काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा हुने साफ यू-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। एन्फाले मंगलबार पत्रकार सम्मेलन गरी ६ देशले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो।
प्रतियोगिताका लागि भुटानको टोली आइसकेको छ। भारत, माल्दिभ्स र बंगलादेशको टोली मंगलबार रातिसम्म आउने तालिका छ। पाकिस्तानको टोली भने बुधबार आउने एन्फाले जनाएको छ। प्रतिस्पर्धीहरुलाई एन्फाको च्यासल मैदान र नेपाली सेनाको भद्रकाली खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ।
प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यू-१९ टोली अहिले प्रशिक्षणमा छ। खेलाडी खुलारुपमा छनोट गरिएका हुन्। नेपाल रहेको समूह ‘ए’मा माल्दिभ्स र पाकिस्तान छन्। अर्को समूहमा भारत, बंगलादेश र भुटान छन्।
प्रतियोगितामा २ करोड ७७ लाख ३२ हजार रुपैयाँ खर्च हुने अनुमान छ। प्रतियोगिताको सम्पूर्ण लागत दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बेहोर्नेछ।
तैपनि एन्फाले प्रतियोगितामा टिकटको व्यवस्था गरेको छ। टिकट दर साधारण पारापिटतर्फ १०० र भीआईपी पारापिटतर्फ ३०० रुपैयाँ तोकिएको छ। टिकट खल्तीको एपबाट वा रंगशालामा भौतिकरुपमा पनि किन्न पाइने छ।