काठमाडौं। नेपाल विद्युत प्राधिकरणले एकैपटक १०४ जना कर्मचारीको सरुवा गरेको छ। प्राधिकरणको भदौ ३१ गतेको बैठकले निर्देशकदेखि इन्जिनियरसम्मको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
सरुवा हुनेहरुमा एक जना निर्देशक, दुई जना प्रबन्धक, ११ जना उप-प्रबन्धक, २४ जना सहायक प्रबन्धक र ६६ जना इन्जिनियर रहेका छन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सचिवालयका निर्देशक कमल आचार्यलाई गण्डकी प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिइएको छ।
प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई प्रदेश डिभिजन कार्यालय हेटौडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ। उपप्रबन्धक बासुकीनाथ झा योजना तथा प्राविधिक सेवा विभागबाट सिरहा वितरण केन्द्रको प्रमुखका रुपमा सरुवा भएका छन्। सहायक प्रबन्धक उपेन्द्र श्रेष्ठ हेटौडा ग्रीड महाशाखाबाट अत्तरिया ग्रीड शाखा प्रमुखका रुपमा सरुवा भएका छन्।
ईन्जिनियर शत्रुधन यादव कोसी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाबाट ऊर्लाबारी वितरण केन्द्रमा सरुवा भएका छन्। उनलाई केन्द्र प्रमुखको जिम्मेवारी दिइएको छ।