BIZMANDU
www.bizmandu.com

१२ करोडको सीमा परिमार्जनको संकेतले तरंगित सेयर बजार, गभर्नर लचिलो बनेकै हुन् ?

२०८० असोज ४

१२ करोडको सीमा परिमार्जनको संकेतले तरंगित सेयर बजार, गभर्नर लचिलो बनेकै हुन् ?
१२ करोडको सीमा परिमार्जनको संकेतले तरंगित सेयर बजार, गभर्नर लचिलो बनेकै हुन् ?

काठमाडौं। सेयर बजार ओरालो लाग्नुमा प्रमुख तगारो ठानिएको १२ करोड मार्जिन कर्जाको सीमामा राष्ट्र बैंक लचिलो हुने संकेतले नेप्से तरंगित बनेको छ।

Tata
GBIME
NLIC

सो व्यवस्था परिवर्तन गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच भएको सकारात्मक छलफलले लगानीकर्ता पुन: आशावादी देखिएका छन्। त्यसले बजार बुलिस ट्रेन्डमा हिड्न थालेको छ।

सोमबारदेखि बजारमा निरन्तर वृद्धि देखिन्छ। सोमबार अर्थमन्त्रीले सो व्यवस्था बारे गभर्नरसँग वान टु वान छलफल गरेका थिए। छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारी सकारात्मक बनेपछि सोमबार बढेको थियो।

मंगलबार भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको छलफलमा पनि गभर्नर अधिकारीले १२ करोडमा लचिलो बन्ने जनाउ दिएका थिए। राष्ट्र बैंक स्रोतका अनुसार शुक्रबार १२ करोडको सीमा परिमार्जनको निर्देशन आउने सम्भावना छ। ‘१२ करोड सीमा हटाउन गभर्नर तयार देखिनुभएको छ। शुक्रबारसम्म परिमार्जित निर्देशन आउनेछ,’ स्रोतले भन्यो।

यही सूचनाका कारण बिहीबार नेप्से ४४ अंक बढ्यो। यो चालु आर्थिक वर्षको मौद्रिक नीति यताकै सबैभन्दा फराकिलो वृद्धि हो। नेप्से २०२९.७८ को विन्दुमा उक्लिएको छ। नभए बजार लगातार बियरिस सेन्टिमेन्टमा थियो। २२ सय नाघिसकेको नेप्से सूचकले डेढ महिना मै ३१४ अंक गुमाएको थियो।

बिहीबार अर्थसचिव डा. कृष्णहरि पुष्करले पद सम्हालिसकेका छन्। अर्थसचिव राष्ट्र बैंकको संचालक हुने व्यवस्था छ। सचिव पुष्करले बिहीबारनै राष्ट्र बैंक संचालकको सपथ पनि लिइसकेका छन्।

स्रोतका अनुसार भोलि बिहान ८ बजे राष्ट्र बैंकको संचालक समितिको बैठक डाकिएको छ। ‘१२ करोडको सीमा प्रमुख एजेण्डा होइन। तर यस बारे बहस अवश्य पनि हुने देखिन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो।  

बजारलाई नजिकबाट नियाल्नेहरु १२ करोड संशोधनको चर्चा बढी हाबी भएको बताउँछन्। तर सो व्यवस्था परिमार्जनकै कारणले बजारलाई धेरै माथि लैजाने सम्भावना भने कम छ। तर यो सीमा हट्दा लगानीकर्तामा सकारात्मक प्रभाव पर्नेछ। राष्ट्र बैंकले पछिल्ला दिनमा केही सकारात्मक नीति ल्याएकोजस्तो गरेर अर्कोतिरबाट कस्ने गरेकाले लगानीकर्ता विश्वस्त भने छैनन्।

‘राष्ट्र बैंक यति छिटो उदार नहोला। पछिल्लो कार्यशैलीले पनि यसको पुष्टि गर्छ। जोखिम भारमा पनि राष्ट्र बैंकले घुमाउरो जुक्ति लगाएको थियो। परिमार्जन भएपनि केही अंकुश नआउँला भन्न सकिँदैन,’ एक लगानीकर्ताले भने।   

तर सेयर लगानीकर्ताको मनोबललाई लिएर अर्थमन्त्री डा. प्रकाशशरण महत गम्भिर पनि देखिएको उनको बुझाइ छ। ठोस कदम चाल्ने र मनोबल उकास्ने उनको पछिल्लो प्रतिबद्धताले केही उत्साह पनि थपेको प्रष्ट छ। जसलगत्तै बजारमा सकारात्मक तरंग पैदा हुन थालेको थियो।

उनले १२ करोडको सीमालाई बढाएर २० करोडसम्म पुर्‍याउन सकिने अभिव्यक्ति दिएपछि लगानीकर्ताको आत्मबल ह्वात्तै बढेको पछिल्लो बजार गतिविधिले देखाउँछ। त्यसअघि उनले ब्याजदर घटाउने शर्तमा स्थानीय तहको रकम पनि वाणिज्य बैंकको निक्षेपमा गणना गर्न दिएका थिए। जसको परिणाम कात्तिकबाट देखिन सुरु गर्ने बैंकरहरुको विश्लेषण छ।

अर्थमन्त्रीले ६४ अर्ब निक्षेप दिएसँगै बजारमा पर्याप्त तरलता पनि उपलब्ध हुन थालेको छ। कर्जा-निक्षेप अनुपात (सीडी रेसियो)का आधारमा हेर्दा अहिले पनि बैंकहरु ४ खर्ब रुपैयाँ ऋण दिन सक्ने अवस्थामा छन्। अहिले सीडी रेसियो ८२ प्रतिशत हाराहारीमा छ। यसले बैंकहरुमा पर्याप्त तरलता रहेको देखाउँछ। र अन्तर बैंक दर ३ प्रतिशतमा झरिसकेको छ।

त्यसैले अर्थमन्त्री महतका अघिल्ला अभिव्यक्तिभन्दा पछिल्लो प्रतिबद्धतालाई लगानीकर्ताले बढी विश्वास गरेको देखिन्छ। यो पटक निजी क्षेत्र पनि आशावादी बनेको छ। उनको बोलीभन्दा फेरिएको कार्यशैलीलाई अनुकूल ठानिएको हो।

अर्कोतर्फ मुलुकको बाह्य क्षेत्र पनि पूर्ण रुपमा सन्तुलनमा आएको छ। साउन महिनामा अहिलेसम्मकै उच्च रेमिटेन्स भित्रियो। जसले विदेशी मुद्राको सञ्चिति र शोधानान्तर बचतलाई ह्वात्तै बढाएको छ। साथै चालु खाता ३३ महिनापछि धनात्मक भएको छ। २०७७ मंसिरदेखि निरन्तर ऋणात्मक रहेको चालु खाता यसपालि साउनमा १२ अर्ब ९९ करोडले बचतमा पुगेको छ।