काठमाडौं। नेपाल ल्युब आयलको खुद नाफामा भारी गिरावट आएको छ। कम्पनीको गत आर्थिक वर्षको असारमसान्त सम्मको वित्तीय विवरणमा नाफा घटेको देखिन्छ।
कम्पनीले गतवर्ष ३४ लाख ६८ हजार ३४० रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा यो ९०.१० प्रतिशतले कम हो। कम्पनीले अघिल्लो आर्थिक वर्ष ३ करोड ५० लाख बराबर खुद नाफा आर्जन गरेको थियो।
‘मन्दीले नोक्सानीमा जाने चिन्ता थियो। तर सामान्य भएपनि नाफामा गयौं,’ कम्पनीका महाप्रवन्धक गंगाराज भट्टराईले बिजमाण्डूसँग भने।
गतवर्ष बिक्री आम्दानीमा भारी गिरावट आउँदा नाफा खुम्चिएको हो। गतवर्ष कम्पनीले ९२ करोड ६६ लाख बिक्री आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.५८ प्रतिशतले कम हो। अघिल्लो वर्ष १ अर्ब २४ करोड आर्जन गरेको थियो।
गत असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढेर ४ करोड ८५ लाख १४ हजार ९ सय पुगेको छ। अघिल्लो वर्ष ३ करोड ७५ लाख ५८ हजार ५०० रहेको थियो। गत वर्ष कम्पनीले अघिल्लो वर्षको नाफाबाट लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। जसकारण चुक्ता पुँजी बढेको हो।
असार मसान्तसम्म कम्पनीको जगेडामा २१ करोड ४० लाख रुपैयाँ संचित छ। अघिल्लो वर्ष २२ करोड ४ लाख संचित थियो।
बोनस सेयर थपिँदा कम्पनीको प्रति सेयर आम्दानी पनि घटेको छ। अघिल्लो वर्ष प्रतिकित्ता ११७.७६ रुपैयाँ रहेको प्रति सेयर आम्दानी गत वर्ष ७.१५ रुपैयाँमा झरेको छ।