काठमाडौं। सानेपामा बुधबार बीपी साहित्य सम्मेलनको अन्तिम दिन। अन्तिम सेसनमा ‘परिवारले बुझेको बीपी’ शीर्षकमा डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजाता कोइराला उपस्थित भए। बीपीबारे सोधिएको प्रश्नमा बीपीपुत्र शशांकले रोचक किस्सा सुनाए।
प्रधानमन्त्री पद फाटेको जुत्ता
बीपी भन्नुहुन्थ्यो – प्रधानमन्त्रीको पद भनेको फाटेको जुत्ता जस्तो हो। कहिले एउटाले लगाउँछ। कहिले अर्कोले। काम महत्त्वपूर्ण हो। जबसम्म जनताको सेवा गर्दैनौं। प्रधानमन्त्री भएर के काम?’
बीपीलाई कक्षा २ मा चिनें
बीपी कोइरालालाई मैले २ कक्षामा पढ्दा चिनेको। भारतमा साथीहरूले बुबा कता छ? भनेर सोधे। मैले भने : जेलमा। साथीहरूले ओहो यो त ठगको छोरा रहेछ भने। म तनावमा परें, रोएँ। पछि शिक्षकले सोधे – के भयो तिमीलाई?
मैले भएका कुरा सुनाएँ। उहाँले बुबा देश र जनताका लागि लडेको ठूलो मान्छे हो भन्नुभयो। त्यतिबेला बल्ल चिनें बीपीलाई।
छोरा त कामै रहेनछ
एकपटक बुवाले पैसा फालेर हिँडे दराजमुनि। सायद तीन जनाले के गर्छन् भनेर होला। हामी त्यहाँ उठाउन जाने हैन। बुवा आउनुभएपछि बहिनीले पैसा झरेछ भनेर बुवालाई उठाएर दिइन्।
अनि बुवाले भन्नुभयो -मेरा छोरा वाहियात रहेछन्। काम लाग्ने छोरी (चेतना) मात्रै रहिछ।
बीपी सबैलाई माया गर्ने नेता
बीपी कोइरालाको स्मरण शक्ति धेरै राम्रो। ४० वर्षअघिको मान्छेलाई पनि चिन्ने। माया पनि कति भने एकजनाले फापरको रोटी खुवाएछन् पश्चिममा। मन पराएपछि काठमाडौं पठाइदिनु भन्नुभएछ। सात दिनमा काठमाडौं आइपुग्यो। सबै बिग्रेछ। रोटी फालेर पात धोएर राख्नुभयो। पात किन राखेको भनेर मैले सोधे। उहाँले भन्नुभयो – मलाई श्रद्धाका साथ पठाएकोले म यो पात राख्दैछु।
बीपीले जस्तै माया गर्ने नेता चाहियो। मैले चमत्कार केही गरेको छैन। मन्त्री एकचोटि पनि भएको छैन। तर चार-चार पटक जितें किन? मैले भाषण गर्दा महिलाहरुलाई टार्गेट गरें। (हलमा लामो हाँसो) मैले महिलालाई प्राथमिकता दिएँ। त्यही भएर म चारचोटि जिते। त्यहाँ पुरुष पनि छन्। उहाँहरुलाई अनादर गरेको हैन फेरि। २०७२ सालमा २३ जना जित्दा म पनि जितें। सात वटा गाविस रटेर जानुपर्ने। नामै थाहा छैन। कोही नचिन्ने। तैपनि जितें।
बीपीको गर्लफ्रेन्ड थिए कि थिएनन् थाहै पाइनँ
मेरी आमा सुशीला पुड्की, काली, नपढेकी हुनुहुन्थ्यो। बीपी टल, हेन्सम, गोरो हुनुहुन्थ्यो। केटीहरु पछ्याउँथे। तर उहाँको गर्लफ्रेन्ड थिए कि थिएनन् थाहा भएन। तर पनि तर विवाह गर्नुभयो उहाँ (सुशीला)सँग। उहाँलाई पढाउनुभयो। स्वयं बीपीले हेरचाह गर्नुहुन्थ्यो।
बुवाले दिएको ६० रुपैयाँ हुर्याएँ
सारनाथ हुँदा काठमाडौं जान पैसा मागेँ। बुवाले ६० रुपैयाँ दिनुभयो। मैले हुर्याएँ। ६० रुपैयाँले कोही पुग्छ काठमाडौं? त्यसपछि कापीकलम ल्याउन भन्नुभयो। त्यसपछि रिक्साको भाडा लेख्न लाउनुभयो। त्यसपछि भैरहवासम्मको यति। राति खानेको यति। अनि ५५ रुपैयाँ ६० पैसा मात्रै निस्कियो हिसाबमा। मेरो छोरालाई भनेर ४ रुपैयाँ बढी दिएको। अझै मैले मानिनँ। अर्को एक जनालाई सोध्नुभयो – ५५ रुपैयाँ ६० पैसा नै भन्नुभयो।
कपडामा भन्दा किताबमा जोड
एकचोटि बनारसमा पढ्दाखेरी बा मलाई पाइन्ट चाहियो भनेँ। उहाँले सोध्नुभयो – कतिवटा पाइन्छ छ? ५/६ वटा होला – मैले भने। सबै पाइन्ट एकैचोटी त लगाउँदैनौ नि हैन – उहाँले भन्नुभयो। एउटामात्र लगाउ भनेर रिक्सा चढेर लानुभयो। पसलेकहाँ लानुभयो। पाइन्ट झुन्डाएका थिए। भन्ठान कि सबै पाइन्ट तेरै हो, लगाएको त छस् एउटा। उहाँको किताबमा जोड थियो कपडामा भन्दा।
चन्द्रमामा रकेट प्रक्षेपणबारे
पाँच घण्टा पढ्नुहुन्थ्यो बीपी। त्यो बेला चन्द्रमामा निल अर्मस्ट्रङ जाँदै थिए। हामी छतमा सुत्थ्यौं। एक महिनादेखि बीपीले भन्नुहुन्थ्यो रकेट यसरी जान्छ। ग्राभेटीबाट निस्केर मुनमा परिक्रमा गर्छ भन्नुहुन्थ्यो। आमा पनि सुनिरहनुहुन्थ्यो। जुन दिन ल्यान्ड गर्दैथियो – त्यो बेला अर्ध चन्द्रमा थियो।
आमाले भन्नुभयो – ठाउँ सानो भएन र पुगिन्छ र? अनि बुवाले आफ्नो टाउकोमा हात राख्नुभयो।