BIZMANDU
www.bizmandu.com

३ वर्षसम्म पनि बनेन बागमती प्रदेश सभा भवन, एक वर्षमा सकिएला काम?

२०८० असोज ५

३ वर्षसम्म पनि बनेन बागमती प्रदेश सभा भवन, एक वर्षमा सकिएला काम?
३ वर्षसम्म पनि बनेन बागमती प्रदेश सभा भवन, एक वर्षमा सकिएला काम?


हेटौंडा । बागमती प्रदेशसभा भवन निर्माण सुरु भएको चार वर्ष भइसक्यो। तर हालसम्म पनि भवन निर्माण सकिएको छैन। १८ महिनामा निर्माण सम्पन्न गरिने तयारी भएको बागमती प्रदेश सभाको नयाँ भवन ३ वर्ष पुग्दा लाग्दा पनि निर्माणधिन अवस्थामै रहेको छ।

Tata
GBIME
NLIC

भौतिक पुर्वाधार विकास मन्त्रालय र ठेकदार कम्पनीको लापरबाहीले प्रदेश सभाको नयाँ भवन अझै निर्माण सम्पन्न हुन नसकेको हो। प्रदेशसभा संचालनको लागि सभाकक्ष साँघुरो भएपछि अघिल्लो कार्यकालमै संसद सचिवालय निर्माणको काम थालिएको थियो।

भवन अधुरो हुनुमा ठेकदार पक्षले सरकारी पक्ष (बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय) लाई दोष दिँदै आएको छ। यता शहरी विकास तथा भवन कार्यालयले भने ठेकदार कम्पनीले नै कहिले कोभिड १९ त कहिले अव्यवहारीक कारण देखाउँदै ढिलाइ गरिरहेको बताउँदै आएको छ।

यद्यपि, निर्माण सामग्रीहरु बाहिरी मुलुकबाट ल्याउनु पर्ने र आयात गर्न समय लागेको कारण तथा कोभिड १९ को कारण निर्माणमा ढिलाइ भएको स्पष्टीकरण निर्माण कम्पनीले शहरी विकास तथा भवन कार्यालयमा पेश गरेर म्याद थप गर्दै आएको छ।

प्रदेश सभा भवन निर्माणको लागि ४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा ठेक्का सम्झौता गरी अर्घाखाँची-सगुन-पारामौउत जोइन्ट भेन्चरले निर्माणको जिम्मा लिएको थियो। वि सं २०७७ मंसिर १० गते प्रदेश सभा सचिवालय निर्माणको लागि तत्कालिन सभामुख सानुकुमार श्रेष्ठले भवनको शिलान्यास गरेका थिए। १८ महिनाभित्र अर्थात २०७९ जेठ ९ गते काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको ३ वर्ष पुग्न लाग्दा पनि निर्माण कार्य सकिएको छैन।

पछिल्लो पटक २०८० जेठ ३० गतेसम्ममा निर्माण सक्ने सम्झौता थप गरिएको थियो। त्यो म्याद पनि सकिएको छ। यो चरणको निर्माण कार्य सकिएपछि पुनः अर्को टेण्डर मार्फत फिनिसिङ्, भवनभित्र विद्युतीकरण, रङ्रोगनलगायतको कामको लागि अर्को टेण्डर गर्नु पर्ने हुन्छ। उक्त टेण्डर प्रक्रिया सुरु गरेर काम सक्दासम्म अझै १ वर्ष लाग्ने शहरी विकास तथा भवन कार्यालयको अनुमान छ।

‘लगभग पहिलो चरणको निर्माण कार्य सकिएको छ । तर , दोस्रो चरणको काम फर्निचरको लागि अर्को ठेक्का आह्वान गर्नुपर्ने हुन्छ,’ एक कर्मचारीले भने ,‘ डिजाइन भइसकेर हामी फाइनल प्रोसेसमा छौं। अझै पुर्ण रुपमा सम्पन्न हुन एक वर्ष लाग्न सकिन्छ।’

अहिले भवनको भित्रीपाटोमा मार्बल बिछ्याउने काम भइरहेको छ। कम्पनीका ठेकदार ईश्वर बस्नेतका अनुसार अनुसार दुई महिनाभित्र सबै काम सकिनेछ।

‘हाम्रो साइडको काम ९९.८६ प्रतिशत सकिसकेको छ।  सरकारले भेरिएसन अर्डर गर्न प्रकृया अगाडि बढाईरहेको छ,’ ठेकदार बस्नेतले भने , ‘भेरिएसन फाइनल गरेर दिएको दुई महिनाभित्र काम सकिन्छ।’

हाल लगभग निर्माण सकिएको भवनमा पनि अझै विद्युतीकरण गर्न समस्या रहेको इञ्जिनियर प्रभात मिश्र बताउँछन्। निर्माणको क्रममा विभिन्न काममा समस्या भएको भन्दै ठेकदार कम्पनीले भवन कार्यालयलाई हालसम्म ५८ वटा चिठ्ठी लेखेको तर एउटा पनि पत्रको जवाफ र समन्वय नभएको मिश्रको दाबी छ।

साँघुरो भवनमा बैठक संचालन कठिन

हाल प्रदेश सभा सचिवालय तत्कालिन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको साँघुरो भवनमा संचालन हुँदै आएको छ। ११० सदस्यीय प्रदेश सांसदहरु सबै उपस्थित हुँदा कुर्सी अटाउन नै हम्मेहम्मे पर्छ। यही साँघुरो बैठक कक्षबाट प्रदेश सभाले पहिलो कार्यकाल पूरा गरेको थियो।

२५० जना क्षमताको निर्माणाधीन बागमती प्रदेश सभा हल तोकिएको समयमा काम सम्पन्न नभएपछि यही २०८० जेठ अन्तिमसम्ममा निर्माण पूरा गर्न समय थप गरेको थियो। यता, संसद हल नबन्दा बैठक संचालन गर्न कठिन भइरहेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्का बताउँछन्।

उनका अनुसार नयाँ भवनमा बैठक बस्न थालिएपछि खुल्ला ठाउँमा सहज वातावरण सिर्जना हुनेछ। हाल बैठक कक्ष साँघुरो हुँदा सांसदलाई रोष्टमसम्म पुग्न अफ्ठ्यारो हुने गरेको छ।

हाल प्रयोगमा रहेको भवन अपाङ्गमैत्री समेत छैन। अहिले बन्दै गरेको भवन भने अपाङ्ग मैत्री हुनेछ।