काठमाडौं। मंगोलियाविरुद्धको खेलमा नेपाली क्रिकेट टोलीले तीन दुर्लभ कीर्तिमान बनाएको छ।
पहिलो, टी २० अन्तर्राष्ट्रियमा एकै इनिङ्समा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान नेपालले बनाएको छ। चीनको हाङजाउमा जारी एसियन गेम्स अन्तर्गत क्रिकेट खेलमा नेपालले टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक स्कोरको कीर्तिमान बनाएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३१४ रन बनाएको छ।
यो टी २० अन्तर्राष्ट्रियमा एकै इनिङ्समा बनेको सर्वाधिक रन हो। यसअघि सर्वाधिक रन अफगानिस्तानले आयरल्याण्डविरुद्ध बनाएको थियो। उक्त खेलमा अफगानिस्तानले ३ विकेट गुमाएर २७८ रन बनाएको थियो।
दोस्रो, नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक बनाए। कुशल मल्ल टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी बनेका छन्। उनले ३४ बलमा शतक पुरा गरेका हुन्।
यसअघि छिटो शतक प्रहार गर्ने कीर्तिमान भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेक रिपब्लिकका सुदेस विक्रमासेकाराको नाममा थियो। यी तीनै खेलाडीले ३५ बलमा शतक प्रहार गरेका थिए।
तेस्रो, आक्रामक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरी ९ बलमा ८ छक्काको सहायतामा अर्धशतक बनाउँदै अर्को विश्व कीर्तिमान बनाए। यो कीर्तिमान भारतीय क्रिकेटर युवराज सिंहको नाममा थियो। उनले १२ बलमा इङ्ग्याण्डविरुद्ध अर्धशतक बनाएका थिए।
मंगोलियाविरुद्ध नेपाली क्रिकेट टोली टस हारेर ब्याटिङमा उत्रिएको थियो। मंगोलिया पहिलो पटक टी २० अन्तर्राष्ट्रिय खेल्न मैदान उत्रिएको छ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ र आशिफ शेखले १६ रन बनाए। त्यस्तै रोहित पौडेलले ६१ रनको अर्धशतकीय इनिङ्स खेले। ऐरीले अविजित रहँदै ५२ रन बनाए।
आशिफ शेख, रोहित पौडेल,दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अभिनास बोहोरा, गुलसन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल मल्ल