BIZMANDU
www.bizmandu.com

नेपालले चीनसँग गर्‍यो १२ वटा सम्झौता, औषधि उत्पादनका लागि वनस्पति निर्यात गरिने

२०८० असोज ८

नेपालले चीनसँग गर्‍यो १२ वटा सम्झौता, औषधि उत्पादनका लागि वनस्पति निर्यात गरिने
नेपालले चीनसँग गर्‍यो १२ वटा सम्झौता, औषधि उत्पादनका लागि वनस्पति निर्यात गरिने

काठमाडौं। नेपाल र चीनबीच १२ वटा सम्झौता र एउटा समझदारी भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङको नेतृत्वमा सोमबार बेइजिङमा द्विपक्षीय वार्तापछि दुई देशबीच १२ वटा सम्झौता र एउटा समझदारी भएको हो।

Tata
GBIME
NLIC

विभिन्न मन्त्रालयअन्तर्गतका सम्झौतामा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले हस्ताक्षर गरेका छन्। चीनका तर्फबाट पनि सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका छन्।

नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने, डिजिटल अर्थतन्त्र बढाउने, व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने लगायत सम्झौता भएको हो।

अर्थ मन्त्रालय र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको हो।

दुई देशबीच सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने सम्झौतामा वाणिज्य तथा आपूर्तिसचिव मधुकुमार मरासिनी र चीनको वाणिज्य मन्त्रालयका अधिकारीले हस्ताक्षर गरेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालयबीच नेपालमा कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ। औषधि उत्पादनका लागि नेपालबाट चीनमा वनस्पति निर्यातसम्बन्धी सम्झौता भएको छ। जसमा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल र चिनियाँ अधिकारीले हस्ताक्षर गरे।

वन तथा वातावरण मन्त्रालय र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ।

राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास आयोगबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरे।

प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने सम्झौतामा राजदूत श्रेष्ठ र चिनियाँ प्रेस तथा प्रकाशन विभागका अधिकारीले हस्ताक्षर गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। सिजाली हाइअर स्कुल प्रोजेक्ट कार्यान्वयनका लागि सम्झौता भएको छ। त्यस्तै, हिल्सा सिमिकोट परियोजना सम्बन्धी पत्रमा समेत हस्ताक्षर भएको छ।