काठमाडौं। सरकारले जग्गा कित्ताकाट खुलाउने निर्णय गरे पनि घरजग्गा कारोबार घटेको छ। भदौमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व बढे पनि कारोबार संख्या भने साउनको तुलनामा घटेको छ।
घरजग्गा कारोबार चलायमान नबन्दा देशको समग्र अर्थतन्त्र नै संकुचित भएको भन्दै सरकारले महिना दिनअघि कित्ताकाट खुलाउने निर्णय गरेको थियो। कित्ताकाट खुलाए पनि बजार तयार नहुँदा घरजग्गा कारोबार उठ्न नसकेको देखिन्छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार भदौमा देशभरका मालपोत कार्यालयहरुबाट ३५ हजार ६ सय ८६ लिखत पारित भएका छन्। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लिखत पारित ३९ हजार २ सय ६३ मा झर्दै घरजग्गा कारोबार थप संकटमा फसेको थियो। असारको तुलनामा साउनमा लिखत पारित ९ हजार ५ सय ८ ले घटेको थियो। असारमा देशभरका मालपोत कार्यालयहरुबाट ४८ हजार ७ सय ७१ लिखत पारित भएको थियो।
साउनको तुलनामा भदौमा लिखत पारित ३ हजार ५ सय ७७ ले घटेको छ। यस्तै, भदौमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो साउनको तुलनामा १३ करोड ५५ लाख रुपैयाँ बढी हो।
२०७९/८० को भदौमा लिखत पारित ३४ हजार ७ सय २० थियो भने राजस्व ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठाएको थियो।
सहरी क्षेत्रहरुमा बढी कारोबार भएकाले राजस्व बढी देखिएको विभागका अधिकारी बताउँछन्। बैंकको ब्याजदर, लगानी गर्ने आँट र खरिदकर्ता नभेट्नुले घरजग्गा कारोबारलाई थप शिथिल बनाइरहेको घरजग्गा व्यवसायीहरुको भनाइ छ। समग्र अर्थतन्त्रमै मन्दी छाइरहेको अवस्थामा घरजग्गा कारोबार राम्रो हुन्छ भन्नु कल्पना बाहिरको कुरा भएको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी बताउँछन्।
पछिल्लो समय सहकारी संस्थाहरु एकपछि अर्को समस्याग्रस्त बन्दै गएपछि धेरै निक्षेपकर्ताको पैसा डुबेको छ। जसका कारण सहकारीबाट घरजग्गामा हुने लगानी न्यून छ। यसले पनि कारोबारलाई उठ्न नदिएको देखिन्छ।
केही घरजग्गा व्यवसायीहरु भने कित्ताकाट खुलाउनुको परिणाम देखिन अझै केही महिना लाग्न सक्ने बताउँछन्।