काठमाडौं। सुनको मूल्य निरन्तर ओरालो लागेको छ। तीन दिनमा प्रतितोला २ हजार ६०० रुपैयाँ भाउ घटेको छ। बिहिबार मात्र प्रतितोला १ हजार ४०० रुपैयाँ भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ सोमबार प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ थियो। त्यसयता तीन दिन लगातार घटिरहेको छ। मंगलबार प्रतितोला ४०० र बुधबार ८०० रुपैयाँका दरले भाउ घटेको थियो।
नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा १० किलोबाट २० किलो पर्याउने निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गरेको भोलिपल्ट बिहिबार भाउ तोलामै १ हजार ४ सय रुपैयाँ घटेको हो।
महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँका दरले सुनको कारोबार भइरहेको छ।
यस्तै चाँदी पनि प्रतितोला १५ रुपैयाँले सस्तिएको छ। चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यसो त अन्तर्राष्ट्रिय बजारमा नै सुन र चाँदोको भाउ घटिरहेको छ। बुधबार प्रतिऔंस १ हजार ८९६.४४ डलर रहेको सुनको मूल्य बिहिबार १ हजार ८७६.१२ डलरमा झरेको छ। चाँदी प्रतिऔंस २२.५१ डलरमा कारोबार भइरहेको छ।