काठमाडौं। यामाहा र सुजुकीको एसेम्ब्ली प्लान्ट तीन महिना भित्र संचालनमा आउने भएको छ। सरकारले सवारी साधन एसेम्बल्ड गर्दा आकर्षक छुट दिएपछि एसेम्ब्ली प्लान्ट लगाउने प्रतिस्पर्धा सुरु भएको थियो।
बजाज, टीभीएस, हिरो र रोयल इन्फिल्डले एसेम्ब्ली प्लान्ट संचालनमा आइसकेका छन्। सुजुकी बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सका मार्केटिङ हेड समित सिंहका अनुसार सुजुकीको प्लान्ट निर्माणको काम लगभग ८० प्रतिशत सकिएको छ।
‘हाम्रो एसेम्ब्ली प्लान्ट निर्माणको काम लगभग ८० प्रतिशत सम्पन्न भइसकेको छ। हामीले हाम्रो यो प्लान्ट आगामी डिसेम्बरमा संचालनमा ल्याउने तयारी छ,’ उनले भने, ‘यसको सबै काम सकेर बाइकहरु परीक्षण गर्ने काम पनि भइरहेको छ।’
वीरगंन्जको बिन्दावासिनीमा साढे ४ विघा क्षेत्रफलमा एसेम्बल्ड प्लान्ट बनिरहेको छ। उनका अनुसार यसको कुल लागत ६० करोड रुपैयाँ छ। यो एसेम्ब्ली प्लान्टको उत्पादन क्षमता वार्षिक ३० हजार युनिटको रहेको उनले बताए। यो पछि माग अनुसार क्षमता बढाउन सकिने रहेको उनको भनाइ छ।
‘मार्केट साइज अनुसार उत्पादन क्षमता बढाउन मिल्छ,’ उनले भने, ‘भविष्यमा इभीको बाइक तथा स्कुटरहरु पनि यो एसेम्ब्ली प्लान्टमा उत्पादन गर्न सकिन्छ।’ सिंहका अनुसार यो प्लान्टमा लगभग डेढ सय जनाले रोजगारी पाउनेछन्।
यसैगरी यामाहाको पनि एसेम्बली प्लान्ट जनवरीदेखि संचालनमा ल्याउन लागिएको एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए। उनले लगभग निर्माणको काम सम्पन्न भएर अहिले एसेम्बल्ड गरिएको बाइकहरु परीक्षण गर्ने काम भइरहेको बताए।
‘हामीले जनवरीतिर यामाहाको बाइक तथा स्कुटर नेपालमा उत्पादन गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘त्यही अनुसार कम्पनीले तयारी गरिरहेको छ। कम्पनीले लगभग फ्याक्ट्री निर्माणको काम सम्पन्न गरेको छ। ‘
यामाहा बाइकको नेपालको अधिकृत बिक्रेता मोरङ अटो वर्क्स (एमएडब्लु)ले नवलपरासीको रामग्राममा एसेम्बल्ड प्लान्ट स्थापना गरिरहेको छ। डेढ अर्ब लगानीमा कम्पनीले एसेम्बल्ड प्लान्ट स्थापना गरेको हो।
कम्पनीका अनुसार सो प्लान्ट ७-८ बिघा जग्गामा निर्माण भइरहेको छ। प्लान्टमा शतप्रतिशत स्वदेशी लगानी छ। प्लान्टबाट वार्षिक मोटरसाइकल ३१ हजार वटा र स्कुटर १९ हजार वटा एसेम्बल्ड हुनेछ।
यो उद्योगबाट स्वदेशी तथा विदेशी गरी १ सय ४४ जनाले रोजगारी प्राप्त गर्नेछन्। जसमा दक्ष जनशक्ति धेरै उपयोग हुने कम्पनीले जनाएको छ।
यसरी नेपालमा एसेम्ब्ली उद्योग स्थापना हुदै जाँदा त्यसलाई चाहिने पाटपुर्जा, सीट, भाइजर लगायतका सामान उत्पादन गर्ने उद्योग समेत स्थापना हुन थाल्ने संभावना पनि बढेको छ। विश्वकै उदाहरण हेर्ने हो भने पनि पार्टपुर्जा ल्याएर जोड्ने उद्योगबाट सुरु हुने गरेको छ।
त्यसपछि अरु सहायक (एनसिलरी) उद्योगहरु स्थापना भएका थिए। बाइकलाई चाहिने प्लास्टिक मोडलिङ गर्ने उद्योग, टायर उद्योगसँगै अन्य धेरै बाइकलाई आवश्यक पर्ने उद्योगहरु नेपालमा बन्न थालिसकेका छन्।