BIZMANDU
www.bizmandu.com

सुन आयातमा कोटा बढाउने तयारी‚ चाडपर्व र बिहेको सिजनमा कारोबार सहज हुने

२०८० असोज ८

सुन आयातमा कोटा बढाउने तयारी‚ चाडपर्व र बिहेको सिजनमा कारोबार सहज हुने
सुन आयातमा कोटा बढाउने तयारी‚ चाडपर्व र बिहेको सिजनमा कारोबार सहज हुने


काठमाडौं। दैनिक १० केजी आयात भइरहेको सुनको कोटा बढ्ने भएको छ। सरकारको सिफारिसमा सुनको आपूर्ति सहज बनाउन नेपाल राष्ट्र बैंकले सुनको कोटा बढाउन लागेको हो।

Tata
GBIME
Nepal Life

सुन व्यवसायीबाट माग भएपछि कोटा बढाउन लागेको राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बताए। ‘व्यवसायी र वाणिज्य मन्त्रालयबाट माग आएपछि हामीले सुनको कोटा बढाउने निर्णय गरेका हौं। साथै विदेशी मुद्राको आपूर्ति सहज भएसँगै सुनको कोटा बढाउने प्रक्रिया अगाडि बढेको हो। दैनिक १० किलोभन्दा माथि सुन आयात हुनेछ,’ उनले भने।

यसका लागि राष्ट्र बैंकले एक/दुई दिनमै परिपत्र जारी गर्ने उनले बताए। राष्ट्र बैंकले परिपत्र जारी गरेसँगै वाणिज्य बैंकहरुले दैनिक १० किलोभन्दा बढी सुन आयात गर्न पाउनेछन्।

२०७८ फागुन २१ गते राष्ट्र बैंकले परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० केजीमा झारेको थियो। त्यसअघि दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था थियो। त्यसबेला विदेशी मुद्रा सञ्चिति घट्दा सुनको कोटा घटाउनु परेको राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले दाबी गरे।

चाडपर्वसहित बिहेको सिजन आउँदैछ। यस्तोमा सुनको बिक्री बढ्ने गर्छ। जसकारण पनि दैनिक २० केजीसम्म सुनको आयात बढाउन माग गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए।

‘हामीले पहिलेदेखि नै सुनको आयातमा कोटा बढाउन माग गरिरहेका थियौं। सम्बोधन हुन बाँकी थियो। अब चाडपर्व र बिहेको सिजनहरु आउँदैछ। त्यस्तोमा अभाव नहोस् भनेर सुनको कोटा बढाउन भनेका हौं‚’ उनले भने।

यसपटकको तीजमा भने आर्थिक मन्दी र मूल्यवृद्धिका कारण सुनचाँदी बजारमा खासै कारोबार हुन सकेन। तीजमा नभए पनि बिहेको सिजनमा भने माग बढ्नेमा व्यवसायी आशावादी छन्।

सुनको कोटा १० केजी कायम राख्दा सिजनको बेला सुन अभाव हुनुका साथै कालोबजारी मौलाउँदा समस्या भोग्नुपरेको अध्यक्ष शाक्यले बताए। उनका अनुसार अनुसार देशैभरि अहिले सुनचाँदी पसलहरु २५ हजार हाराहारीको संख्यामा छन्। हिजोआज सुनको दैनिक कारोबार १५ केजी हाराहारी रहेको महासंघले जनाएको छ।