BIZMANDU
www.bizmandu.com

श्रीलंका ५० रनमै अलआउट, एसिया कपमा भारतविरुद्ध २०० रन कटाउने नेपाल र बंगलादेश मात्र

२०८० भदौ ३१

श्रीलंका ५० रनमै अलआउट, एसिया कपमा भारतविरुद्ध २०० रन कटाउने नेपाल र बंगलादेश मात्र
Mohammed Siraj of India celebrates the wicket of Charith Asalanka of Sri Lanka during the Final of the Asia Cup 2023 match between India and Sri Lanka held at the R. Premadasa International Cricket Stadium (RPS), Colombo, Sri Lanka on the 17th September, 2023. Photo by: Vipin Pawar / CREIMAS / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE


काठमाडौं। एसीसी एसिया कपमा नेपाल र बंगलादेश मात्र भारतविरुद्ध २ सयभन्दा बढी रन बनाउन सफल भएका छन्। आफ्नो घरेलु मैदानमा भएको फाइनल खेलमा श्रीलंका ५० रनमै समेटिएको छ।

Tata
GBIME
NLIC

आइतबार टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा अलआउट भयो। भारतका मोहम्मद सिराजको घातक बलिङसामु श्रीलंकाका ब्याटर टिक्न सकेनन्।

तेस्रो बलबाटै विकेट गुमाउन सुरु गरेको श्रीलंकाको ब्याटिङ अर्डर चल्नै सकेन। तेस्रो बलमा कुशल परेरा जसप्रित बुमराहको बलमा क्याचआउट भए। चौथो ओभरमा सिराजले चार विकेट लिए। ३.१ ओभरमा पथुम निसन्का र ३.३ ओभरमा सदिरा समराविक्रमा आउट भए। लगत्तै अर्को बलमा छरिथ असलंका गोल्डन डकआउट हुन पुगे। ३.६ ओभरमा धनन्जय डी सिल्भा बाहिरिए। 

यसपछि पनि श्रीलंकाको विकेट पतन रोकिएन। ५.४ ओभरमा दसुन सनाका, ११.२ ओभरमा १७ रन बनाएका कुशल मेन्डिस र १२.३ ओभरमा दुनिथ वेल्लालगे आउट भए। त्यस्तै १५.१ र १५.२ ओभरमा हार्दिक पाण्ड्याले लगातार विकेट लिएपछि श्रीलंका ५० रनमै अलआउट हुन पुग्यो।

बलिङतर्फ भारतका लागि सिराजले खतरनाक बलिङ गर्दै ६ विकेट लिए। पाण्ड्याले ३ र बुमराहले १ विकेट लिए।

फाइनलमा श्रीलंकाको कमजोर ब्याटिङसँगै जारी एसिया कपमा भारतविरुद्ध २ सय रनको आँकडा पार गर्ने नेपाल र बंगलादेश मात्र बनेका छन्। समूह चरणको खेलमा नेपालले भारतविरुद्ध २३० रन बनाएको थियो भने सुपर फोरको खेलमा बंगलादेशले भारतविरुद्ध २६५ रन बनाएको थियो।

त्यसबाहेक समूह चरणमा भारतविरुद्ध ब्याटिङ नै गर्न नपाएको पाकिस्तानले सुपर फोरमा १२८ र श्रीलंकाले १७२ रन बनाएका थिए।

भारत केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।