरिक्त मूल्यांकन र अन्य ब्रान्डको पुरानो मोटरसाइकल दिएर सुजुकीको नयाँ बाइक एक्सचेन्ज गर्दा १० हजार अतिरिक्त मूल्यांकन मूल्य पाउन सकिने कम्पनीले जनाएको छ।

यो स्किममा ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र एक वर्षको सडक कर नि:शुल्क पाउने कम्पनीले उक्त अफर योजनामा उल्लेख गरेको छ। साथै हरेक १५ दिनमा लक्कि ड्रमार्फत एकजना भाग्यशाली विजेतालाई १० ग्राम सुनको सिक्का उपहार दिने कम्पनीले जनाएको छ

यामाहा बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ’ दसैं अफर योजना ल्याएको छ।

कम्पनीले ल्याएको उक्त स्किम अन्तर्गत स्कुटरको खरिदमा ६ हजारदेखि १ लाखसम्म र बाइकमा ८ हजारदेखि १ लाखसम्म क्यासब्याक पाउन सकिन्छ।

यसैगरी लक्की ड्रमार्फत हरेक दिन यामाहा राइडिङ ज्याकेट, हरेक हप्ता आइफोन-१४ र प्रत्येक महिना एकजना भाग्यशाली विजेताले जापान भ्रमणमा जान पाउनेछन्।

इलेक्ट्रिक बाइक तथा स्कुटर ब्रान्ड सुपर शोकोले पनि दसैं अफर योजना ल्याएको छ। कम्पनीले नगद तथा एक्सचेन्ज सहितको चाडबाड अफर ल्याएको हो। सुपर शोकोको आधिकारिक बिक्रेता डी-लाइफ स्टाइलले दसैं स्कीममा नगद ४० हजार रुपैयाँसम्मको छुट दिइएको जनाएको छ।

कम्पनीका अनुसार उक्त अफर योजनामा ग्राहकले आफूसँग भएका कुनै पनि पुरानो बाइक तथा स्कुटरसँग सुपर शोकोको नयाँ स्कुटर तथा बाइक एक्सचेन्ज गर्न सक्नेछन्। ग्राहकले एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा थप १० हजार रुपैयाँ पाउने छन्।

यस्तै टीभीएसले पनि विभिन्न दशै अफर योजनाहरु संचालन गरिरहेको छ। कम्पनीले ‘टीभीएस हर मोडमा उमङ्ग’ दशै अफर योजना संचालन गरिरहेको छ। यस अफरमा किन्नु अघि एक लाखसम्म, किन्दा खेरी ५ लाखसम्म, हरेक महिना लक्की ड्रमार्फत १०० प्रतिशत क्यासब्याक र बम्पर उपहारमा १० लाख  रुपैयाँसम्म जित्न सकिने छ। साथै एक्सचेन्ज अफर पनि उपलब्ध छन्।