BIZMANDU
www.bizmandu.com

स्वदेशी बिजुली खपत गर्न विद्युतीय सवारीको प्रवर्द्धनमा ध्यान दिएका छौं: ऊर्जामन्त्री बस्नेत

२०८० भदौ ३१

स्वदेशी बिजुली खपत गर्न विद्युतीय सवारीको प्रवर्द्धनमा ध्यान दिएका छौं: ऊर्जामन्त्री बस्नेत
स्वदेशी बिजुली खपत गर्न विद्युतीय सवारीको प्रवर्द्धनमा ध्यान दिएका छौं: ऊर्जामन्त्री बस्नेत


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्‍नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवर्द्धनमा सरकारले ध्यान दिएको बताएका छन्।

Tata
GBIME
NLIC

मन्त्री बस्‍नेतले काठमाडौंको भृकुटीमण्डपमा जारी सवारी साधनहरुको मेला नाडा अटो शो-२०२३ को स्थलगत अवलोकनपछि सरकारले थप नीतिगत प्रबन्धका अलावा विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि थप सहजीकरण गर्ने बताए।

उनले वातावरणको संरक्षणका साथै देशभित्रको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनको प्रवर्द्धन जरुरी रहेको उल्लेख गरे। मन्त्री बस्‍नेतका अनुसार विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि देशव्यापी रुपमा थप चार्जिङ स्टेसन निर्माणलाई पनि प्राथमिकता दिइएको छ।

निजी क्षेत्रले चार्जिङ स्टेसन निर्माण गर्न चाहेको खण्डमा आवश्यक सहजीकरण गरिएको, विद्युत् प्राधिकरणले प्रसारण प्रणाली तथा ट्रान्सफर्मर समेत प्रबन्ध गरिरहेको जानकारी दिँदै मन्त्री बस्‍नेतले युग सुहाउँदो विद्युतीय सवारी साधनको प्रवर्द्धनका  लागि गर्न सकिने जति सबै काम गरिने दाबी गरे।

उनले प्राधिकरणले हालै मात्र देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्‍चालनमा ल्याएको जानकारी दिँदै क्रमशः देशभर नै थप त्यस्ता स्टेसन निर्माण गरेर विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने बताए। निजी क्षेत्रलाई सघन रुपमा चार्जिङ स्टेसन निर्माणका लागि लगानी गर्न आग्रह गर्दै मन्त्री बस्‍नेतले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै वातावरणको संरक्षण र बिजुलीको खपत बढाउन सकिने स्पष्ट पारे।

मन्त्री बस्‍नेतले सरकार विद्युतीय सवारी साधनको प्रवर्द्धनमा गर्नुको पछाडि वातावरणको संरक्षणका अलावा पेट्रोलियम पदार्थको खरिदका लागि विदेशिने ठूलो रकम जोगाउनका लागि समेत सहयोगी बन्‍ने बताए। सो अवसरमा नाडाका पदाधिकारीले मेलामा राखिएका विद्युतीय सवारी साधनको बारेमा जानकारी गराउँदै नीतिगत स्थिरता कायम गरिदिन र विद्युतीय सवारीमा लाग्दै आएको कर घटाइदिन मन्त्री बस्‍नेतसँग आग्रह गरेका थिए।