BIZMANDU
www.bizmandu.com

पर्यटन बोर्डको बजेट १ अर्ब ४० करोड, वितरणमुखी कार्यक्रम प्राथमिकतामा, शुक्रबार पारित गरिँदै

२०८० असोज ४

पर्यटन बोर्डको बजेट १ अर्ब ४० करोड, वितरणमुखी कार्यक्रम प्राथमिकतामा, शुक्रबार पारित गरिँदै
पर्यटन बोर्डको बजेट १ अर्ब ४० करोड, वितरणमुखी कार्यक्रम प्राथमिकतामा, शुक्रबार पारित गरिँदै


काठमाडौं। नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षका लागि १ अर्ब ४० करोड रुपैयाँ बजेट प्रस्ताव गरेको छ। बोर्डले वितरणमुखी कार्यक्रमलाई उच्च प्राथिमकता दिइ बजेट प्रस्ताव गरेको हो।

Tata
GBIME
NLIC

पर्यटन सम्पदाका लागि २७ करोड रुपैयाँ प्रस्ताव गरिएको छ। यो रकम कुल बजेटको २० प्रतिशत हो। गत आर्थिक वर्ष यो शीर्षकमा जम्मा साढे ३ करोड रुपैयाँ थियो।

स्रोतका अनुसार पूर्वाधार सौन्दर्यकरणअन्तर्गत  धाप ड्याममा १ करोड, नेपाली सेनालाई साइनेज व्यवस्थापनका लागि २ करोड, कर्णाली क्वेस्टका लागि १ करोड,  भिजिट भरतपुरका लागि १ करोड, धादिङमा दुई करोड गरी २७ करोड रुपैयाँ छुट्याइएको छ।

बोर्डको जिम्मेवारी पूर्वाधार निर्माणभन्दा पनि पर्यटन प्रवर्धन हो। प्रसार प्रसार र बजारीकरणका कार्यक्रमको साटो पूर्वाधारलाई प्राथमकिता दिएर बजेट बनाइएकामा बोर्डका कर्मचारीले प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीको नियतमाथि आशंका गरेका छन्।

‘पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई खुशी तुल्याउने गरी बजेट बनाइएको छ। शक्तिमा रहेका अरु नेतालाई रिझाउने कार्यक्रम पनि बजेटमा प्रस्ताव गरिएका छन्’, बोर्डका एक कर्मचारीले भने, ‘पूर्वाधारका कार्यक्रममा धेरै रकम छुट्याउँदा कमिसन पाइने भएकाले बजेटमा प्राथमिकता दिइएको छ।’

विभिन्न देशमा संयोजक तोकेर पर्यटन प्रवर्धनका लागि भनेर ५ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। बोर्डको सञ्चालक समितिबाट बजेट शुक्रबार पारित गर्ने तयारी छ। सञ्चालक समितिका अध्यक्ष पर्यटनसचिव हुन्। बोर्डले साउन १५ सम्म बजेट ल्याइसक्नुपर्नेमा डेढ महिनाभन्दा ढिला गरी ल्याउन लागेको हो।

ढिलाइका कारण नेपाल यसपालि विश्वकै ठूलो पर्यटन मेला वर्ल्ड टुरिज्म मार्ट (डब्लुटीएम)मा सहभागी नहुने सम्भावना छ। ‘प्रचार प्रसारका लागि डब्लुटीएम प्रभावकारी प्लाटफर्म हो। तर बजेटमा ढिलाइ भएको कारण देखाएर त्यो मेलामा भाग नलिने नियत देखिन्छ’, बोर्डका एक कर्मचारीले भने। त्यसका लागि डेढ करोड रुपैयाँ बजेट भने प्रस्ताव गरिएको छ। डब्लुटीएम डेढ महिनापछि हुँदैछ। ‘तर अब तयारी गर्न निकै कठीन छ’, ती कर्मचारीले भने।