काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू-भाग र मध्य प्रदेशको पश्चिमी भू-भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोही मौसमी प्रणालीका कारण हाल वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र देशका बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरश्चिम प्रदेशसहित देशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।