BIZMANDU
www.bizmandu.com

वाग्मती प्रदेश सरकारले १३ महिला उद्यमीलाई प्रविधिका लागि बिउ पुँजी दिने‚ व्यावसायिक योजना माग

२०८० असोज ११

वाग्मती प्रदेश सरकारले १३ महिला उद्यमीलाई प्रविधिका लागि बिउ पुँजी दिने‚ व्यावसायिक योजना माग
वाग्मती प्रदेश सरकारले १३ महिला उद्यमीलाई प्रविधिका लागि बिउ पुँजी दिने‚ व्यावसायिक योजना माग


काठमाडौं। वाग्मती प्रदेश सरकारले उद्यम गर्न चाहने महिलालाई आवश्यक प्रविधिका लागि बिउ पुँजी उपलब्ध गराउने भएको छ। चालु आर्थिक वर्षको कार्यक्रमअनुसार प्रदेश भित्रका १३ महिलालाई बिउ पुँजी दिने भएको हो।

GBIME
Tata

सामाजिक विकास मन्त्रालय हेटौंडाले बिहीबार सूचना प्रकाशित गर्दै महिला उद्यमशीलता विकास वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग कार्यक्रम सञ्‍चालन कार्यविधि २०७७ अनुसार इच्छुक महिला उद्यमीहरुसँग निवेदन माग गरेको छ। व्यावसायिक कार्य योजनासहित निवेदन दिने म्याद १५ दिनको छ।

महिला उद्यमी र महिला उद्यमी समूहले कार्यविधिको अनुसूची १ को ढाँचा बमोजिमको निवेदन साथ उद्योग- व्यवसाय दर्ता वा नवीकरणको प्रमाणपत्र‚ स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्र‚ कर दाखिला गरेको प्रमाण वा कर चुक्ताको प्रमाणपत्र‚ आवश्यकताअनुसार व्यावसायिक इजाजतपत्र‚ व्यावसायिक योजना र माग गरेको प्रविधि र सो प्रविधिको क्षमता उल्लिखित विवरण स‌लग्‍न हुनुपर्ने पनि सूचनामा छ।

सम्बन्धित स्थानीय तहले प्रविधि सहयोग माग गरी दिएका निवेदकहरुको नामनामेशी र मूल्यांकनका आधारहरु सूचना प्रकाशित भएको समयावधि समाप्त भएको भोलिपल्ट अर्थात १६ औं दिनमा मन्त्रालयमा अनिवार्यरूपमा पठाइसक्नु पर्ने सूचनामा उल्लेख छ।

मन्त्रालयले प्रदेशका का ११९ वटै स्थानीय तहलाई महिला उद्यमशीलता विकास वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग कार्यक्रम सञ्‍चालन कार्यविधि, २०७७ बमोजिम कार्य सञ्‍चालन गर्न गराउन अनुरोध गरेको छ। कार्यविधिअनुसार स्थानीय तहले महिला उद्यमी सिफारिस गरी पठाउन सक्नेछन्।

निवेदन दिन चाहनेले महिला उद्यमशीलता विकास वित्तीय पहुँच टेवा पुँजी र प्रविधि सहयोग कार्यक्रम सञ्‍चालन कार्यविधि, २०७७ मन्त्रालयको वेबसाइट www.mosd bagamati.gov.np मा हेर्न सकिने जनाइएको छ।