BIZMANDU
www.bizmandu.com

मन्त्रीहरुको रिबन काट्ने मोह, वडा कार्यालय र रेष्टुरेन्ट उद्घाटन गरेर बितिरहेको छ समय

२०८० असोज ७

मन्त्रीहरुको रिबन काट्ने मोह, वडा कार्यालय र रेष्टुरेन्ट उद्घाटन गरेर बितिरहेको छ समय
मन्त्रीहरुको रिबन काट्ने मोह, वडा कार्यालय र रेष्टुरेन्ट उद्घाटन गरेर बितिरहेको छ समय


काठमाडौं। मन्त्रीलाई सिंहदरबारको कार्यकक्षमा भेटनु भएको छ? भेट्नुभएको छ भने तपाईं भाग्यमानी नै हो। किनभने कार्यकक्षमै मन्त्रीहरुलाई भेट्न मुस्किल छ। मन्त्रालय पुगेका अधिकांशले नेमप्लेटमुनि लेखिएको ‘मन्त्री बाहिर’ पढेर फर्कनुपर्छ।

Tata
GBIME
NLIC

मन्त्री कतै महत्त्वपूर्ण काममै पो निस्किए कि? कतिपयलाई यस्तै लाग्न सक्छ। कार्यसम्पादन हेर्ने हो भने त्यो देखिँदैन। मन्त्रीहरु व्यस्त छन् त ‘रिबन काट्न’मा।

महत्त्वपूर्ण समय उद्‍घाटनमा बिताइरहेकाले मन्त्रीहरुको कामको प्रगति देखिंदैन। उनीहरुले निरन्तर गरिरहेको एउटै काम हो, उद्‍घाटन। अस्पतालको बेडदेखि रेष्टुरेन्ट उद्‍घाटनमन्त्रीहरुको दैनिकीजस्तै बनेको छ। आर्थिक मन्दीले जनताको दैनिकी कष्टकर बनिरहँदा मन्त्रीहरुदे उद्‍घाटनमै मस्त बनेर जग हँसाइरहेका छन्।

वडा कार्यालय उद्घाटनमा पूर्णबहादुर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दोस्रो वरीयताका हुन् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का। वरीयता दोस्रो भएपछि प्रचण्डपछि जिम्मेवार मन्त्री खड्का हुनुपर्ने हो।

तर उनको त्यही अनुसारको काम छ त? पक्कै छैन। किनभने उनले उल्लेख गर्न लायक काम नै गरेका छैनन्। उनले शिलान्यास र उद्‍घाटनकै समय बिताइरहेका छन्। उद्‍घाटन मोह कतिसम्म छ भने वडा कार्यालयदेखि स्वास्थ्य चौकी उद्‍घाटनसम्म भ्याएका छन्।

खड्का चैत १७ मा कांग्रेसको नेतृत्व गर्दै मन्त्री बनेका थिए। साढे ५ महिनामा उनले के काम गरे त? देखाउन मिल्ने एउटै काम छैन।

कहाँ कहाँ पुगे खड्का?

  • वैशाख ८ – सिर्जनशील युवा क्लब मेहेलकुना सुर्खेतले आयोजना गरेको खेलकुदको समापन कार्यक्रम।
  • वैशाख ८ मै – सुर्खेतको भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहरको स्थायी कार्यालय मेहेलकुना सुर्खेतमा उद्‍घाटन।
  • वैशाख १६ – काठमाडौं प्रथम राष्ट्रिय लेखक दिवस तथा राष्ट्रिय लेखक पुरस्कार वितरण।
  • असार ३० – जग्गाधनीलाई पुर्जा हस्तान्तरण सुर्खेतमा। इलाका प्रशासन कार्यालय उद्‍घाटन।
  • साउन ६ – बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरणमा काठमाडौंमा
  • साउन ३१ – नेपाल निजामती कर्मचारी युनियनको प्रशिक्षण कार्यक्रम उद्‍घाटन, काठमाडौं।
  • भदौ ८ – चाँगुनारायण नगरपालिका-५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवन उद्‍घाटन, भक्तपुर।
  • भदौ २ – रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलन उद्‍घाटन।

जीपलाइन उद्घाटनमा गृहमन्त्री

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरेको दाबीलाई मान्ने हो भने उनी सादगी नेता हुन्। उनले सञ्चार माध्यमलाई दिएका अन्तवार्तामा पटकपटक वाचा गरेका छन्- भ्रष्टाचारविरोधी अभियान रोकिएको दिन पदबाट राजीनामा गर्छु। वाचा अनुसारको काम त श्रेष्ठले गरेका छैनन नै, कार्यकालको सुरुवातमा विभिन्न प्रकरणको छानबिन अगाडि बढाउन लगाएर चर्चा कमाएका श्रेष्ठको लोकप्रियताको ग्राफ अहिले ओरालोलाग्दो छ।

उनी पनि झण्डावाला गाडी चढेर उद्‍घाटनमा जाने मन्त्रीको सूचीमा अग्रस्थानमै छन्। मन्त्रालयमा बसेर आवश्यक रणनीति बनाउने र नतिजा देखिने गरी काम गर्ने भन्दा स्वार्थ समूहको निम्तामा रमाइरहेका छन्। उनले मन्त्रालयसँग कुनै साइनो नलाग्ने जीपलाइन उद्‍घाटनमा समय दिइसकेका छन्।

गृहमन्त्री र गृहसचिवले सुराकी खर्च गर्न पाउने व्यवस्था खारेज, मिटर ब्याजको समस्या समाधानका लागि जाँचबुझ आयोग गठन र नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेतामाथि अनुसन्धान अगाडि बढाउन लगाएर श्रेष्ठले सुरुमा लोकप्रियता कमाएका थिए।

तर ९ किलो र ६१ किलो सुन प्रकरणमा नाम जोडिएका माओवादी केन्द्रका नेतालाई अनुसन्धानको दायरामै नल्याएपछि श्रेष्ठ पनि ‘उही ड्याङका मुला’ जस्तै हुन पुगेका छन्।  

पुस ११ मा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका श्रेष्ठले नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीको पद गुमाएपछि गृह मन्त्रालयमा इन्ट्री मारेका थिए।

श्रेष्ठले गरेका उद्घाटन

  • फागुन १ – कुरिनटारस्थित रिभर फन रिसोर्टमा जीपलाइन उद्‍घाटन।
  • फागुन १९ – दोलखा महोत्सवको उद्‍घाटन।
  • चैत १७ – काभ्रे तेमाल गाउँपालिकामा उग्येन पेज्युङ डुब्देलिङ गुम्बा उद्‍घाटन।
  • वैशाख १ – गोरखाको चित्रेपोखरीमा अस्थायी प्रहरी चौकी उद्‍घाटन।
  • असार १- नवनारी पत्रिकाको वार्षिकोत्सव उद्‍घाटन।
  • असार ३० – राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम उद्‍घाटन।
  • भदौ १ – गोरखाको अजिरकोट गाउँपालिका-२, भच्चेकमा निर्माण गरिएको भच्चेक आधारभूत अस्पताल उद्‍घाटन।
  • भदौ ९- सर्लाहीको लखन्देही नदीमा पुल शिलान्यास
  • भदौ १० – जिल्ला प्रशासन कार्यालय पर्साको भवन उद्‍घाटन
  • भदौ १४ – काठमाडौं साइपाल हिमाल पुस्तक विमोचन
  • भदौ १६ – पार्टीको ३ महिने अभियान उद्‍घाटन, ललितपुर।
  • भदौ २० – चितवनको रेडियो माडीको १३ औं वार्षिकोत्सव उद्‍घाटन।
  • भदौ २० – चितवनको माडीमा दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा ७ वटा आवास गृह उद्‍घाटन।
  • भदौ २३ – काठमाडौंको टुँडिखेलमा ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशन उद्‍घाटन।

अर्थमन्त्रीको कामभन्दा कुरै ज्यादा

मुलुकले आर्थिक संकट झेलिरहँदा अर्थ मन्त्रालयको नेतृत्वमा छन् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत। अर्थतन्त्रमा देखिएको समस्याबारे टालटुले जवाफ दिइरहेका महतलाई पनि मन्त्रालयमा बसेर संकट समाधानका लागि गृहकार्य गर्न भन्दा उद्‍घाटन मोहले डोर्‍याइरहेको छ।

मन्त्रालयसँग जोडिएका समस्या थाँती राखेर गाउँपालिकाको भवन उद्‍घाटनमा पनि महत पुगिरहेका छन्। सानातिना काममै अल्झिरहेकामहतले अर्थतन्त्र सुधारको आश्वासन दिन भने छोडेका छैनन्। ‘अहिले सेयरको मूल्य गिरेको छ। त्यसका विविध कारण छन्। कारोबारमा राखिएका रेस्ट्रिक्सनले पनि घटेको हो,’ प्रतिनिधि सभाको भदौ २१ को बैठकमा उनले भनेका थिए, ‘बजारलाई सहज बनाउन सरकारका तर्फबाट हामी आवश्यक संवादमा छौं।’

तीज कार्यक्रममा महत

  • जेठ २७ – नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्‍घाटन।
  • असार ४- मोरङ व्यापार संघको ६६औँ वार्षिक साधारणसभा उद्‍घाटन।
  • साउन १५ – सांसद अभिमुखीकरण कार्यक्रम उद्‍घाटन, काठमाडौंमा।
  • साउन ३१ – अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को कार्यक्रम उद्‍घाटन।
  • भदौ १५  – जिल्ला समन्वय समिति काभ्रेको कार्यक्रममा।
  • भदौ १६ – काठमाडौंमा सेजनको २५ औं साधारण सभा उद्‍घाटन।
  • भदौ १८ – पोखरा पर्यटन परिषद्को २३ औं साधारणसभा उद्‍घाटन।
  • भदौ १९ – बुटवल जेसिजको वार्षिकोत्सव उद्‍घाटन
  • भदौ २३ – प्रदीप गिरिको प्रथम वार्षिकी सभामा सिरहामा।
  • भदौ २४ – कांग्रेस जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको तीजको शुभकामना आदानप्रदानमा।

मोहन बस्नेतको उस्तै मोह

कांग्रेसबाट सरकारमा सहभागी नेता मोहन बस्नेत स्वास्थ्य मन्त्री छन्। बस्नेतको जिम्मामा स्वास्थ्य सुधारका मुद्दाहरु भए पनि उनी भने उद्‍घाटन तथा सम्मेलनमा जाने मन्त्रीको सूचीमा पहिलो नम्बरमा पर्छन्।

उनी प्रचार रुचाउने मन्त्री त हुन् नै‚ अझ काम नगरेरै एकपछि अर्को स्टन्ट गरिरहेका छन्। नि:शुल्क उपचारको नारा घन्काइरहने उनी चन्दा उठाएर बिरामीको उपचारका लागि हस्तान्तरण गर्नसमेत पुग्छन्।

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा भए पनि वडा तहका सानातिना काम काजको समेत उद्‍घाटनमा बस्नेत पुगिरहेका छन्। स्वास्थ्य मन्त्रालयबाट गर्नुपर्ने सुधारमा कम, प्रचारमुखी काममा उनको जोड धेरै देखिन्छ। 

जहाँ पनि पुग्छन् बस्नेत

  • वैशाख ३० – सिन्धुपाल्चोकको हेलम्बुमा खानेपानी आयोजना उद्‍घाटन
  • जेठ ४ – ठोकर्पामा आधारभूत अस्पतालको उद्‍घाटन
  • असार २१ – भोटेकोशी गाउँपालिका प्रशासकीय भवन उद्‍घाटन
  • असार २३ – काठमाडौं शंखरापुर नगरपालिका-४ को कांग्रेसको वडा सम्मेलन उद्‍घाटन
  • साउन २५ – नेपाल एपीएफ अस्पताल स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्‍घाटन
  • भदौ ९ – सिन्धुपाल्चोकको थाङ्पाल गाउँपालिकामा सति प्रथाको प्रतीमा उद्‍घाटन
  • भदौ १० – मेरो पोषण साथी एपको उद्‍घाटन, काठमाडौं।
  • भदौ १९ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको डायलासिस सेवा उद्‍घाटन

ज्वालाले पनि गर्नै सकेनन् काम

एकीकृत समाजवादीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रुपमा सरकारमा सहभागी छन् प्रकाश ज्वाला। उनको पनि उल्लेख्य काम देखिएको छैन।

स्मार्ट लाइसेन्सको समस्या समाधान गर्न नसकेका मन्त्री ज्वालाले विभिन्न ठाउँमा गएर यातायात क्षेत्रको सुधारको भाषण दिन भने छोडेका छैनन्। सूर्यविनायक-रत्नपार्क द्रुत बस संचालनको फण्डा ल्याएर लोकप्रिय बन्न खोजेका उनले पूर्वाधार क्षेत्रको विकासमा सिन्को पनि भाँच्न सकेका छैनन्। उनको दैनिकी पनि अरु मन्त्रीजस्तै सामान्य कार्यक्रममा पुगेर भाषण गर्ने मात्रै छ।

प्रकाश ज्वालाले गरेका उद्घाटन

  • जेठ ६ गते अरनिको प्रालिको बस उद्‍घाटन
  • जेठ २ गते काठमाडौंमा आयोजित कार्टुन प्रदर्शनको उद्‍घाटन
  • जेठ ६ गते समाजवादी प्रेस संगठन नेपाल जिल्ला समिति काठमाडौंको प्रथम अधिवेशन उद्‍घाटन
  • असार २९ गते जनकपुर-जयनगर चल्ने रेल अब महोत्तरीको भंगहासम्म विस्तारको उद्‍घाटन
  • साउन ७ गते सार्वजनिक यातायातमा चालक र सहचालकलाई पोसाक हस्तान्तरण
  • साउन १५ गते एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी
  • असोज ३ गते रत्नपार्क-सूर्य विनायक द्रुत बसको उद्‍घाटन

अरु मन्त्री पनि छैनन कम

ठूला पार्टीका र महत्त्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्री र उपप्रधानमन्त्री मात्रै होइन सरकारकै ध्यान उद्‍घाटन र शिलान्यासमा छ। प्रचारमै प्रचण्ड सरकारको अधिकांश समय गइरहेको छ। पर्यटनमन्त्री सुदन किराती पनि प्रचारमुखी मन्त्रीको सूचीमा पर्छन्।

उनी पनि मन्त्री हुनासाथ विभिन्न वाचा गरेर अघि बढ्न खोजेको भए पनि उनले पनि उद् ‍टनमै समय कटाउन थालेपछि उपलब्धि शून्य हुन थालेको हो। उनी किताब विमोचनदेखि झार उखेल्न मस्त हुन थालेका छन्।

साना दलका मन्त्रीहरु ठूला दलका मन्त्रीहरुको तुलनामा कम मात्रै उद्घाटन तथा शिलान्यासमा देखिने गरेको भए पनि उनीहरुको काम भने सरकारमा दलहरुको भागबण्डाको परिपूर्ति गर्ने मात्रै देखिएको छ। अर्का मन्त्री जनता समाजवादी पार्टी जसपाका तर्फबाट सरकारमा सहभागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले पनि भ्याएसम्मका कार्यक्रममा सहभागिता जनाइरहेका छन्। मन्त्रालयका महत्त्वपूर्ण काम छोडेर उनी पनि उद्‍घाटनमा हिडेका हुन्। भदौ ७ मा नि:शुल्क डेंगी उपचार केन्द्रको अवलोकन तथा उद्‍घाटन गर्न मधेश प्रदेश पुगेका उनी पनि भदौ १२ मा समाजवादी विद्यार्थी युनियन, काठमाडौं विश्वविद्यालयको कार्यक्रममा भाग लिन पुगेका थिए।

प्रधानमन्त्री नै झिनामसिना काममा

पार्टीका गतिविधिमा मात्रै होइन प्रचण्डले सार्वजनिक समारोहमा पनि घण्टौं बिताउने गरेका छन्। भदौ २ को ‘मेरो भ्वाइस युनिभर्स’को फाइनलमा पाँच घण्टासम्म प्रचण्ड कार्यक्रममा बसे।  वैशाख ६ मा प्रचण्डले गोरखा पुगेर ‘चुम श्याग्या शताब्दी महोत्सव-२०८०’ को उद्‍घाटन गरे। प्रचण्डले जेठ २७ मा नुवाकोटको लाँकुरी भन्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्‍घाटन गरे।

फोटो : प्रचण्डको सचिवालय

मोर्चामा प्रचण्डको ध्यान कतिसम्म छ भने भदौ ८ मा वीरगंजमा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्न पुगिहाले प्रचण्ड। भदौ १२ मा बुटवल, भदौ १४ मा सुर्खेत र भदौ १५ मा पोखरामा आयोजित समाजवादी मोर्चाका कार्यक्रममा पनि आफैँ पुगे उनी। प्रचण्ड आफैले अनाश्यक ठाउँमा गएर कार्यकालको महत्त्वपूर्ण समय खेर फालिरहेको भए पनि उनले मन्त्रीहरुलाई परिणामुखि काम गर्न भन्दै साउन २५ मा कार्यसम्पादन सम्झौता गरेका थिए। जसअनुसार हरेक महिना मन्त्रीले प्रधानमन्त्रीलाई रिपोर्ट कार्ड बुझाउनुपर्ने ब्यवस्था छ।

भदौ २७ मा मन्त्रीले बुझाएको रिपोर्ट कार्डमा प्रचण्डले असन्तुष्टि व्यक्त गरेका थिए। ‘नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरूवात भएको छ। यो आफैमा राम्रो सुरूवात हो। तर, राम्रो परिणाम ल्याउन आउने दिनहरूमा धेरै मेहेनत गर्नुपर्दछ। त्यसरी मात्र परिणाम दिन सकिन्छ,’ प्रचण्डले परिणाम नआएको भन्दै टिप्पणी गरेका थिए।

शून्य उपलब्धिपूर्ण रिपोर्ट कार्ड !

मन्त्रीहरुको रिपोर्ट कार्डलाई हेर्ने हो भने पनि प्रष्टै हुन्छ – मन्त्रीहरु नीतिगत काममा भन्दा उद्‍घाटन शिलान्यासमै समय बिताइरहेका छन्। रिपोर्ट कार्डमा मन्त्रालयबाट हुने सामान्य काम बाहेक केही छैन।

नयाँ भन्सार ऐन मन्त्रिपरिषदमा पेस गरेको, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लघु घरेलु तथा साना उद्यम विकास कार्यक्रम प्रवर्धन गर्न नीतिको मस्यौदा तयार पारेको, भैरहवा विशेष आर्थिक क्षेत्रमा ३३ केभीए सबस्टेशन निर्माण गरेको, सिमरा विशेष आर्थिक क्षेत्रको ब्लक ए सवस्टेशन निर्माण भएकोलाई मन्त्रीहरुले उपलब्धिको सूचीमा राखेका छन्। जबकी यस्ता कामका लागि मन्त्री नै आवश्यक पर्दैन। मन्त्रालयको प्रशासनिक नेतृत्वबाट हुने कामलाई पनि मन्त्रीहरले रिपोर्ट कार्डमा समावेश गरेर उपलब्धिमा देखाइरहेका छन्।

पूर्व अर्थमन्त्री तथा एमालेका नेता डा. युवराज खतिवडाको भनाइलाई मान्ने हो भने पनि प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्र सुधारका लागि कुनै काम गर्नै सकेको छैन।

अर्थतन्त्र सुधार सरकारको मुख्य प्राथमिकतामा हुनुपर्ने हो तर त्यतातिर सरकारको ध्यान नै छैन। सरकारले महंगी र बजारमा अराजकता मात्रै बढाइरहेको आरोप खतिवडाले लगाए। केही सामानको मूल्यवृद्धि एमाले सरकारमा रहेको ४ वर्षमा भन्दा अहिलेको २ वर्षमा बढी भएको उनको भनाइ छ।

‘केही सामानको मूल्यवृद्धि ४ वर्षमा भन्दा यो २ वर्षमा बढी छ। एकातिर हामी आर्थिक मन्दी भन्ने। आर्थिक मन्दी भनेपछि त मूल्य पनि नबढ्नु पर्ने हो। अर्थशास्त्रले त त्यो भन्छ। आर्थिक मन्दी पनि छ बजारमा त्यतिकै अभाव पनि छ। एकाधिकार पनि छ। जथाभावी मूल्य बढाउनेलाई कारवाही पनि छैन। यस्तो बिडम्बनापूर्ण स्थिति सरकारको अकर्मण्यताले आउने कुरा हो,’ खतिवडाले भने।

मन्त्री प्रधानमन्त्रीको पर्फमेन्समा उठ्यो गठबन्धनमा प्रश्न

मन्त्री र प्रधानमन्त्रीले ठोस कार्ययोजना बनाएर अघि बढ्नुको साटो सस्तो लोकप्रियतामा रमाएको भन्दै सत्ता गठबन्धनकै नेताहरुले असन्तुष्टि व्यक्त गर्न थालेका छन्। भदौ २५ मा बिराटनगरमा आयोजित प्रदेश स्तरीय समाजवादी मोर्चाको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनकै सामुन्ने सानातिना कार्यक्रममा अल्झिएको आरोप लगाएका थिए।

‘तपाईंजस्तो क्रान्तिको कमान्डर प्रधानमन्त्री भएका बेला सरकार खुद्रे काममा अल्झिनु हुँदैन। अहिले नगरे कहिले गर्ने? तपाईंले नगरे कसले गर्छ?,’ यादवको असन्तुष्टि थियो। नेपालले पनि सरकारले आशा जगाउन नसकेको भन्दै आलोचना गरेका थिए। ‘सरकारले केही राम्रा काम गरेर जनतामा आशा जगाउन आवश्यक छ,’ नेपालले भने।

भदौ २२ मा कांग्रेस नेता डा. शेखर कोइरालाले पनि सरकारका मन्त्रीको आलोचना गरेका थिए। मन्त्रीको काम नै झण्डा हल्लाउने मात्रै भएको उनले बताएका थिए। ‘मन्त्रीको काम झन्डा हल्लाउने मात्र भएको छ। तेल हाल्न पनि प्रधानमन्त्रीलाई भन्न जानुपर्छ,´ कोइरालाले भनेका थिए।

डा. शेखरले बुधबारमात्रै कांग्रेस नेतृत्वको कारण सरकारमा सहभागी मन्त्रीहरुले कुनै काम देखाउन नसकेको तर्क गरे। ‘हामी चुकेका हौं कि? जनताले के पाए त? बेरोजगारी? शिक्षाको हालत खराब छ। महिनाको रेमिटेन्स गनेर अर्थमन्त्री र सरकार खुसी हुन्छन्,’ उनले भने।

एउटा उद्घाटन मन्त्री बनाउनुस्

सरकारका मन्त्रीले नीतिगत काम भन्दा भेला, उद्‍घाटनमा जान थालेपछि योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले प्रचण्ड नेतृत्वको सरकारलाई एउटा उद्घाटन मन्त्रालय नै बनाउन ब्यङ्ग्यात्मक सुझाव दिएका छन्।

‘वर्तमान सरकारलाई मेरो के सुझाव छ भने शिलान्यास र उद्घाटन गर्नका लागि एउटा छुट्टै उद्‍घाटनमन्त्री राख्नुस,’ पोखरेलले भने। अहिले सरकारमा मन्त्री भएकाहरुले मन्त्री हुनुनै उपलब्धि मानिरहेकाले सरकारको पर्फमेन्स कमजोर भएको बताए। ‘राजाको छोरा जन्मिएर राजा हुने जस्तै मन्त्री भएपछि खाली उद्‍घाटन गर्ने हो कि? तपाईंले समयमै काम सम्पन्न गराएर छुट्टाएको बजेटको उचित प्रतिफल प्राप्त गर्ने हो,’ पोखरेलले भने।

उनले मन्त्रीले गर्नुपर्ने काम भन्दा नगर्नुपर्ने काममा मात्रै दौडिरहेकाले अहिलेको अवस्था आइरहेको बताए। ‘राष्ट्रिय गौरवका आयोजनाको प्रगति किन भएन? केन्द्रीय मन्त्री त नीतिगत सुधारका लागि पनि त हो नि। बजेट कार्यान्वयन गर्ने मात्रै सरकारले जिम्मेवारी दिएको छ,’ उनले भने, ‘बजेट कार्यान्वयन गर्नका लागि नीतिगत समस्या, कार्यगत समस्या, जनशक्तिको समस्या, संरचनागत समस्या, समन्वयको समस्या, बजेट परिचालनको समस्या, अनुगमनको समस्या लगायतमा मन्त्रीले फोकस गर्नु पर्ने हो।’