BIZMANDU
www.bizmandu.com

जजिरा एयरवेजले ७ महिनापछि कुवेत-भैरहवा उडान पुन: थाल्दै, नोभेम्बरबाट साताको ३ दिन उडान

२०८० असोज ८

जजिरा एयरवेजले ७ महिनापछि कुवेत-भैरहवा उडान पुन: थाल्दै, नोभेम्बरबाट साताको ३ दिन उडान
जजिरा एयरवेजले ७ महिनापछि कुवेत-भैरहवा उडान पुन: थाल्दै, नोभेम्बरबाट साताको ३ दिन उडान

काठमाडौं। कुवेतको लो कस्ट एयरलाइन्स जजिरा एयरवेजले सात महिनापछि नेपालमा पुनः व्‍यवसायिक उडान सुरु गर्ने भएको छ। कम्पनीले विन्टर सेड्युलअन्तर्गत आउँदो नोभेम्बरबाट साताको तीनवटा उडान गर्ने तालिका प्राप्त गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख हंसराज पाण्डेले बताए।

Tata
GBIME
NLIC

वैदेशिक रोजगारीमा रहेकाहरु चाडबाडको बिदामा आउजाउ गर्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीले पुनः आफ्नो व्यवसायिक उडान सुरु गर्न लागेको हो। विमानस्थल प्रमुख पाण्डेका अनुसार जजिराले हालका लागि नोभेम्बर-मार्चसम्मको उडान तालिका पाएको छ।

यो समयमा मौसमी प्रतिकूलता बाहेकको समयमा उडान प्रभावित नहुने उनले बताए। ‘अहिले विमानस्थलमा पर्फर्मेन्स बेस नेभिगेसन प्रणालीअन्तर्गत रिक्वायर्ड नेभिगेसन प्रणाली लागू भइसकेको छ। यो अन्तर्राष्ट्रिय प्रविधिमार्फत उडान-अवतरण सहज हुने देखिएको छ‚’ प्रमुख पाण्डेले भने,’तर यहाँको मौसम ठप्पै प्रभावित भएको अवस्थामा मात्र अन्तर्राष्ट्रिय उडान अवतरण हुन नसक्ने हो।’

उनका अनुसार उक्त कम्पनीले साताको सोमबार, बुधबार र शुक्रबार नियमित उडान गर्नेछ। हाल यो कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साताको सात उडान गर्दै आएको छ। कम्पनीको नेपालका लागि आधिकारिक टिकट बिक्रेता कम्पनी (जीएसए) सोसाइटी इन्टरनेशनल छ।