BIZMANDU
www.bizmandu.com

पठाओ छैटौं वर्षमा, सेवा क्रममा दुर्घटनामा परेका राइडरलाई मासिक ३० हजार भत्ता

२०८० असोज ८

पठाओ छैटौं वर्षमा, सेवा क्रममा दुर्घटनामा परेका राइडरलाई मासिक ३० हजार भत्ता
पठाओ छैटौं वर्षमा, सेवा क्रममा दुर्घटनामा परेका राइडरलाई मासिक ३० हजार भत्ता


काठमाडौं। राइड सेयरिङ एप पठाओले आफ्नो सेवा पाँच वर्ष पुरा गरेको छ। कम्पनीले छैटौं वर्ष प्रारम्भको उपलक्ष्यमा कम्पनीले सम्बद्ध राइडरलक्षित आकर्षक सुविधा घोषणा गरेको छ।

Tata
GBIME
NLIC

आफ्नो पाँच वर्षे सेवा पुरा गरेकोमा कम्पनीले पाँच वर्षदेखि आफूसँग आबद्ध उत्कृष्ट १ सय ३१ राइडर सम्मान गरेको छ। यस अन्तर्गत राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो‍(फुड डेलिभरी पर्सन)का लागि ‘पठाओ बेनिफिट प्रोग्राम’ सुरू गरेको कम्पनीका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए।

‘एक व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज बनाउनका लागि एउटा सहरबाट सुरू गरिएको पठाओ अहिले विभिन्न सहरमा जाने क्रममा छ‚’ प्रबन्ध निर्देशक बस्न्यातले भने,’अब चाँडै अरु ५-६ वटा सहरमा विस्तार गर्ने योजना बनाएका छौं।’

पठाओले सरकारलाई राजस्वमा पनि राम्रो योगदान पुर्‍याउँदै आएको उनले बताए।

सेवा क्रममा दुर्घटनामा परी बिदामा बसेका राइडरलाई मासिक १० हजारदेखि ३० हजार रुपैयाँसम्म भत्ताको व्यवस्था लागू गरेको कम्पनीले जनाएको छ। कम्पनीले डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटगरीमा परेका राइडरलाई यो व्यवस्था लागू गरेको जनाएको छ।  

यसैगरी तोकिएका सीमित अस्पताल, रेस्टुरेन्ट र वर्कशपहरूमार्फत राइडरलाई आकर्षक छुटको व्यवस्था गरेको कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए। वर्गीकरणअनुसार स्कुल फी स्पोन्सरशीप, मोबाइल डाटा प्याकेज, मासिक क्वेस्टहरू पनि रहेको उनले बताए।

असोज ८ गतेबाट ‘पठाओ दसैं’ आयोजना गर्दै

सँगसँगै वार्षिकोत्सवको अवसरमा  आयोजित कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक बस्न्यातले असोज ८ गतेदेखि ‘पठाओ दसैं महोत्सव’ सुरू गर्ने बताए।

महोत्सव अन्तर्गत कम्पनीले राइडरहरूले तिर्नुपर्ने कमिसन समेत घटाउने जनाएको छ। कम्पनीका अनुसार हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन छ।

तीन सातासम्मका लागि धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घटाउँदै लाने उनले जानकारी दिए। जसअन्तर्गत अधिकतम राइड गर्ने राइडरले तिर्ने कमिसन घटेर कम्तिमा १ प्रतिशतसम्म हुन आउने उनले बताए।