BIZMANDU
www.bizmandu.com

हाङजाउ एसियाडमा प्रधानमन्त्री प्रचण्ड पनि पुग्ने, २१ करोड खर्चेर नेपालले कस्तो गर्दैछ तयारी?

२०८० असोज १

हाङजाउ एसियाडमा प्रधानमन्त्री प्रचण्ड पनि पुग्ने, २१ करोड खर्चेर नेपालले कस्तो गर्दैछ तयारी?
हाङजाउ एसियाडमा प्रधानमन्त्री प्रचण्ड पनि पुग्ने, २१ करोड खर्चेर नेपालले कस्तो गर्दैछ तयारी?

काठमाडौं। चीनमा अर्को साताबाट एसियाली खेलकुदको महाकुम्भ ‘एसियाड’ सुरु हुँदैछ। शनिबार पूर्वी चीनको जेझाङस्थित हाङजाउमा रहेको ‘एसियन गेम्स भिलेज’ खुला गरेसँगै चीनमा चहलपहल बढेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

Tata
GBIME
NLIC

प्रतियोगिताका लागि चीन पुगेका खेलाडी, टिम अफिसियल्स, टेक्निकल अफिसियल्स र पत्रकार गरी २० हजार बढी गेम्स भिलेजमा रहने छन्। आयोजकले यसलाई ओलम्पिकभन्दा ठूलो भएको दाबी गरेको छ। दुई वर्षअघि जापान ओलम्पिकमा १२ हजार ४१७ जना थिए।

प्रतियोगिताको प्रचार विभागका उपनिर्देशक सु बिनले खेल ‘मितव्ययी’ हुने बताएका छन्। प्रतियोगितामा एसियाका ४५ वटै ओलम्पिक कमिटीले रजिस्टर गरिसकेका छन्। सेप्टेम्बर २३ बाट अक्टोबर ८ सम्म हुने प्रतियोगितामा ५६ वटा भेन्युमा खेल हुनेछन्। यीमध्ये ४४ वटा भेन्यु हालै रेनोभेट गरिएका या निर्माण गरिएका छन्।

‘तीमध्ये अधिकांश खेलपछि व्यावसायिक प्रयोगमा राखिने छ,’ बिनले भनेका छन्।

अघिल्लो साल नै हुनुपर्ने एसियन गेम्स चीनमा कोभिड-१९ को संक्रमण ह्वात्तै बढेपछि सारिएको थियो। हाङजाउ एसिया कप आयोजना गर्ने तेस्रो सहर हो। यसअघि सन् २०१० मा ग्वान्जाओमा र १९९० मा बेङजिङमा यो प्रतियोगिता आयोजना भएको थियो।

‘हामीले खर्च गरेको रकम तुलनात्मक रूपमा कम छ। सम्भव भएसम्म धेरै लागत कटौती गर्न नयाँ निर्माण गर्नभन्दा पनि पहिले अवस्थित स्थान पुनर्निर्माण गर्ने प्रयास गर्‍यौं,’ बिनलाई उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।

समाचार संस्था एपीले चिनियाँ सञ्चारमाध्यमलाई उदृत गर्दै कुल लागत १०.१९ बिलियन युआन भएको जनाएको छ। यो एक खर्ब ८५ अर्बमाथि हुनेछ।

यो प्रतियोगिताले ४ खर्ब १४ करोड युआन अर्थात साडे ७५ खर्ब कुल गार्हस्थ उत्पादनमा सहयोग पुर्‍याउने अनुमान यस महिनाको सुरुमा हुवाचुङ सेक्युरिटीजको अनुसन्धानले देखाएको छ

प्रतियोगितामा ४० खेलबाट ४८३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

२१ करोड खर्चेको नेपालको कस्तो छ तयारी ?

चीनमा हुने प्रतियोगिताका लागि नेपालबाट २९ खेलमा नेपालका दुई सय ५३ खेलाडी सहभागी हुँदै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि प्रतियोगिता चलिरहँदा चीन पुग्नेछन्।

एसियन गेम्स खेल्ने खेलाडीको विदाइ। तस्बिर राखेप

भदौ २८ गते प्रधानमन्त्री दाहालले बालुवाटारमा एसियन गेम्समा जाने खेलाडीहरुलाई बिदाइ गरेका थिए।

‘खेलाडी छनोटका लागि तीन चरणको प्रक्रिया पूरा गरी अढाइ महिनादेखि तपाईंहरू बन्द प्रशिक्षणमा रहेको मैले जानकारी पाएको छु। यसकारण पनि यसपटक नेपालले राम्रो गर्ने विश्वास छ,’ खेलाडी बिदाइका क्रममा प्रचण्डले भनेका थिए, ‘म आफूसमेत प्रतियोगिता हेर्न चीन भ्रमणमा जाँदैछु। त्यसले तपाईंहरूको मनोबल बढाउन र खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न सहयोग पुग्ने मैले विश्वास लिएको छु।’

सरकारले एसियाली खेलकुदका लागि बजेटमा ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो। तर, यो रकम अपुग भएको भन्दै अर्थ मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्ले लबिङ सुरु समेत गरेको थियो।  ३१ करोडका लागि अर्थ मन्त्रालयमा लबिइङ राखेपले सुरु गरेको थियो। तर अर्थ मन्त्रालयबाट १४ करोड थपिएपछि कुल २१ करोडको बजेट बनेको थियो।

हाङझाउ एसियाडमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलमा चार ८१ विधामा चुनौती प्रस्तुत गर्दैछन्। नेपालका तर्फबाट एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने छन्।