BIZMANDU
www.bizmandu.com

नेपाल भित्रिने गाडी उत्तरबाटै धेरै, एकै महिना चीनबाट मात्र ५०० युनिट इभी आयात

२०८० असोज ८

नेपाल भित्रिने गाडी उत्तरबाटै धेरै, एकै महिना चीनबाट मात्र ५०० युनिट इभी आयात
नेपाल भित्रिने गाडी उत्तरबाटै धेरै, एकै महिना चीनबाट मात्र ५०० युनिट इभी आयात


काठमाडौं। नेपालमा आयात हुने गाडीमा चिनियाँ ब्रान्ड धेरै हुन थालेको छ। दुई महिनामा आयात भएको कुल विद्युतीय सवारीमा सबैभन्दा धेरै चीनबाट भित्रिएका छन्।

Tata
GBIME
NLIC

पछिल्लो दुई महिनामा चीनबाट मात्र ५ सय ७५ युनिट विद्युतीय सवारी आयात भएका छन्। भदौ महिनामा मात्र चीनबाट ५०० युनिटको हाराहारीमा आयात भएको छ। गत महिना कुल ८३ युनिट इभीहरु चीनबाट आयात भएका थिए। यसमा बीवाइडी र एमजीको संख्या धेरै रहेको भन्सार विभागले जनाएको छ।

चीनबाट एमजी र बीवाइडी बाहेक ग्रेटवाल मोटर्स, नेटा भी, सेरेस लगायत ब्रान्ड इभीहरु नेपाल आयात हुने गरेका छन्।

यस्तै अर्को भनेको भारत बाट धेरै इभी आयात भएको छ। गत महिना साउनमा भारतबाट हुने इभीको आयात घटेकोमा यो महिना भने फेरि बढेको छ। जसमा भारतबाट यो भदौमा मात्र २ सय ९० युनिट इभी आयात भएका छन्। गत साउनमा २७ वटा मात्र इभी आयात भएका थिए। दुई महिनामा कुल ३ सय १७ युनिट इभी भारतबाट आयात भएका छन्।

भारतबाट पछिल्लो समय टाटा, सिट्रोन लगायतका इभी आयात हुँदै आएका छन्। आयातितमा ५१ देखि १०० किलोवाटसम्म इभी धेरै छन्। सरकारले धेरै मोटर पावर भएका इभीको कर घटाएपछि त्यो सेगमेन्टको इभीहरुको आयात बढ्ने आकलन गरिएको थियो। तर गाडीहरु भने ५१ देखि १०० किलोवाटसम्म रेन्जको सेगमेन्टमा मात्र आयात भएका छन्।

चालु आर्थिक वर्षको दुई महिनामा २ अर्ब ४३ करोड १५ रुपैयाँ मूल्य बराबरका ८ सय ९८ वटा विद्युतीय कार आयात हुँदा १ अर्ब १२ करोड ६० लाख रुपैयाँ सरकारले कर उठाएको छ।

यो वर्षको भदौ महिनामा मात्र ७ सय ८८ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्यांक छ। यो संख्या कुनै समय एक वर्षभरी आयात हुने भन्दा धेरै हो।

यस्तै नेपालमा आयात हुने इन्धन सवारीको भन्दा यो महिना विद्युतीय सवारीको संख्या पनि धेरै छ। इन्धन सवारीसाधन आर्थिक वर्षको दुई महिनामा जम्मा ६ सय ९० युनिट मात्र आयात भएका छन्। यो संख्या विद्युतीय सवारीको आयातभन्दा २ सय ८ युनिट कम हो।